डल्ले खुर्सानीको खेतीबाट आत्मनिर्भर बन्दै हेलम्बुका युवा

हिमाल प्रेस २८ साउन २०८२ १४:०३ | Wednesday, August 13, 2025
डल्ले खुर्सानीको खेतीबाट आत्मनिर्भर बन्दै हेलम्बुका युवा

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-५ भारती डिप्लोका युवा परम्परागत जातको डल्ले खुर्सानीको खेती गरेर आत्मनिर्भर बन्न थालेका छन्। पाँच वर्षअघि स्थानीय युवा वीरजित तामाङले डल्ले खुर्सानीको व्यावसायिक खेतीको सुरुवात गरेका थिए।

उनले गरेको खुर्सानीखेती फस्टाएपछि हाम्रो साझा कृषि सहकारी संस्थाको समन्वय र सहयोगमा हेलम्बु कृषि शाखाले आर्थिक वर्ष २०८१/८२ को कार्यक्रमबाट आधुनिक प्रविधिद्वारा खुर्सानी रोप्न प्रयोग गरिने मल्चिङ प्लास्टिक ५० प्रतिशत अनुदानमा दिएको सहकारीका अध्यक्ष सानुकान्छा तामाङ बताउँछन्।

उक्त अनुदान पाएसँगै हेलम्बु-५ का विभिन्न टोलमा त्यहाँका युवाहरूले व्यावसायिक डल्ले खुर्सानीखेती विस्तार गरेको व्यवसायी वीरजित बताए। वीरजितले मात्रै तीन हजार खुर्सानीका बोट लगाएका छन्। खुर्सानीबाट गत साल रु पाँच लाखभन्दा माथि आम्दानी गरेको उनी बताउँछन्।

‘गत वर्ष असिनाले गर्दा अलि कम भयो यस वर्ष त्योभन्दा बढी आम्दानी हुन्छ’, वीरजित बताउँछन्। उनका अनुसार हेलम्बु-५ का विभिन्न टोलमा गरी त्यहाँका युवा किसानले १५ हजारभन्दा माथि खुर्सानीका बोट हुर्काएका छन्। सोही गाउँको खर्पुजे, प्रम्ची डाँडालगायत स्थानमा लगाइएको व्यावसायिक डल्ले खुर्सानीखेतीबाट यस वर्ष ५० लाखभन्दा माथि आम्दानी हुने अपेक्षा गरेको अर्का व्यवसायी वीरमान तामाङ बताउँछन्।

उनजस्तै पारित, सन्ज्या र बुद्धि तामाङलगायत युवाहरुले यो व्यवसाय गरेका छन्। डल्ले खुर्सानी औषधिजन्य भएको हुनाले स्थानीयस्तरमै बिक्री हुने र बढी भएको मात्र काठमाडौँसम्म लैजाने गरेको व्यवसायी वीरमान बताउँछन्।

गाउँपालिकाको कृषि शाखाद्वारा ५० प्रतिशत अनुदानमा एक वडा एक उत्पादन कार्यक्रमअन्तर्गत उक्त वडामा आधुनिक खेती गर्न प्रयोग गरिने मल्चिङ प्लाष्टिक पाएसँगै त्यहाँका युवा किसान डल्ले खुर्सानीखेतीमा आकर्षित हुँदै आएका कृषि शाखाका प्रमुख भूपेन्द्र वली बताउँछन्।

गाउँपालिकाको कृषि शाखाले डल्ले खुर्सानी व्यवसाय गर्ने किसानलाई मल्चिङ प्लाष्टिक र प्राविधिक सहयोग गरेको उनले जानकारी दिए।

नुवाकोट र सिन्धुपाल्चोकको सिमाना पर्ने गोल्फु भञ्ज्याङ नजिक रहेको हेलम्बुको ‘भारती डिप्लोमा’ गाउँ समुद्री सतहदेखि एक हजार ८०० मिटर उचाइमा रहेको छ। गाउँभन्दा माथि दुई हजार ४०० मिटर उचाइ रहेको लेकमा लटरम्म स्याउ फलेको देख्न सकिन्छ भने तल गाउँमा पाखोबारीमा किसानले लगाएको डल्ले खुर्सानीको हराभरा देख्न सकिन्छ।

प्रकाशित: २८ साउन २०८२ १४:०३ | Wednesday, August 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast