त्रिविमा तोडफोड र गुण्डागर्दी गर्नेलाई दलीय पक्षधरता नराखी कारबाही गरियोस् : पूर्वशिक्षामन्त्री भट्टराई

हिमाल प्रेस २९ साउन २०८२ १६:१४ | Thursday, August 14, 2025
त्रिविमा तोडफोड र गुण्डागर्दी गर्नेलाई दलीय पक्षधरता नराखी कारबाही गरियोस् : पूर्वशिक्षामन्त्री भट्टराई

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा सांसद तथा पूर्वशिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा उच्च शिक्षाका विद्यार्थीबाट भएको तोडफोडलाई गैरकानुनी र निन्दनीय ठहर गर्दै विश्वविद्यालयलाई सुरक्षित, मर्यादित र प्राज्ञिक वातावरणमा सञ्चालन गर्न सरकारसँग माग गरेकी छिन्। दलीय पक्षधरता नराखी दोषीलाई कारबाही गर्न भट्टराईले सरकारको गम्भीर ध्यानाकर्षण गराइन्।

बैठकको शून्य समयमा बोल्दै भट्टराईले ‘विश्वविद्यालयका पदाधिकारीको कार्यकक्ष तोडफोड र असुरक्षा’ को सवाल आज सबै सञ्चारमाध्यमको मुख्य विषय बनेको बताउँदै कुनै न कुनै राजनीतिक दलको आवरणमा उच्च शिक्षाका विद्यार्थीबाट हुने यस्ता गतिविधि कानुनविपरीत र निन्दनीय भएको बताइन्।

उनले भनिन्,‘आज सबै सञ्चार माध्यमको विषय त्रिभुवन विश्वविद्यालयका पदाधिकारी कार्यकक्ष तोडफोड र असुरक्षाको सवाल बनेको छ। कुनै न कुनै राजनीतिक दलको आवरणमा उच्च शिक्षाका विद्यार्थीहरूबाट हुने यस्ता कानुनविपरीत छ र निन्दनीय छ।’

भट्टराईले विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनलाई विद्यार्थीको मुद्दा पहिचान गरी अधिकार संरक्षणका लागि साझा चौतारीका रूपमा स्वीकार गरेको भए पनि राजनीतिक दलसँग आबद्धताका कारण विश्वविद्यालय असुरक्षित बन्दै गएको बताइन्।

‘विद्यार्थीको मुद्दा पहिचान गरी अधिकार संरक्षणका लागि साझा चौतारीको रूपमा स्वतन्त्र विद्यार्थी युनियनलाई विश्वविद्यालयले स्वीकार गरेको छ तर विभिन्न राजनीतिक दलसँगको आबद्धतामा विश्वविद्यालयलाई असुरक्षित बनाउने क्रियाकलाप वर्तमान नियति बनेको छ,’ सांसद भट्टराईले भनिन्।

विश्वविद्यालयमा गुण्डागर्दी र तोडफोडलाई निषेध गर्दै दोषीलाई दलीय पक्षधरता नराखी कानुनी दायरामा ल्याउन भट्टराईले सरकारको गम्भीर ध्यानाकर्षण गराइन्। उनले भनिन्, ‘गुण्डागर्दी र तोडफोडलाई निषेध गर्दै सुरक्षित, मर्यादित र प्राज्ञिक वातावरण निर्माण गर्न र दोषीहरूलाई कुनै पनि दलीय पक्षधरता नराखी कानुनी दायरामा ल्याउन सरकारको गम्भीर ध्यानाकर्षण गर्दछु।’

प्रकाशित: २९ साउन २०८२ १६:१४ | Thursday, August 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast