
काठमाडौँ- जनकपुरधाममा युवती हत्याको आरोपमा पक्राउ परेका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ। जनकपुरधाम–४ मा १५ वर्षीया अन्जलीकुमारी यादवको हत्या गरेको आरोपमा पक्राउ परेका धनुषा क्षिरेश्वरनाथ नगरपालिका–९ इच्छापुर बस्ने ३५ वर्षीय रामबाबु साहलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको हो।
साहलाई प्रहरीले बुधबार क्षिरेश्वरनाथ नगरपालिका क्षेत्रबाट पक्राउ गरेको थियो। अन्जली हत्यामा प्रयोग भएको खकुरीसमेत प्रहरीले बरामद गरेको छ।
अन्जली हत्याको आरोपमा पक्राउ परेका साह यसअघि आफ्नी श्रीमतीको हत्याको आरोपमा पाँच वर्ष जेल सजाय बितार निस्किएको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी वरुणबहादुर सिंहले जानकारी दिए।
सिंहले प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेका साह र अन्जलीकी आमा ३५ वर्षीया आशादेवी यादवबीच प्रेम सम्बन्ध रहेको खुलेको बताए। पछिल्लो समय दुवै जनाबीच सम्बन्ध बिग्रिएपछि यो घटना भएको उनको भनाइ छ।
सोमबार मध्यराति डेराको कोठमा सुतिरहेको अवस्थामा अचानक पुगेर साहले खकुरी प्रहार गर्दा आशादेवीकी छोरी अन्जलीको मृत्यु भएको थियो। त्यस्तै आशादेवी र उनीहरूसँगै बसिरहेकी १४ वर्षीया बालिका राधा यादव घाइते भएका थिए।
अभियुक्त साह र मृतक अन्जलीकी आमा आशादेवीबीच क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरको एक पसलमा चिनजान भई निरन्तर भेटघाट हुँदै आएको थियो।
त्यही क्रममा दुवै जनाले सँगै बस्ने निधो गरेपछि आशादेवीलाई जनकपुरमा डेरा दिलाई अन्जलीसहित साह पनि बस्ने गरेका थिए। साह कामका लागि बाहिर जाने गरेकाले आयआर्जनका लागि आशादेवी टेम्पो खरिद गरिदिएका थिए।
आशादेवीले टेम्पो आफ्नो भाइको नाममा दर्ता गराएकी थिइन्। यही विषयलाई लिएर साह र आशादेवीबीच विवाद सुरू भएको थियो। आशादेवीले साहलाई थाहा नदिई अर्को स्थानमा डेरा सरेकी थिइन्।
प्रहरीले जनाएअनुसार आशादेवीले पछिल्लो समय साहको फोनसमेत उठाउन छोडेकी थिइन्। फोनसमेत उठान छोडेपछि साहले आशादेवी बस्ने नयाँ डेरा पत्ता लगाएर सोमबार मध्यरात एक्कासी पुगेर खुकरी प्रहार गरेका थिए। अन्जलीको घाँटीमा खकुरी लागेको थियो। त्यस्तै आशादेवी पनि गम्भीर घाइते भएकी थिइन्।
अन्जलीको उपचारको क्रममा घटना भएकै राति प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो भने आशादेवीलाई थप उपचारका लागि धरान पठाइएको प्रहरीले जनाएको छ। त्यस्तै घुँडामा चोट लागेर घाइते भएकी राधाको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ।