 
                             
                                            काठमाडौँ- जयराम तिमल्सिनाको उपन्यास ‘धीमहि’ ले चिसाप राजकृष्ण-मायादेवी साहित्य पुरस्कार पाएको छ। चितवन साहित्य परिषदले उपन्यासकार तिमल्सिनालाई उक्त पुरस्कार प्रदान गरेको हो।
शनिबार चितवनमा कार्यक्रम गर्दै चिसाप अध्यक्ष श्रीभक्त अच्युत वाग्लेले तिमल्सिनालाई नगद रु. ३५०४५ (पैतिस हजार पैंतालिस रुपैयाँ)सहित सम्मान पत्र प्रदान गरेका हुन्।
उपन्यासमा प्रयोग गरिएको स्वैरकल्पना, विसंगतियुक्त मानवीय जीवन, जासूसी औपन्यासिक शैली र मनोविज्ञानको प्रयोगपक्ष निकै सशक्त रहेको उल्लेख गर्दै आयोजकले उक्त पुरस्कार प्रदान गरिएको जनाएको छ।
‘धीमही’ को कथानक मनोवैज्ञानिक कोणले सुरु भएको छ। उपन्यासमा तीन साथीहरू म पात्र (विवेक), सुयोग र दीपेन्द्रको चारित्रिक भिन्नता र दीपेन्द्रको निधनपछि र निधनअघि समाजले ऊप्रति गरेको व्यवहारलाई दर्शनसँग जोडिएको छ। पुस्तक २०८१ सालमा प्रकाशन भएको थियो।
उपन्यासकार तिमल्सिनाले नेपाली भाषा र साहित्यको क्षेत्रमा विशेषतः कविता, निबन्ध र आख्यानमा कदम चलाउदै आएका छन्।
त्यस्तै, चिसाप माधव खनाल साहित्य पुरस्कार सुभाष घिमिरेको उपन्यास ‘सान्दाजु’ ले पाएको छ। आयाेजकले उपन्यासकार घिमिरेलाई पनि नगद रु. ३५०४५ (पैतिस हजार पैंतालिस रुपैयाँ) सहित सम्मान पत्र प्रदान गरेकाे छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                             


 
  
  
  
  
  
  
  
  
  
 