
काठमाडौँ– सत्ताबाहिर रहेका वामपन्थी दलबीच एकताका लागि छलफल अघि बढेको छ। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल कम्युनिस्ट पार्टी (विप्लव) बीच एकताको गृहकार्य हुन थालेको नेताहरूले बताएका छन्।
उनीहरूका अनुसार एकताका विषयमा एकीकृत समाजवादी र माओवादीबीच सघन रूपमा कुराकानी भइरहेको छ। समाजवादीका एक पदाधिकारीले माओवादीबाट एकताको प्रस्ताव आएपछि गृहकार्य थालिएको बताए। तत्काल एकता गर्ने-नगर्ने भन्नेमा समाजवादी अन्योलमा छ। माओवादीसँग एकता गर्दा आफ्नो अस्तित्व नै हराउने भय समाजवादीका नेताहरूमा रहेको छ।
नेताहरू माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समाजवादी अध्यक्ष माधवकुमार नेपाल एकताका लागि बाध्यात्मक अवस्थामा रहेको बताउँछन्।
प्रचण्डलाई ठूलो शक्तिको नेता बन्ने लालसा छ भने नेपाल आफूमाथि लागेको भ्रष्टाचार मुद्दाका कारण एकताबद्ध हुन चाहेका छन्। भ्रष्टाचार मुद्दा लागेपछि उनले माओवादीसँग सहयोगी हात फैलाएको नेताहरू बताउँछन्।
समाजवादीको आधा कित्ता माओवादीसँग एकता नगर्ने पक्षमा छ। सम्मानित नेता झलनाथ खनाल माओवादीसँग कुनै पनि हालतमा एकता गर्न नहुने अडानमा छन्।
समाजवादी स्रोतका अनुसार खनालले माओवादीसँग एकता भएमा आफू भिन्नै तरिकाले अघि बढ्ने चेतावनी दिएका छन्। खनाल पक्षले ४० प्रतिशत शक्ति राखेर भए पनि माओवादी बन्न नदिने बताइरहेको छ। नेपालले खनालको अडानकै कारण पनि माओवादीलाई जबाफ दिन सकेका छैनन्।
माओवादीसँग सैद्धान्तिक र सांगठनिक गतिविधि नमिल्ने भएकाले पनि एकता गर्न नुहने तर्क समाजवादीका नेताहरूको छ। ‘माओवादीसँग एकता हुँदैन। हामी यो एकतालाई चार चोटी अस्वीकार गर्छौँ’, समाजवादीका प्रचार विभाग उपप्रमुख दामोदर अर्याल भन्छन्।
समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निकट नेताहरू पनि तत्काल एकता गर्दा आफूहरू प्रचण्डको कब्जामा परिने भयमा छन्। ‘औपचारिक रूपले प्रस्ताव आएको पनि होइन। एकता भइहाल्छ भन्ने पनि छैन,’ समाजवादीका सचिव सोमप्रसाद पाण्डेय भन्छन्। पाण्डेयका अनुसार बाहिर आएजस्तो गरी एकताका कुरा भएका छैनन्। एकता नहुने भन्नेचाहिँ होइन। ‘तत्काल गतिविधि बढेको छैन। यसको मतलब एकता हुँदैन भन्ने होइन’, पाण्डेय भन्छन्।
माओवादी अन्तरविरोध फैलिएका कारण एकताको प्रस्ताव गरिएको नेताहरू बताउँछन्। उपमहासचिव जनार्दन शर्माले अध्यक्षमाथि नै चुनौती दिन थालेपछि प्रचण्डले एकताको हात अघि बढाएको उनी निकट एक नेताले दाबी गरे।
समाजवादीसँग एकता गर्दा पार्टीभित्र नयाँ तरंग उत्पन्न हुने प्रचण्डको बुझाइ छ। त्यसो त, जनार्दनले सार्वजनिक रूपमै ‘विशेष महाधिवेशन’ माग गरेका छन्। उनले पुस्तान्तरणका कुरा उठाउँदै प्रचण्डको विकल्प पनि खोजेका छन्। प्रचण्डले जनार्दनमाथि चुनौती थप्न पनि समाजवादीसँग एकता चाहेको नेताहरू सुनाउँछन्।
माओवादी नेता जनार्दन शर्मा, समाजवादी महासचिव घनश्याम र नेत्रविक्रम चन्द विप्लवले पनि एकताका विषयमा संवाद थालेका छन्। विप्लवसँग नयाँ धारको राजनीतिक समीकरण बनाउने पहल हुन संकेत पाएपछि प्रचण्ड हतारिएको नेताहरू सुनाउँछन्। केही दिनअघि विप्लव, घनश्याम र जनार्दनले संयुक्त संवाद कार्यक्रमसमेत गरेका थिए।
‘आज पनि एकताका विषय कुरा संवाद भएको थियो। औपचारिक छलफल नभए पनि नेताहरू कसरी अघि बढ्नेभन्नेमा छलफलमा छन्’, समाजवादीका एक उपाध्यक्ष भन्छन्।
पुरानो एकता सम्झेर ‘तत्काल एकता चाहँदैन समाजवादी’
समाजवादी अनिर्णित हुनुको कारण एमाले-माओवादी एकता हो। दुई दलको नेतृत्वको मिलनले एकता नटिकेकाले अब त्यसो हुन नदिनेमा नेताहरू छन्। अर्कोतिर माओवादीसँग एकता गर्दा ठूलो शक्ति हाबी हुने त्रास समाजवादी नेताहरूमा छ।
‘पहिले पनि प्रक्रिया नपुर्याउँदा विभाजित भइयो। अब त झनै समस्या आउन सक्छ’, ती नेता भन्छन्। माओवादीको प्रस्तावलाई समाजवादीले सहकार्यका रूपमा मात्र अघि बढ्नुपर्ने जबाफ दिएको छ। ‘तत्काल एकता गर्न नसकिने बुझाइपछि अध्यक्षज्यू(माधव नेपाल)ले सैद्धान्तिक छलफल पहिले गर्नुपर्ने जबाफ दिनुभएको छ’, समाजवादीका अर्का एक नेता भन्छन्।
हतारिएका प्रचण्डलाई रोक्न चाहन्छन् नेपाल
नेपाल पनि परिबन्धका कारण एकताबारे अन्योलमा छन्। तर उनी प्रचण्डले चाहेजस्तो एकता गर्न नसकिने बुझाइमा छन्। ‘पहिलो कुरा त पदकै कुरा उठ्छ। मिल्ने छाँटकाँट देखिँदैन’, समाजवादीका एक नेता भन्छन्।
प्रचण्डले यतिबेला नेपालको बाध्यता पनि बुझेका छन्। एकातिर सत्ताबाहिर रहेको समय र अर्कातिर विभिन्न अभियोगसँग जुध्नुपर्ने गर्नुपर्ने बाध्यता। यसैले पनि पनि नेपाल बाध्यतामा रहेको उनी निकट नेताहरू सुनाउँछन्। समाजवादीभित्र नेतृत्वको प्रश्न उठाइरहेका नेताहरूलाई समेत समेटेर अघि बढ्नुपर्ने बाध्यता नेपालमा छ।