नाउपामा रेशमको परिवारवाद : पत्नी बर्खास्त, नेतृत्वमा पिता

धैर्यकान्त दत्त १५ साउन २०८२ २१:४०
104
SHARES
नाउपामा रेशमको परिवारवाद : पत्नी बर्खास्त, नेतृत्वमा पिता

काठमाडौँ- पश्चिमी नेपालको थारू आन्दोलनको जगमा बनेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) स्थापनाको चार वर्षमै एकपछि अर्को विवादको भुमरीमा फँस्दै गएको छ। २०७९ सालको आवधिक निर्वाचनअघि जन्मिएको यो पार्टी सधैँ विवादको लहरोमा अल्झिरह्यो। २०७८ पुसमा नाउपाको स्थापनाकालमै अध्यक्ष बनाउने विषयमा यो पार्टीभित्र बहस चल्यो, रेशमलाल चौधरीलाई लिएर।

रेशमकै योजनाअनुसार नै नाउपाको गठन भए पनि उनी नेतृत्व सम्हाल्ने अवस्थामा नरहेको निष्कर्ष संस्थापक सदस्यहरूको थियो। किनभने टीकापुर हत्याकाण्डमा संलग्न रहेको आरोपमा रेशम त्यो बेला डिल्लीबजार कारागारमा सजाय भुक्तान गरिरहेका थिए।

उनलाई अध्यक्ष बनाउँदा निर्वाचन आयोगले मान्यता नदिने निर्क्यौल संस्थापक सदस्यहरूको थियो। त्यसैले रेशमलाई पार्टी संरक्षकको जिम्मेवारी दिई उनकी पत्नी रञ्जिता श्रेष्ठ चौधरीलाई अध्यक्ष तोक्दै २०७८ पुस १९ गते निर्वाचन आयोगमा नाउपा दर्ताको निवेदन पर्‍यो।

दल दर्ताको निवेदन दिन रेशमका समर्थकहरू भृकुटीमण्डपमा भेला भएर बाजागाजा, झाँकीसहित निर्वाचन आयोग पुगेका थिए। त्यो र्‍यालीमा रञ्जिता पनि सहभागी थिइन्।

दल दर्ता भएको झन्डै एक वर्षपछि भएको स्थानीय तह र प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ‘ढकिया’ चुनाव चिह्न लिएर नाउपाले भाग लियो। प्रतिनिधिसभामा चार सिट जितेको नाउपाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशसभामा केही सिट जित्यो भने मधेश प्रदेशमा सामानुपातिकतर्फ एक सिट हात पार्‍यो।

बर्दिया-२ मा जेलबाटै प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका रेशमको उम्मेदवारी निर्वाचन आयोगले रद्द गर्न सक्ने अनुमानका साथ उनले बुबा लालवीर चौधरीलाई स्वतन्त्र उम्मेदवारी दिन लगाएका थिए। त्यो क्षेत्रका मतदाताले लालवीरलाई जिताएर प्रतिनिधिसभामा पठाए। पछि उनी आधिकारिक रूपमा नाउपा प्रवेश गरे।

त्यस्तै टीकापुर नगरपालिकाको प्रमुखमा नाउपाका रामलाल डगौरा थारू निर्वाचित भए। सुदूरपश्चिममा पुराना दलहरूको विकल्पका रूपमा देखिएको नाउपाभित्र यो चार वर्षको अवधिमा देखिएका विवादहरूको अन्ततः पटाक्षेप भएको छ। पार्टीको आन्तरिक राजनीतिक विवाद यहाँसम्म झाँगिएको कि पति–पत्नी (रेशम–रञ्जिता) को सम्बन्ध नै प्रश्नहरूको कठ्घरामा उभिएको छ।

अहिले तिनै रेशम, उनका बुबा लालवीर, टीकापुरका प्रमुख रामलालहरू रञ्जितालाई पार्टीबाट निष्कासन गरिदिएका छन्। रेशम-पत्नी रञ्जितालाई कारबाही गरेको केन्द्रीय सदस्यहरूको भेलाले उनका बुबा लालवीरलाई नाउपाको नयाँ अध्यक्ष चयन गरेको छ।

केन्द्रीय सदस्यहरूको राष्ट्रिय भेलाले रञ्जितालाई कारबाही गरेर लालवीरलाई अध्यक्ष चयन गर्ने निर्णयमा रेशम आफैँ पनि सहभागी भए। दलीय राजनीति यतिसम्म ‘निर्मम’ हुँदो हो भनेर सम्भवतः रेशमले पनि अनुमान गरेका थिएनन्।

पत्नी रञ्जितालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी अध्यक्षबाट बर्खास्त गर्ने निर्णय राष्ट्रिय भेलाले गरिरहँदा त्यसको समर्थन गर्नुबाहेक रेशमसँग अन्य विकल्प थिएन। किनभने बहुमत केन्द्रीय सदस्यहरूको मत रञ्जितालाई कारबाही गर्नुपर्ने पक्षमा देखिएको थियो।

