
पोखरा- नेपाल खेलकुद पत्रकार मञ्चले प्रतिष्ठित खेलाडी सम्मान कार्यक्रम एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड पहिलोपल्ट राजधानी काठमाडौँबाहिर ल्याएको छ। २२ औँ संस्करणको उक्त अवार्ड आगामी २९ भदौमा पोखरामा हुँदै छ।
मञ्चले तयारीबारे जानकारी दिन बुधबार पोखरामा पत्रकार सम्मेलन गर्यो। पोखरा महानगरपालिकाले पोखरा भ्रमण वर्ष-२०२५ मनाइरहेका बेला महानगरको प्रवर्धनमा पोखरामै उक्त अवार्ड हुन लागेको मञ्च अध्यक्ष निरञ्जन अधिकारीले जानकारी दिए।
उनले देशका अन्य सहरमा पनि विगतदेखि जान खोजिरहेकोमा भ्रमण वर्षको अवसरमा यहाँ आउन सकेको बताए। पोखरा महानगरको दह्रिलो साथका कारण यहाँ आएको भन्दै उनले अवार्डले पोखराको खेलकुद र पर्यटनमा ठूलो टेवा मिल्ने विश्वास गरे।
पोखरा महानगरपालिका र मञ्चबीच अवार्ड प्रवर्धनबारे सम्झौता भएको छ। महानगरपालिका तर्फबाट मेयर धनराज आचार्य र मञ्चका तर्फबाट अध्यक्ष अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
मेयर आचार्यले पोखरामा हरेक साता एउटा न एउटा ठूलो स्पोर्टस इभेन्ट हुने गरेको भन्दै पोखरा पर्यटनको मात्र नभई खेलकुदका पनि राजधानी रहेको बताए। उनल मोफसलले पनि यसप्रकारका अवार्ड गर्न सक्छन् भन्ने सन्देश जाने विश्वास गरे। आचार्यले भने, ‘पोखरा सहरका लागि यो अवसर हो। यो एकप्रकारको सिकाइ पनि हो। हामी ठूला इभेन्ट पनि गर्न सक्छौँ भन्ने सन्देश जानु हो।’
पोखरा इभेन्ट सेन्टरमा हुने अवार्डमा विगतमा झैँ यसपालि पनि १० विधामा अवार्ड प्रदान गरिने मञ्च महासचिव अञ्जन खड्काले बताए। जसमा खेलाडी र खेलकर्मी पुरस्कृत हुनेछन्।
वर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाइस अवर्डा, पारा एथलिट सम्मान, टिम अफ दि इयर, स्पेसल अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड र एशियन स्पोर्टस् जर्नालिस्ट अवार्डका विधा समावेश गरिएको छ। तीमध्ये वर्ष २०८१ मा उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेतालाई जनही पल्सर मोटरसाइकल र अन्य विधाका विजेतालाई नगद १ लाख दरले पुरस्कृत गरिनेछ। पिपल्स च्वाइसमा पाँच उत्कृष्ट खेलाडीको मनोनयन मञ्चले केही दिनमा सार्वजनिक गर्ने निवर्तमान अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) ले बताए।
उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा र प्रशिक्षकको विधामा ५-५ जनाको मनोनयन सार्वजनिक हुनेछ। मनोनीतमध्ये विजेताको घोषणा अवार्डकै दिन गरिने मञ्चले जनायो।
दुई दशकभन्दा बढी समयदेखि नेपालमा निरन्तर आयोजित खेलकुदको कार्यक्रममा स्पोर्टस् अवार्ड पनि एक हो। यो अवार्ड विश्वभरका खेल पत्रकारको छाता संगठन अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघ (एआईपीएस) र एसियाली खेलकुद पत्रकार महासंघ (एआईपीएस एसिया) को नियमित क्यालेन्डर इभेन्ट हो।