चार वर्षदेखि रोकिएको खुट्टीखोला सिंचाइ नहर सञ्चालनमा ल्याइने

हिमाल प्रेस १५ साउन २०८२ ७:०१
8
SHARES
चार वर्षदेखि रोकिएको खुट्टीखोला सिंचाइ नहर सञ्चालनमा ल्याइने

सिरहा- निर्माणपछि चार वर्षदेखि रोकिएको यहाँको लहानस्थित खुट्टी सिंचाइ नहर सञ्चालनमा ल्याइने भएको छ।

करिब नौ करोड लागतमा ‘हेडवक्र्स’ निर्माण भइसकेको भए पनि बजेट अभाव, स्थानीय तहसँगको समन्वय नहुनु र विवादका कारण नहर सञ्चालन हुन सकेको थिएन । तर, हालै मधेश प्रदेश सरकारले विनियोजन गरेको १५ लाख रुपैयाँ बजेटले नहर सफाइ र सुधार गरी सञ्चालनमा ल्याइने जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, सिरहाले जनाएको छ।

खुट्टी नहरको स्थलगत अनुगमनका लागि बुधबार मधेश प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद चौधरी, जिल्ला समन्वय समिति सभापति दिनेश महतो, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय प्रमुख हस्मत अन्सारी, इलाका प्रशासन कार्यालय लहानका प्रमुख गोकर्णराज सुयल साथै प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीसहितको टोली पुगेको थियो। अनुगमन टोलीले अवलोकनपछि नहर छिट्टै सञ्चालनमा ल्याउन सबै सरोकारवाला निकायबीच सहमति भएको जानकारी गराएको छ।

सिंचाइ विकास डिभिजनका प्रमुख हस्मत अन्सारीका अनुसार विगत तीन वर्षदेखि बजेट प्राप्त नभएकाले नहर सञ्चालन हुन सकेको थिएन। उनले भने, ‘नहर सञ्चालनका लागि अवरोधको पहिचान गरी निराकरण गर्ने उद्देश्यले हामी आज स्थलगत अनुगमनमा आएका थियौँ । अब यो ‘फास्ट ट्र्याक’मा काम गरी सञ्चालनमा ल्याइने छ।

सो आयोजनामार्फत लहान, सखुवानान्करकट्टी, भगवानपुर र लक्ष्मीपुर पतारीसहित चार वटा पालिकाको ९३५ बिघा खेतमा सिंचाइ सुविधा पुर्‍याउने लक्ष्य राखिएको छ । ‘हेडवक्र्स’ बनेपछि किसानमा उत्साह जागेको थियो। तर लामो समयसम्म नहर सञ्चालनमा कुनै तदारुकता नदेखिएपछि किसानले संघर्ष समिति गठन गरेका थिए। किसानको दबाबपछि पुनः सञ्चालनको प्रक्रिया अघि बढाइएको हो।

प्रकाशित: १५ साउन २०८२ ७:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast