
पोखरा- कास्कीको माछापुच्छ्रे गाउँपालिका-३, घाचोकमा पहिरोमा पुरिएर एक जना युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा-२५ निवासी २३ वर्षीय तेजबहादुर गुरुङ हुन्। उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
पहिरोमा घाचोकको शुक्लागण्डकी माविका सहायक प्रधानाध्यापक सुरजमोहन पोखरेल घाइते भएका छन्। उनको पोखराको मणिपाल अस्पतालमा उपचार हुँदैछ।
लस्तीखोलास्थित हेमजा-माछापुच्छ्रे सडक खण्डमा बुधबार बिहान पहिरो खसेको थियो। बंगुर फार्ममा दाना लिएर जानेक्रममा गुरुङ पहिरोमा पुरिएका हुन्। उनको स्थानीयको सहयोगमा प्रहरी शव बाहिर निकालेको छ।
पोखराबाट घाचोकस्थित विद्यालय जानेक्रममा शिक्षक पोखरेल सवार मोटरसाइकललाई पहिरोले पुरेको थियो। घाइते उनलाई स्थानीयले उद्धार गरी अस्पताल लगेका थिए।
प्रकाशित: १४ साउन २०८२ २०:००
प्रतिक्रिया