रञ्जितालाई पार्टीबाट निष्कासन गरेसँगै नाउपाको नयाँ अध्यक्षको दौडमा लालवीरमात्रै थिएनन्। उनीसँगै नाउपाको अध्यक्षका लागि नाउपा संसदीय दलका नेता गंगाराम चौधरी र रामलाल डगौरा पनि नाउपाको अध्यक्षका लागि चाहना व्यक्त गरेका थिए। तर साउन १४ र १५ मा बसेको राष्ट्रिय भेलाबाट अन्ततः रेशमका बुबा लालवीर नाउपाको अध्यक्षमा सर्वसम्म चयन भए। यो सबै प्रक्रियामा रेशम बाहिर कहीँकतै नदेखिए पनि पर्दापछाडि उनले भूमिका खेलिरहेका थिए- पार्टी अध्यक्षको पद परिवारभित्रै राख्न। यहाँसम्म कि सञ्चारकर्मीहरूलाई समेत उनले प्रतिक्रिया दिन मानेन्। भने- कारबाहीको प्रस्ताव गर्ने अनुशासन समितिका पदाधिकारीले आधिकारिक जानकारी दिनु हुन्छ।

राष्ट्रिय भेलाले रेशमपत्नी रञ्जितालाई बर्खास्त गरे पनि नाउपाको अध्यक्षमा रेशमका बुबा लालवीर चयन भएका छन्। अन्ततः नाउपाको नेतृत्व रेशमको परिवारभित्रै रह्यो।

अध्यक्षमा चयन भइसकेपछि लालवीरले पार्टीका सबै कमिटीहरूको सरसल्लाह र सुझावअनुसार नाउपालाई अगाडि बढाउने प्रतिक्रिया दिए। रञ्जिताले डेढ वर्षसम्म पार्टी बैठक नडाकेपछि पार्टीलाई निकास दिन यो निर्णय गर्नुपरेको उनले बताए।

‘हामीले उहाँ (रञ्जिता) लाई अध्यक्षको हिसाबले सल्लाह सुझाव दियौँ, डेढ वर्षसम्म बैठक बोलाउनु भएन। अलि ढिलो पनि जान सकिन्थ्यो, तर रूपन्देही निर्वाचनमा उम्मेदवारी दिनुपर्ने भएकाले निर्वाचन आयोगको कानुनअनुसार जानुपर्ने थियो,’ सञ्चारकर्मीहरूसँग लालवीरले भने, ‘निकास निकाल्न झटपट बस्यौँ, निकास निस्कियो।’

पोखराको लिचीबारी जग्गासम्बन्धी घुस प्रकरणको ‘डिल’ मा मुछिएयता रञ्जिता पार्टी गतिविधिमा निष्क्रिय जस्तै भएकी थिइन्। पार्टी अध्यक्षमाथि नै घुस प्रकरणमा संलग्न रहेको आरोप लागेपछि नाउपाका नेता-कार्यकर्ताहरू उकुसमुकुसमा परेका थिए। यो विषयमा उनीहरू अध्यक्ष रञ्जिताको जवाफ खोजेका थिए। यसका साथै रूपन्देही उपनिर्वाचनका विषयमा समेत नेता-कार्यकर्ताहरूले अध्यक्ष रञ्जितासँग छलफल गर्न खोजेका थिए।

तर रञ्जिताले भने पार्टी बैठक बोलाउन रूचि देखाइनन्। बरु घुस प्रकरणमा आफूमाथि लगाइएको आरोप झुटा रहेको भन्दै सञ्चारमाध्यमलाई प्रतिक्रिया दिइरहिन्।

रञ्जिताले पार्टी बैठक बोलाउन चासो नदिएपछि ९ साउनमा काठमाडौँमा बसेको बहुमत केन्द्रीय सदस्यहरूको भेलाले केन्द्रीय समिति बैठक बोलाउन रञ्जितालाई २४ घण्टे अल्टिमेटम दियो। २४ घण्टाभित्र केन्द्रीय समितिको बैठक नबोलाए आवश्यक निर्णय गर्ने चेतावनी त्यो बैठकले दिएको थियो।

नाउपाका नवनियुक्त अध्यक्ष लालवीर बैठक बोलाउन तयार नभएकी रञ्जितालाई बहुमत केन्द्रीय सदस्यहरूले बोलाएको राष्ट्रिय भेलामा बोलाए पनि आउन तयार नभएको बताउँछन्। ‘उहाँलाई बैठकमा उपस्थित भइदिन अनुरोध गर्‍यौँ, तर आउनु भएन,’ उनले भने, ‘उहाँमाथि लागेका ब्लेम फेस गर्न पार्टीका कार्यकर्ताहरू तयार छ भनेर पनि भन्यौँ। तर आउन मान्नु भएन।’

बैठक बोलाउन केन्द्रीय सदस्यहरूको भेलाले २४ घण्टे अल्टिमेटम दिएको दुई दिनपछि ११ साउनमा रञ्जिताले स्वास्थ्यको कारण देखाउँदै पार्टीको कामकाजबाट अलग भएको घोषणा गर्दै पोखराका शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष तोकिन्।

स्वास्थ्य अवस्थाका कारण पार्टीको दैनिक कार्य सञ्चालन र महत्त्वपूर्ण निर्णय प्रक्रियामा आफ्नो भौतिक उपस्थिति सम्भव नरहेकाले पार्टीको कार्यप्रवाहमा अवरोध आउन नदिने उद्देश्यले कार्यवाहक अध्यक्ष तोकिएको उनको जिकिर थियो। कार्यवाहक अध्यक्ष तोक्ने रञ्जिताको कदम विधानविपरीत रहेको नाउपाका नेताहरूले दाबी गरे।

त्यही दिन पुनः बसेको केन्द्रीय सदस्यहरूको भेलाले अध्यक्ष रञ्जितासँग २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गर्‍यो। २४ घण्टाभित्र स्पष्टीकरण नबुझाए राष्ट्रिय भेला बोलाएर उनलाई अध्यक्ष पदबाट बर्खास्त गर्ने निर्णय बैठकले गरेको थियो।

केन्द्रीय समिति बैठक बोलाउन नमानेकी रञ्जिताले स्पष्टीकरणको जवाफसमेत दिइनन्। बरु केन्द्रीय सदस्यहरूको भेला ‘अवैध’ रहेको र आफूलाई स्पष्टीकरण सोध्ने अधिकार उनीहरूसँग नभएको तर्क गरेकी थिइन्। अध्यक्षको हैसियतले राष्ट्रिय भेला बोलाउने अधिकार आफूसँग मात्र भएको उनको दाबी थियो।

स्पष्टीकरणको जवाफ नदिएको भन्दै रामलाल डंगौरा संयोजक रहेको अनुशासन समितिले रञ्जितालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी अध्यक्ष पदबाट बर्खास्त गर्न प्रस्ताव गरेको थियो।

अनुशासन समितिले पेस गरेको प्रस्तावलाई १४ साउन (बुधबार) बसेको राष्ट्रिय भेलाले अनुमोदन गर्‍यो। प्रस्ताव अनुमोदन भएसँगै रञ्जिता नाउपाको अध्यक्ष पदबाट बर्खास्त भएको संयोजक समितिका अध्यक्ष डंगौराले बताए।

एक पक्षले रञ्जिता पार्टीबाट बर्खास्त भएको दाबी गरिरहेको बेला उनले बिहीबार संसदीय दलका गंगाराम चौधरीलाई स्पष्टीकरण सोधिन्। विधानविपरीत आफूलाई अध्यक्ष पदबाट हटाउने प्रयत्न गरेको भन्दै उनले संसदीय दलका नेता गंगारामलाई २४ घन्टे स्पष्टीकरण सोधेकी थिइन्।

अध्यक्षको हैसियतमा रञ्जिताले गंगारामलाई स्पष्टीकरण सोधेको केही बेर नबित्दै नाउपाले नयाँ अध्यक्षको रूपमा लालवीरलाई चयन गरिसकेको थियो। लालवीर भन्छन्, ‘पार्टीले उहाँलाई विधिसम्म ढंगबाट किनारा लगाएको अवस्था छ।’

रूपन्देही उपनिर्वाचन देखाएर वा पार्टी बैठक नबोलाएको आरोप लगाउँदै रञ्जितालाई कारबाही गरिएको भनिए पनि नाउपाको आन्तरिक विवाद धेरै अघि सुरु भइसकेको थियो। सरकारमा सहभागी हुने/नहुने विषय होस् वा सुदूरपश्चिम सरकारमा मन्त्री पठाउने विषयमा। जनमत पार्टीसँग एकीकरण गर्ने विषयमा पनि रेशम र रञ्जिताको एकमत थिएन। लामो समयदेखि झाँगिँदै गएको विवाद यतिबेला आएर कारबाहीमा परिणत भएको नाउपाका नेताहरू बताउँछन्।

नाउपाका नवनियुक्त अध्यक्ष लालवीर भने दोषीको रूपमा नभएर पार्टीलाई निकास दिन रञ्जितालाई किनारा लगाइएको तर्क गर्छन्। ‘पार्टी विधिसम्मत हिसाबबाट जानुपर्ने थियो। पार्टीले उहाँलाई विधिसम्मत ढंगबाट किनारा लगाएको अवस्था छ, न कि दोषीको रूपमा, कारबाहीको रूपमा सजायको रूपमा होइन,’ उनी भन्छन्, ‘एउटा निकासका लागि नाउपा अगाडि बढेको छ। उहाँले जे बोल्नु भएको छ , त्यो ठीक होइन।’

प्रकाशित: १५ साउन २०८२ २१:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast