इम्बोस्ड नम्बर प्लेट जडान नगरे तुरुन्त कारबाही हुँदैन : विभाग

हिमाल प्रेस १० भदौ २०८२ १७:४३ | Tuesday, August 26, 2025
इम्बोस्ड नम्बर प्लेट जडान नगरे तुरुन्त कारबाही हुँदैन : विभाग

काठमाडौँ- यातायात व्यवस्था विभागले आगामी असोज १ गतेदेखि सबै सरकारी, निजी तथा सार्वजनिक सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान नगरेमा तुरुन्त जरिबाना वा कारबाही नहुने बताएको छ।

उक्त नम्बर प्लेट जडान नगरे तुरुन्तै जरिबाना वा कारबाहीमा पर्ने भन्ने भ्रम फैलिएको भन्दै विभागले मंगलबार विज्ञप्ति जारी गरी तत्काललाई कुनै किसिमको दण्ड जरिबाना नहुने स्पष्ट पारेको हो।

विभागले सवारीधनीलाई आफूलाई अनुकूल भएको समयमा सम्बन्धित यातायात कार्यालयमा गई स्वेच्छाले नम्बर प्लेट जडान गरी डिजिटलाइजेसन अभियानमा सहयोग गर्न समेत आग्रह गरेको छ।

संघ, प्रदेश तथा स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन २०७७ बमोजिम भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको अध्यक्षतामा बसेको समितिको निर्णयअनुसार यो व्यवस्था लागू गर्न लागिएको विभागले जनाएको छ। यसअघि विभागले भदौ ३ गते सूचना जारी गर्दै असोज १ देखि सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने जानकारी दिएको थियो।

विभागका अनुसार इम्बोस्ड नम्बर प्लेट लागू भएपछि मुलुकभरका सवारीसाधनको एकिन विवरण प्राप्त हुने, कृत्रिम बौद्धिकतामा आधारित ट्राफिक व्यवस्थापनमा सहजता पुग्ने, चोरी तथा आपराधिक गतिविधि नियन्त्रण हुने, राजस्व छली रोकथाम र विपद् व्यवस्थापनमा समेत सहयोग पुग्नेछ।

यस्तै, विभागले विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फैलिएका भ्रामक सूचनाप्रति ध्यानाकर्षण गराउँदै नम्बर प्लेटको गुणस्तर तोकिएअनुसार नै रहेको र तथ्यांक मुलुक बाहिर नजाने गरी विभागकै सर्भरमा सुरक्षित रहने प्रष्ट पारेको छ।

प्रकाशित: १० भदौ २०८२ १७:४३ | Tuesday, August 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast