कम्युनिस्ट नेतृत्वमा उमेर र कार्यकालको सीमा हुँदैन : मोहनविक्रम सिंह [अन्तरवार्ता]

किरण पौडेल १५ साउन २०८२ १४:१०
642
SHARES
कम्युनिस्ट नेतृत्वमा उमेर र कार्यकालको सीमा हुँदैन : मोहनविक्रम सिंह [अन्तरवार्ता]

पुराना वामपन्थी नेता एवम् नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह अहिलेका शीर्ष वामपन्थी नेतामध्ये अधिकांशका राजनीतिक गुरु मानिन्छन्। सिंह लामो समय भूमिगत रूपमा राजनीतिमा सक्रिय भए। त्यसपछि केही वर्ष अर्धभूमिगत रहेर राजनीतिक क्रियाकलापलाई अगाडि बढाए। केही दिनअघि मात्रै खुला राजनीतिमा फर्किएका ९० वर्षीय सिंहसँग भूमिगत राजनीतिक जीवन र वर्तमान राजनीतिक परिस्थितिबारे गरिएको संक्षिप्त कुराकानी :

जीवनको उत्तरार्धमा खुला राजनीतिमा आउनुभएको छ। अहिलेसम्म सार्वजनिक जीवन बिताउन तपाईँलाई केले अवरोध गरेको थियो?

मेरो शरीर भूमिगत भए पनि प्रवक्तामार्फत पार्टीको सूचना बाहिर आइरहेकै थियो। मेरो जीवनरक्षाका लागि पार्टी (नेकपा मसाल) ले भूमिगत बनाउने निर्णय गरेको थियो। म महामन्त्रीका हैसियतले भूमिगत भएको थिएँ। म पहिलोपटक २०१७ सालमा करिब एक वर्ष भूमिगत भएँ। २०१८ सालमा गिरफ्तारमा परेँ। नौ वर्षपछि अर्थात् २०२७ साल चैतमा जेलमा छुटेँ। त्यसपछि २०२९ सालदेखि २०४६ सालसम्म फेरि भूमिगत भएँ। २०४६ सालयता अर्धभूमिगत थिएँ। देशको राजनीतिको अवस्था, प्रतिगमनको खतरा, युद्धको नीतिअनुसार म अर्धभूमिगत बनेको थिएँ। जनतामा आफ्ना कुरा लैजानुपर्छ भनेर पार्टीले मलाई खुला गर्ने निर्णय लिएको हो।

तपाईं आफ्नो स्वेच्छाले अर्धभूमिगत हुनुभएको हो कि पार्टीले बनाएको हो?

त्यो बेला पार्टी पूरै भूमिगत राख्ने हाम्रो निर्णय थियो। अहिले पनि पार्टी भूमिगत छ। वैधानिक मोर्चाका रूपमा राष्ट्रिय जनमोर्चा सक्रिय छ। मोर्चामार्फत हामी राजनीतिक गतिविधि गर्छौँ। कम्युनिस्ट पार्टी खुला राजनीतिमा जाँदा पतन भएर गएका उदाहरण देखेर हामीले मसाललाई भूमिगत बनाएका हौँ। नेपालमै पनि कम्युनिस्टहरू पतनको दिशामा गएका छन्। त्यो नहोस् भन्नका लागि हामीले पार्टी र महामन्त्रीलाई भूमिगत बनाएका हौँ। अहिले चाहिँ मेरो विचार जनतासमक्ष पुर्‍याउन पत्रकार सम्मेलनमार्फत विचार व्यक्त गर्नका लागि पार्टीले अर्धभूमिगत जीवन सार्वजनिक गरेको हो।

अब नेकपा मसाल पनि खुला हुन्छ? त्यसले गरेका कामकारबाही पनि बाहिर आउँछन्?

प्रवक्ताहरू त पहिलेदेखि खुला थिए। अब महामन्त्री मात्र खुला हुने हो। मसालको केन्द्रीय कमिटी, जिल्लास्तरका कमिटी भने खुला हुने छैनन्।

तपाईँको भूमिगत जीवन कसरी बितेको थियो? आन्दोलनका क्रममा सबैभन्दा बढी भूमिगत जीवन कहाँ बित्यो?

म भूमिगत भएको कालमा राज्यले त सबै किसिमबाट गिरफ्तार गर्ने प्रयत्न गर्न खोज्थ्यो। उसले फेला पारेको ठाउँमा गिरफ्तार गथ्र्यो। लामो समय म भारतमा शरणार्थीका रूपमा बसेँ। नेपालभित्र म आइरहन्थँे। हामी रातमा हिँड्ने र दिनमा लुकेर बस्ने गथ्र्यौँ। साथीभाइबाहेक अरूलाई हाम्रो जीवनबारे थाहा हुन्न थियो। भूमिगत छँदा पहाडका ओडारमा पनि बसेका छौँ।

नेपालमा सुरक्षित नभएर भारत लाग्नुभएको थियो हो?

भारतमा प्रजातान्त्रिक प्रणाली थियो। रोक लगाएको थिएन। हामीले खुला रूपमा राजनीतिक गतिविधि गर्न पाउने भएकाले भारत लागेका थियौँ। भारतमा तानाशाही प्रवृत्ति नभएको त होइन तर राजनीतिक दलमाथि प्रतिबन्ध थिएन। हामी भारतबाट बाहिर पनि गएर राजनीतिक गतिविधि गर्थ्यौँ। भूमिगत कालमा हामी भारतका दिल्ली, गोरखपुर, बम्बई, चेन्नईलगायतका सहरमा धेरै समय बस्यौँ।

तपाईँ लामो समय भूमिगत जीवन बिताएको नेता हुनुहुन्छ। अहिले त तपाईँ जतिको अब्बल नेताको पार्टी वा मोर्चा संगठनको हैसियत पहिलेभन्दा कमजोर भएको देखिन्छ। के तपाईँलाई यस्तो अनुभव हुँदैन?

हो, अरू सम्पन्न दलको तुलनामा जनमोर्चा कमजोर छ। यसको कारण भ्रष्ट प्रणालीभित्रको दाउपेचको राजनीति जनमोर्चा गर्दैन। मुख्य दलहरू चुनावमा मतदातासमक्ष करोडौँ लिएर जान्छन्। हामी त्यसरी खर्च गर्दैनौँ। उनीहरूले खर्च गर्ने पैसा कहाँबाट आउँछ? भ्रष्टाचारबाट आउँछ। दलहरू पैसाको बलमा शक्ति बढाउने प्रयत्न गर्छन्। हामी भ्रष्टाचार गर्दैनौँ। चित्रबहादु्र केसी उपप्रधानमन्त्री हुनुभयो। उहाँले भ्रष्टाचार गर्नुभएन। कुनै बेला उहाँ लेखा समितिको संयोजक हुनुहुन्थ्यो। त्यसबेला कसैले औँला ठड्याएन। अर्बौँअर्ब रकमको कुरा आउँथ्यो तर उहाँले एक रुपैयाँ लिनुभएन। सांसदहरूले विकासका लागि लागिएको रकम दुरुपयोग गर्छन्। हामी त्यसो गर्दैनौँ। चुनावका बेला हामीसँग पैसा हुँदैन। त्यसकारण हाम्रो संगठन कमजोर छ।

पार्टीमा पुस्तान्तरण र नेतृत्व परिवर्तनको कुरा उठिरहेको छ। जनमोर्चा र मसालमा सधैँ एउटै नेतृत्व निरन्तर छ। तपाईँहरूलाई नेतृत्व परिवर्तन गर्नुपर्छ जस्तो लाग्दैन?

तपाईँले देखिरहनुभएको छ– अरू पार्टीमा नेतृत्व परिवर्तनका कुरा उठिरहेका छन्। त्यहाँ नेतृत्वमाथि गुटबन्दी भइरहेको कुरा आएका छन्। नेतृत्वका लागि गुट बनाउने परम्परा छ। त्यो जनमोर्चा र मसालमा हुँदैन। कम्युनिस्ट पार्टीमा कार्यकर्ता र पार्टीपंक्तिले जसलाई विश्वास गर्छन्, त्यो नै नेता हुने हो। जुन बेलासम्म नेतृत्वमा राख्न कार्यकर्ताले चाहन्छन्, त्यसबेलासम्म नेतृत्व परिवर्तन सम्भव छैन। नेतृत्वमा उमेर, कार्यकाल कति भन्ने हुँदैन। कार्यकर्ताले चाहुन्जेल बस्ने हो। अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन हर्न सक्नुहुन्छ, न त्यहाँ नेतृत्वमा कार्यकाल घोषणा भएको थियो, न उमेरहद। माओ वा स्टालिन। जुन उदाहरण छन्। जुन दिनसम्म महाधिवेशनले हट् भन्दैन, त्यसबेलासम्म हट्दैन। यो अन्तर्राष्ट्रिय रूपमा प्रक्रिया छ। हाम्रो पार्टीमा पनि छ। नेतृत्वमाथि विश्वास भएन वा गल्ती गर्‍यो भने हट्न बाध्य पनि हुन्छन्। पुस्तान्तरण भन्ने प्रश्न कुनै पनि सैद्धान्तिक होइन। कार्यकर्ताले विश्वास गर्दासम्म र पार्टीको आवश्यकता हुन्जेल नेतृत्वमा रहिरहने हो।

अहिलेको मुख्य राजनीतिक नेतृत्वमा रहेका नेताहरू तपाईँकै सान्निध्यबाट ‘राजनीतिमा हुर्किएको देखिन्छ’।  प्रमुख  वामपन्थी दलको शीर्ष तहमा  तपाईँका राजनीतिक चेलाहरू छन्। उनीहरूको कार्यशैली कस्तो लाग्छ?

हो, मसँगै रहेका नेताहरू अहिले राज्य सत्तामा छन्। तर कम्युनिस्ट सिद्धान्तप्रति वा राज्यप्रति कतिको इमानदार छन् भन्ने त देखिएकै छ नि। मैले के चर्चा गर्ने र! आमरूपमा जनता र पत्रकारलाई थाहा छ– उनीहरू कति भ्रष्ट र कति इमानदार छन् भनेर। सत्तामा गएर कतिको इमानदार बन्न सके वा सकेनन् भन्ने पनि सबैलाई थाहा छ। यतिचाहिँ भनौँ, कम्युनिस्ट विचार र सिद्धान्त विचलित र पतनतर्फ उन्मुख छ।

वर्तमान राज्य व्यवस्था कस्तो देख्नुहुन्छ? अथवा राज्य व्यवस्था परिवर्तन कतिको सम्भव छ?

निश्चय नै। हामीले जे उद्देश्य लिएर पार्टी गठन गरेका थियौँ। त्यो उद्देश्यप्रति अहिले पनि हामी बफादार छौँ। एउटा स्वतन्त्रता, समृद्धिसाथै जनता सुखी हुन् भन्ने मसालको अपेक्षा छ। देशमा भ्रष्टाचार बढ्को छ। भ्रष्टाचार निराकरण नै हाम्रो पहिलो एजेन्डा हो। विकास किन हुन सकेको छैन? अहिले पनि सामन्ती शक्तिहरूले शोषण गरिरहेका छन्। दलाल पुँजीपतिहरूले शोषण गरेका छन्। विकासका लागि सामाजिक शोषण खत्तम हुनुपर्छ। तर शोषण स्वतः खत्तम हुन्न। त्यसका लागि हामीले संघर्ष गर्नुपर्छ। सामन्ती शोषण अन्त्य नै हाम्रो प्रमुख उद्देश्य हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast