 
                             
                                            झापा- झापाका सयौं किसानले धान र चियाजस्ता परम्परागत बाली छाडेर कागतीखेतीतर्फ ध्यान दिए पनि उचित बजारको अभावले उनीहरू घाटामा परेका छन्। भारतबाट आयात हुने सस्तो कागतीले बजार कब्जा गरेपछि स्वदेशी कागती बिक्री गर्न मुस्किल परेको किसानहरूको गुनासो छ।
गौरादह–४ का नवीन आचार्यले १४ कट्ठा क्षेत्रफलमा सुन जातको कागती उत्पादन गर्दै आएका छन्। उत्पादन राम्रै भए पनि बजारमा बिक्री हुन नसक्दा चिन्तित छन्। ‘भारतको कागतीले बजार पुरै कब्जा गरेको छ,’ आचार्यले भने, ‘हामी घाटा बेहोर्दै बेच्न बाध्य छौं।’
सरकार, स्थानीय तह र सहकारी संस्थाहरूले किसानलाई कागतीखेतीमा प्रोत्साहित गर्दै आएका छन्। तर, उत्पादनपछि बजार सुनिश्चित गर्न नसक्दा समस्या गहिरिँदै गएको छ। विर्तामोड–६ का कमलराज विमली भन्छन्,‘भारतबाट सस्तोमा आउने कागतीले यहाँको बजार खाएको छ। पहिले बोटमै किन्न आउने व्यापारी अब देखिन छाडेका छन्।’
कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार झापामा ३१० हेक्टरमा फैलिएको कागतीखेती अहिले घटेर २७० हेक्टरमा सीमित भएको छ। उनले स्थानीय खपतले मात्रै स्वदेशी कागतीको माग धान्न नसक्ने बताए।
अर्जुनधारा–३ का कुशल थापा सिटी रिक्सामा कागती बोकेर धुलाबारीसम्म पुर्याउँछन्। ‘दिनभरि तातो घाममा हिँड्दा दश किलो मात्रै बेचिन्छ,’ उनी भन्छन्, ‘जंगल छेउका गाउँहरूमा अन्न खेती छाडेर कागती रोप्न लगाइयो, अब बेच्नै नपाउने भएपछि बाँच्नै गाह्रो छ।’
कृषकहरूका अनुसार कागतीबाट अचार, अमिलो, जुसलगायतका सहउत्पादनमा जोड दिन सके बजारको समस्या केही हदसम्म समाधान हुन सक्छ। साथै, न्यूनतम समर्थन मूल्य निर्धारण गरेर नबिकेका कागती स्थानीय तहले खरिद गर्ने व्यवस्था हुनुपर्ने माग गरिएको छ।
हाल झापामा करिब ३५० किसानले व्यावसायिक रूपमा कागतीखेती गरिरहेका छन्। केही सहकारीले आफ्ना सदस्यलाई पनि यसमा जोड्दै आएका छन्। सुन–१, सुन–२, युरिका, मद्रासी र एनपिआरपी–५५ जातका कागती व्यापक रूपमा खेती भइरहेको छ। तर, प्रशोधन उद्योगको अभावले कच्चा कागतीको मात्रै भर पर्नुपरेको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
 