बर्खामा पनि पर्यटकले गुल्जार बनायो ढोरपाटन, गोठालाको आम्दानीमा वृद्धि

हिमाल प्रेस १४ साउन २०८२ १८:००
10
SHARES
बर्खामा पनि पर्यटकले गुल्जार बनायो ढोरपाटन, गोठालाको आम्दानीमा वृद्धि

बागलुङ- बागलुङको प्रसिद्ध पर्यटकीय गन्तव्य ढोरपाटनमा वर्षायाममा समेत आन्तरिक पर्यटकको आकर्षण बढेसँगै स्थानीय गोठालाहरूको आयआर्जन उल्लेख्य रुपमा वृद्धि भएको छ।

ढोरपाटनबाट पदयात्रा गर्दै पर्यटकहरू बुकीपाटनसम्म पुग्न थालेपछि गोठमा बस्न र स्थानीय परिकार स्वाद लिन थालेका छन्। पर्यटकहरू गोठमै बसेर भैँसीको दूध, दही, मोही, घ्यू, खिर तथा भेडाको मासु उपभोग गर्ने गरेका छन्।

बुकीपाटनका ७२ वर्षीय गोठाला देवबहादुर विकका अनुसार अघिल्लो वर्षहरूमा ढोरपाटनसम्म घ्यू बोक्नुपर्ने, मही फाल्नुपर्ने अवस्था थियो। तर अहिले पर्यटक आफैं गोठमा आउँछन्, दूधको खिर, चिया खाँदै दुग्धजन्य वस्तुको प्रत्यक्ष उपभोग गरिरहेका छन्। ‘पर्यटक आएपछि गोठमै पैसा आउन थालेको छ,’ विकले भने।

बुकी जाने बाटोमा पर्ने चेप्टेढुङ्गास्थित गोठमा गुमानसिंह कुमाइले दैनिक सय गिलाससम्म चिया बिक्री गरिरहेका छन्। ‘एक गिलास चियाको १०० रुपैयाँ लिन्छु, पर्यटकले स्वाद मानेर खान्छन्,’ उनले भने, ‘पहिले घ्यू बनाउने झन्झट थियो, अब दूधकै चिया बेच्दा राम्रो आम्दानी हुन्छ।’

कुमाइका अनुसार असारयता दूध, मोही, दही र चियाको खपत उच्च भएको छ। पदयात्रामा थकाइ मार्न पर्यटकहरूले स्थानीय उत्पादन रुचाउने गरेका छन्।

ढोरपाटन क्षेत्रको प्रचारप्रसार, पदमार्गको विकास, घरबास कार्यक्रम र घोडा सफारी जस्ता गतिविधिहरूले पर्यटक आकर्षण बढाएका छन्। एक वर्षमै आठ हजारभन्दा बढी पर्यटकको आगमनसँगै बुकीपाटन समेत गुल्जार बनेको स्थानीयको भनाइ छ।

पहिले विदेशी पर्यटक मुख्यतया सिकारका लागि आउने गरे पनि अहिले सिकार आरक्ष क्षेत्रको अवलोकन, ढोर उपत्यका, ढोरबराह मन्दिर, निशेलढोर, बुकीपाटन र जलजला पदयात्राका लागि आन्तरिक पर्यटकको आगमन तीव्र भएको छ। समुद्री सतहबाट करिब २,९०० मिटरदेखि ४,००० मिटरमाथिको क्षेत्रसम्म पर्यटकको पहुँच पुगेको छ। रासस

प्रकाशित: १४ साउन २०८२ १८:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast