
काठमाडौँ- नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्तिा श्रेष्ठ चौधरीलाई पार्टीले कारबाही गर्ने निर्णय गरेको छ। नाउपा अनुशासन समितिले श्रेष्ठलाई कारबाही गर्ने निर्णय गरेको हो।
संस्थापक केन्द्रीय सदस्यहरूको बुधबार बसेको बैठकले उनलाई कारबाही गर्ने निर्णय गरेको एक सदस्यले बताए।
आइतबार बसेको बहुमत केन्द्रीय सदस्यहरूको बैठकले अध्यक्ष श्रेष्ठलाई २४ घन्टे स्पष्टीकरण सोधेको थियो। उनले स्पष्टीकरण नबुझाएपछि कारबाही गर्ने निर्णय भएको ती सदस्यले बताए।
यसअघि गत साता नै बसेको केन्द्रीय सदस्यहरूको भेलाले केन्द्रीय समितिको बैठक बोलाउन अध्यक्ष श्रेष्ठलाई २४ घन्टे अल्टिमेटम दिँदै कारबाही गर्ने निर्णय गरेको थियो। उनले केन्द्रीय समितिको बैठक नबोलाई स्वास्थ्यको कारण देखाउँदै शिव वास्तोलालाई कार्यवाहक अध्यक्ष तोकेकी थिइन्।
वास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएपछि नाउपाको आन्तरिक विवाद झनै चुलिएको थियो। वास्तोलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने विधानविपरित रहेको नेताहरूको भनाइ छ। केन्द्रीय समिति बैठक पनि नबोलाएको र स्पष्टीकरणको जवाफसमेत नदिएपछि नाउपा अनुशासन समितिले श्रेष्ठलाई कारबाही गरेको बताइएको छ।
आइतबार बसेको केन्द्रीय सदस्यहरूको बैठकले राष्ट्रिय भेला आयोजना गर्ने निर्णय पनि गरेको थियो। त्यही निर्णयअनुसार अहिले नाउपाको राष्ट्रिय भेला चलिरहेको छ। भेलाले कारबाहीबारे छलफल गरी कार्यकारी अध्यक्ष तोक्ने निर्णय गर्ने बताइएको छ। संस्थापक केन्द्रीय सदस्य र निर्वाचित जनप्रतिनिधिहरू भेलाका सदस्य हुन्छन्।
पोखराको जग्गा हिनामिना प्रकरणसम्बन्धी घुस काण्डमा नाउपा अध्यक्ष श्रेष्ठको नामसमेत जोडिएको छ। यो जग्गा प्रकरणमा उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा तानिएकी छन्।
जग्गा प्रकरणमा तत्कालीन सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग भएको घुस ‘डील’ सम्बन्धी अडियोमा श्रेष्ठको आवाजसमेत सुनिएको छ। यद्यपि उनले यो प्रकरणमा उनले आफ्नो संलग्नता अस्वीकार गरेकी छन्।