
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देश र नागरिकसँग सम्बन्धित विभिन्न विषयमा सार्वजनिक छलफल गर्ने भएको छ। पार्टीले हरेक शुक्रबार दिउँसो ४ देखि साँझ ६:३० सम्म केन्द्रीय कार्यालय काठमाडौँ वनस्थलीमा छलफल गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए।
जनतामाझ पुग्ने, कुरा सुन्ने, उत्तरदायी बन्ने र सहभागितामूलक लोकतान्त्रिक अभ्यास गर्ने अन्य उद्देश्यले साप्ताहिक भेटघाटको अभ्यास गर्न लागिएको झाले बताए। यसलाई रास्वपाले ‘खुला आँगन’ नाम दिएको छ।
पार्टीले प्रत्यक्ष जनसम्पर्क र नेतृत्वसँग खुला संवाद सुनिश्चित गर्ने नागरिकको आवाज सुन्ने प्लेटफर्म तयार गर्न यस्तो अभ्यासको थालनी गर्न लागेको हो। साथै नीति निर्माणमा नागरिक संलग्नता बढाउने, सुझाव, आलोचना र समाधानप्रतिको जिम्मेवारी लिने अभ्यास सुरु गर्ने, जिज्ञासा र जवाफदेहिता बढाउने, संसद्मा उजागर गर्ने विषय एवं पार्टीको भाबी योजनाका लागि सुझाव संकलन जस्ता उद्देश्य पार्टीले लिएको छ।
खुला आँगन सबैका लागि खुला रहनेछ भने पार्टीका उपलब्ध नेतृत्वसँग संवाद र छलफल गर्न पाइने रास्वपाले जनाएको छ।
छलफलमा पूर्वनिर्धारित एजेन्डा रहने छैन। सान्दर्भिक विषय चयन गर्न सकिने भएकाले सहभागीलाई खुला रूपमा प्रस्तुत हुन एवं चिनजान हुन प्रोत्साहन गरिने पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। हरेक खुला आँगनमा प्राप्त सुझाव र जनमतका सारांश तयार पारिने र नीतिगत तहमा प्रस्तुत गरिने योजना रास्वपाको छ।
रास्वपाले हरेक शुक्रबार जिम्मेवारी तोकिएका सदस्यहरूलाई खुला आँगन सफल गर्ने भूमिका निर्वाह गर्न निर्देशन दिएको छ। यसैगरी तोकिएका केन्द्रीय सदस्यको निर्देशनमा कार्यालय सचिवले आवश्यक समन्वय गर्नुपर्नेछ।
साथै सांसदका स्वकीय सचिवहरूले आलोपालो सहभागी भई सुझाव संकलन गर्नुपर्नेछ। रास्वपाले आग्रह गरेको छ, ‘हामी देश बदल्न चाहने हरेक नागरिकलाई, विचार, सुझाव, जिज्ञासा वा आलोचनासहित सक्रिय सहभागिताको लागि हार्दिक निमन्त्रणा गर्दछौँ।’