
पोखरा- पोखरा लेकसाइडमा बगैँचा रिसोर्ट एण्ड स्पा सञ्चालनमा आएको छ। चार रोपनीमा फैलिएको रिसोर्टमा ७० करोड रुपैयाँ लगानी परेको अंशुभरा ग्रुपले जनाएको छ। रिसोर्टमा १५० डलरदेखि ३५० डलरसम्मको रुमको व्यवस्था छ, जहाँ ३२ वटा कोठा, ४ किसिमका लक्जरी सुइट रुम छन्।
बुधबार रिसोर्टको परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले उद्घाटन गरेकी हुन्। उनले दिगो पर्यटन, स्थानीय उत्पादनको प्रयोग र सामाजिक उत्तरदायित्वमा आधारित उद्यमहरू देशको भविष्य निर्माणमा महत्वपूर्ण बन्ने उल्लेख गरिन्।
उनले पछिल्लो पुस्ताले व्यवसायमा देखाएको सक्रियता प्रशंसायोग्य भएको बताउँदै देशमै अवसर र सम्भावनाको खोज गर्न आग्रह गरिन्। उनले भनिन्, ‘अहिलेको जेनेरेसन व्यवसायमा लागिरहेको देख्दा खुसी लाग्छ। विदेशमा जसरी मेहनत गर्छौं, यहीँ पनि त्यसरी नै गरे थुप्रै सम्भावना छन्।’ उनले बगैँचाजस्तो लगानीमैत्री परियोजनाले सस्टेनेबल टुरिजम अर्थात् दिगो पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिन्।
गण्डकीका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले रिसोर्टमा स्पामा भएको लगानीले पोखराको पर्यटन, रोजगारी र स्थानीय उत्पादनमा बहुआयामिक योगदान दिने विश्वास व्यक्त गरे।
गण्डकीका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रीसमेत रहेका अंशुवरा ग्रुपका अध्यक्ष विन्दुकुमार थापाले व्यावसायिक सफलताको मात्र होइन, सामाजिक उत्तरदायित्व र वातावरणीय संरक्षणको दृष्टिकोणबाट अघि बढाएको बताए। उनले पोखराको पर्यटनको दीर्घकालीन विकासका लागि पोखरा विमानस्थल र कोरला नाकाको प्रभावकारी सञ्चालन अपरिहार्य भएकोमा जोड दिए। उनले परराष्ट्र मन्त्री देउवामार्फत भारत, चीनलगायत देशबाट सिधा उडान र द्विपक्षीय सहकार्यका लागि पहल गर्न अनुरोध गरे।
अंशुभरा ग्रुपका प्रबन्ध निर्देशक सौगात थापाले बगैँचा रिसोर्टलाई सहरभित्रको हरित विश्रामस्थलको रूपमा विकास गर्न खोजिएको बताए। उनका अनुसार यहाँका हरेक सामग्री, संरचना र सेवाले पाहुनालाई प्रकृतिसँग पुनः जडान गराउनेछ। बगैँचा विचार, विश्राम र पुनर्जागरणको समिश्रण भएको उनको दाबी छ।
बगैँचाको अर्को विशेषता यसको शून्य प्लास्टिक नीति हो। काठ, ढुंगा, हस्तकला र महिला उद्यमीहरूको उत्पादनलाई प्राथमिकता दिइएको छ। एकल महिलाद्वारा निर्मित सामग्री, राउटे समुदायका परम्परागत भाँडाकुँडाको प्रयोगजस्ता तत्वहरूले यसलाई सांस्कृतिक संरक्षणको जीवित थलो बनाएको छ।
रिसोर्टमा जलवायु सचेतता अनुरूप वर्षात्को पानी संकलन, विद्युतीय सवारीसाधनको प्रयोग र स्थानीय जैविक विविधताको संरक्षण गरिएको छ। अंशुुवरा ग्रुपले हस्पिटालिटीसहित रियल स्टेट, व्यावसायिक मल, अटोमोबाइल र कृषि क्षेत्रमा लगानी गरेको छ।