चर्चामा समीर अभिनीत ‘बलिदान’ को टिजर

हिमाल प्रेस १ भदौ २०८२ ११:०४ | Sunday, August 17, 2025
चर्चामा समीर अभिनीत ‘बलिदान’ को टिजर

काठमाडौँ- फिल्म ‘बलिदान’ को टिजर सार्वजनिक भएको छ। टिजरको सुरुमा देशको एक हिस्सा बैरीहरूको निशानामा परेको र उनीहरूलाई रोक्न असम्भव भएको संवाद सुनिन्छ।

यसैबिच पृष्ठभूमिमा अभिनेता सौगात मल्ल मसाल बोकेर दृढ अडानका साथ उभिएकाे देखिन्छन्। त्यसपछि अभिनेता हेमन्त बुढाथोकीको आवाज गुन्जिन्छ, जहाँ उनले कालीमाताको चरणमा रगत चढाउँदै बिताएको समय र त्यो बलिदानको अभिनय पूरा भएको भाव व्यक्त गर्छन्। दृश्यमा बुढाथोकी राजसी पहिरनमा देखिएका छन् भने अर्पण थापा राजनेताको भूमिकामा छन्।

अभिनेत्री ऋचा शर्माको संवाद भावनात्मक छ। ‘जब ती निर्दोषका घाँटी रेटिन्छन्, र ती राक्षसहरू तिमीलाई हेरेर हाँस्छन्, तिमी किन मौन बस्छौ? के यो धर्तिमा अब त्यस्तो युग पुरुष जन्मिदैन, जसले ती राक्षसहरूको घाँटी रेटोस्!’ कालीमाताको विशाल मूर्ति अगाडि बोलेको संवादको पृष्ठभूमिमा जंगलमा बसोबास गर्ने आदिवासीहरूको दृश्य देखिन्छ, जहाँ निर्देशक सेन स्वयं आदिवासी पात्रमा उपस्थित छन्।

अभिनेता समीर भट्टलाई टिजरमा ‘एक्सन किङ’को परिचय दिइएको छ। उनले बाेलेकाे संवाद, ‘यो आमा न लाचार छ, न त यो आमाको कोख नै खाली छ। यो आमाले छोरा मात्र होइन, योद्धा पनि जन्माएको छ’ सँगै प्रतिपक्षीलाई मुक्का प्रहार गरेको झलक देखाइएको छ।

देशभक्ति, विद्रोह र क्रोध मिसिएको संवादसहितकाे टिजरले दर्शकलाई फिल्मप्रति कौतुहल बनाएको छ। टिजरले युट्युबमा करिब ११ लाख भ्युज बटुलिसकेको छ।

सन्तोष सेनको निर्देशनमा बनेको फिल्मको बडादसैँको फूलपाती अर्थात् असोज १३ मा प्रदर्शन हुनेछ। निर्देशक सेनले ‘बलिदान’ हरेक नेपालीको मनको विद्रोहको प्रतीक रहेको बताए। उनले भने, ‘तीन वर्षको रगत पसिना, माटोको सुगन्ध र किनारिएका आवाजको पीडाबाट जन्मिएको ‘बलिदान’ फिल्म मात्र होइन, यो न्यायको विस्फोट हो।’

आसुसेन फिल्म्सको ब्यानरमा बनेको फिल्ममा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारको अभिनय छ। फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट, कार्यकारी निर्माता प्रेम पुरी हुन्।

प्रकाशित: १ भदौ २०८२ ११:०४ | Sunday, August 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast