
न्युयोर्क– टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) खारेज गर्ने ट्रम्प प्रशासनको निर्णयविरूद्ध दायर मुद्दामा बुधबार सुनुवाइ हुँदैछ। टीपीएस खारेज गर्ने ट्रम्प प्रशासनको निर्णयविरूद्ध दायर मुद्दामा क्यालिफोर्नियाको नर्दन डिस्ट्रिक्ट अदालतमा पहिलो सुनुवाइ हुन लागेको हो।
नेशनल टीपीएस एलायन्सको अगुवाईमा दुई नेपालीसहित सात जनाले नेपाल, होन्डुरस र निकारागुवाको टीपीएस जोगउान संयुक्तरूपमा जुलाई ७ मा मुद्दा दायर गरेका थिए।
युनाइटेड फर टीपीएस नेपाल (यूटीपीएसएन) का संस्थापक संयोजक अनिश शाहीले टीपीएस खारेजीको निर्णयले हजारौँ नेपालीको जीवन प्रभावित हुने भएकाले कानुनी सुरक्षाका लागि संगठित हुन आग्रह गरेका छन्।
शाहीले विज्ञप्ति निकालेर सबै नेपाली टीपीएसधारीलाई नेशनल टीपीएस एलायन्स (एनटीपीएस) को सदस्यता लिन आग्रहसमेत गरेका छन्।
अहिले झन्डै सात हजार ८ सय नेपाली टीपीएसअन्तर्गत अमेरिकामा रहेका छन्। एनटीपीएसको सदस्यता निःशुल्क लिन सकिने र सदस्यता लिएपछि कानुनी तथा राजनीतिक रूपमा नेपाली टीपीएसधारीहरू बलियो हुने विज्ञप्तिमा जनाइएको छ।
मुद्दामा नेपालका सन्ध्या लामा, होन्डुरसका जोनी र निकारागुवाका मारिया लेना वादीका रूपमा रहेका छन्। टीपीएस संरक्षणका लागि चलिरहेको देशव्यापी अभियानमा एकताबद्ध भई सहभागी हुन, मुद्दा, वकालत तथा अन्य गतिविधिको जानकारी समयमै प्राप्त गर्न एनटीपीएसएको सदस्यता आवश्यक रहेको शाहीले उल्लेख गरेका छन्।