
काठमाडौँ- भारतको महाराष्ट्रस्थित मालेगाँवमा सन् २००८ मा भएको बम विस्फोट घटनासम्बन्धी मुद्दामा विशेष एनआईए अदालतले महत्वपूर्ण निर्णय सुनाउँदै सबै सात जना अभियुक्तलाई निर्दोष ठहर गरेको छ। घटना भएको १७ वर्षपछि अदालतले बिहीबार फैसला सुनाएको हो। एक मस्जिदअगाडि भएको विस्फोटमा ६ जनाको मृत्यु भएको थियो भने सयभन्दा बढी घाइते भएका थिए।
अदालतले प्रमाणको अभावमा सबै अभियुक्तलाई ठहर गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। निर्दोष ठहर हुनेहरूमा सांसद एवं भारतीय जनता पार्टी (भाजपा) नेतृ साध्वी प्रज्ञा ठाकुर, लेफ्टिनेन्ट कर्नल श्रीकान्तप्रसाद पुरोहित, अवकाशप्राप्त मेजर रमेश उपाध्याय, अजय राहिरकर, सुधाकर द्विवेदी, सुधाकर चुतर्वेदी र समीर कुलकर्णी छन्।
न्यायाधीशले फैसला सुनाइरहँदा घटनाका अभियुक्त भनिएका भाजपा नेतृत्व ठाकुर, लेफ्टिनेन्ट कर्नल पुरोहित अदालतमै उपस्थित थिए।
यस्तो थियो घटना
सन् २००८ सेप्टेम्बर २९ का राति ९ः३५ बजे मालेगाँवको अन्जुमन चोकनजिकै मस्जिद छेउमा राखिएको मोटरसाइकलमा बम विस्फोट भएको थियो। विस्फोटमा प्रयोग भएको मोटरसाइकल साध्वी ठाकुरको नाममा दर्ता रहेको पाइएको थियो। त्यसपछि उनलाई पक्राउ गरी मकोका (महाराष्ट्र संगठित अपराध नियन्त्रण कानुन) लगाइएको थियो।
सुरूवाती अनुसन्धान महाराष्ट्र आतंकवादविरोधी दस्ताले (एटीएस) हेमन्त करकरेको नेतृत्वमा गरेको थियो। एटीएसले घटनामा प्रयोग भएको मोटरसाइकल साध्वी प्रज्ञासँग जोडिएको दाबी गरेको थियो।
त्यस्तै लेफ्टिनेन्ट कर्नल पुरोहितमाथि आरडीएक्स आपूर्ति र ‘अभिनव भारत’ नामक दक्षिणपन्थी संगठनमार्फत षडयन्त्र रचेको आरोप लगाइएको थियो।
तर, सन् २०११ मा यो मुद्दाको जिम्मा राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) लाई दिइयो। एनआईएको आरोपपत्रमा केही अभियुक्तलाई सफाई दिइयो र प्रज्ञा ठाकुरमाथि लागेको मकोका हटाइयो। बम विस्फोट हुनुभन्दा दुई वर्षअगाडिदेखि त्यो मोटरसाइकल कालसांगरा नामक अर्का अभियुक्तले चलाउँदै आएका थिए।
यो मुद्दामा कुल ३२३ जना साक्षीहरूको बयान लिइएको थियो, जसमा ३७ जना आफ्नै बयानबाट पछि हटे। विशेष एनआईएका न्यायाधीश ए.के.लाहोटीले गत मे ८ मा सबै अभियुक्तलाई बिहीबार अदालतमा उपस्थित हुन आदेश दिएका थिए। अन्ततः पर्याप्त प्रमाण नपुगेको भन्दै सबै अभियुक्तले सफाइ पाए।
साध्वी प्रज्ञा ठाकुरको राजनीतिक पृष्ठभूमि
साध्वी प्रज्ञा ठाकुर सन् २०१९ को लोकसभा चुनावमा मध्यप्रदेशको भोपालबाट लोकसभा सदस्यमा निर्वाचित भएकी थिइन्। चुनाव प्रचारका क्रममा उनले मालेगाँव विस्फोटको आरोपप्रति प्रतिक्रिया दिँदै भनेकी थिइन्,‘मैले कुनै कुकर्म गरेकी छैन, मालेगाउँको भूतले सधैँ पछ्याइरहने होइन।’
भोपाल भाजपाको परम्परागत बलियो क्षेत्र मानिन्छ। सन् २०१९ मा पार्टीले उनलाई उम्मेदवार बनाएको बेला कांग्रेसले त्यहाँबाट पूर्वमुख्यमन्त्री दिग्विजय सिंहलाई मैदानमा उतारेको थियो।