कालिका भगवतीलाई किन चढाइन्छ खिर?

हिमाल प्रेस १५ साउन २०८२ १५:१६
14
SHARES
कालिका भगवतीलाई किन चढाइन्छ खिर?

पोखरा- साउन १५ अर्थात् खिर खाने दिन। यो परम्परा बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिरसँग पनि जोडिएको छ। यस मन्दिरमा वर्षको एकपटक साउनमा खिर चढाउने चलन छ। मन्दिर गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष रामबहादुर खड्काले खिर चढाउने तिथि भने तलमाथि पर्ने गरेको बताए। संयोगले यसपालि साउन १५ मै परेको उनको भनाइ छ।

‘बिहान ५ बजेर २१ मिनेटको साइतमा देवीलाई खिर चढाइएको हो’ कोषध्यक्ष खड्काले भने,‘मूल पुजारीले पूजआजा गर्ने र सहायक पुजारीले खिर पकाउने चलन छ, देवीलाई चढाउने खिर अलग्गै पाक्छ।’

आज बिहान ५ बजेदेखि ७ बजेसम्मको साइत खिर चढाउनका लागि उत्तम रहेको थियो। शक्तिस्वरूपा कालिका भगवतीलाई खिर चढाएपछि मात्र अन्य पाहुना र भक्तजनलाई प्रसादका रूपमा खिर खुवाउने गरिएको समितिका उपाध्यक्ष निशान खड्काले बताए।

पूर्वजहरूका पालादेखि नै मन्दिरमा खिर चढाउने चलन सुरु भएको उनको भनाइ छ। पहिलेपहिले कालिका भगवती देवीलाई खिर चढाएपछि मात्र बल्ल घरघरमा खिर पकाएर खाने चलन थियो। मन्दिर परिसरमा रहेको सालको पातबाट बनेका नयाँ टपरी र दुनामा राखेर विधिपूर्वक पूजाआजा गरेपछि बल्ल देवीलाई खिर चढाउने गरिन्छ। यस मन्दिरमा वर्षको अरु कुनै पनि दिनमा खिर चढ्दैन।

नवदुर्गा, महालक्ष्मी, महाकाली, महासरस्वती, चण्डिका र गणेशलाई चढाएपछि मन्दिरमा आएका भक्तजनालाई प्रसादीका रूपमा खिर खुवाउने गरिन्छ। पछिल्लो समय सरकारी तथा गैरसरकारी क्षेत्रका विशिष्ट पाहुनालाईसमेत बोलाएर खिर खुवाउने गरिएको उपाध्यक्ष खड्काले बताए। कालिका देवीलाई खिर खुवाउने चलन यस क्षेत्रकै मौलिक संस्कृतिका रूपमा जीवित रहेको उनको भनाइ छ।

१५९१ मा मन्दिर स्थापना भएदेखि नै साउन महिनामा देवीलाई खिर चढाएर मात्र घरघरमा खिर फुक्ने गरेको यहाँका पाकापुराना बताउँछन्। सोही परम्परालाई पछिल्लो पुस्ताले पनि धान्दै आएको हो। पहिले घरघरबाट दूध ल्याएर मन्दिर परिसरमै खिर पकाउने चलन रहेपनि अहिले भैँसी पाल्ने चलन हटेपछि बजारबाट दूध किन्ने गरिएको छ। दूधलगायत सबै सरसामानको जोहो गरेर समितिले नै खिर खुवाउने कार्यक्रमको प्रबन्ध गर्ने गर्छ।

झण्डै पाँच सय वर्षअघि स्थापना भएको कालिका भगवती मन्दिर देशमै प्रख्यात शक्तिपीठमा गनिन्छ। तत्कालीन पर्वते राजा प्रतापीनारायण मल्लले पाल्पाका राजा मणिमुकुन्द सेनकी छोरी विश्रवादेवीसँग विवाह गर्दा देवीलाई दाइजो स्वरूप ल्याएको इतिहासमा उल्लेख छ।

देवीको मूर्तिसहितको डोली अरू कसैले उचाल्न नसकेपछि बागलुङबाट शिकारीको भेषमा गएका चक्र पूँवार खड्काले खड्ग समातेको र यहीँबाट गएका लमगाउँका मगरले डोली बोकेर ल्याएको बताइन्छ। डोली ल्याउने क्रममा बागलुङ नगरपालिका–१ स्थित जङ्गलमा बिसाइएको र पुनः डोली उठाउन खोज्दा नसकेपछि त्यहीँ देवीलाई प्रतिस्थापन गरिएको किम्बदन्ती छ। कालिका देवीको पूजाआजा र भाकल गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास छ। रासस

प्रकाशित: १५ साउन २०८२ १५:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast