
काठमाडौँ- रूसको सुदूरपूर्व कामचटका प्रायद्वीपको नजिक समुद्रमा आएको ८.८ रिक्टर स्केलको भूकम्पपछि प्रशान्त महासागरभरि सुनामीको चेतावनी जारी भएको छ। जापान, हवाई र अमेरिका पश्चिमीतटका केही भागहरूमा उद्धार कार्य सुरु गरिएको बीबीसीले जनाएको छ।
कामचटकामा ३-४ मिटर (१०-१३ फिट) अग्ला सुनामी लहर देखिएको छ भने जापानको उत्तरी होक्काइडो सहरमा ३० सेमि (१२ इन्च) को लहर पुगेको समाचारमा उल्लेख छ।
अमेरिकाको हवाई राज्यमा सुनामी लहरहरूको प्रभाव देखिन थालेको प्रशान्त सुनामी चेतावनी केन्द्रले जनाएको छ। केन्द्रले भनेको छ, ‘जीवन र सम्पत्तिको सुरक्षा गर्न तुरुन्तै कदम चाल्न आवश्यक छ। खतरा अझै केही घण्टा कायम रहन सक्छ।’
राज्यका गभर्नर जोस ग्रिनले नागरिकहरूलाई उद्धार आदेश पालना गर्न र शान्त रहन आग्रह गरेका छन्। होनोलुलुमा साइरनहरू बजाइएका छन्। नागरिकलाई सुरक्षित भूमिमा आग्रह गरिएको छ।
ग्रिनले जापान र हवाईको बीचमा पर्ने मिडवे एटोलबाट प्राप्त तथ्यांकअनुसार ६ फिट (१.८ मिटर) अग्लो सुनामी लहर मापन गरिएको जानकारी दिए।
उनले भने, ‘हवाईमा आउने लहरहरू यसभन्दा ठूला वा साना दुवै हुन सक्छन्, अहिले नै त्यसको निश्चित अनुमान लगाउन सकिने अवस्था छैन।’ ग्रिनका अनुसार त्यस्तो लहरले गाडी पल्टाउन सक्छ, पर्खाल भत्काउन सक्छ। रुख उखेल्न सक्छ। उनले भने, ‘हेलिकोप्टरहरू तयारी अवस्थामा छन् र पानीमा चल्न सक्ने सवारीसाधनहरू उद्धारका लागि तयार छन्।’
यसैगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी जनतालाई सतर्क रहन निर्देशन दिएका छन्।
अलास्कामा आधारित राष्ट्रिय सुनामी चेतावनी केन्द्रले क्यालिफोर्निया, ओरेगन र वासिङ्टन राज्यका केही भागमा सुनामीको चेतावनी जारी गरेको छ।
उत्तर क्यालिफोर्नियाको क्रेसन्ट सिटीले सुनामी साइरन बजाएर बासिन्दालाई सम्भावित लहरहरूबारे चेतावनी दिएको छ। सिटी हलको फेसबुक पोस्टमा लेखिएको छ, ‘तपाईंले सुनामी साइरन सुन्दै हुनुहुन्छ। हामी अहिले सुनामी चेतावनीअन्तर्गत छौँ। कृपया समुद्र किनारा र पानीका स्रोतबाट टाढा रहनुहोस्।’
उत्तर क्यालिफोर्नियाको यो सहरमा करिब ६ हजार बासिन्दा छन्। यसअघि सन् १९६४ मा अलास्कामा गएको भूकम्पपछि आएको सुनामीले क्रेसन्ट सिटीमा २१ फिट (६.४ मिटर) अग्लो लहर ल्याएको थियो। त्यसबाट ११ जनाको ज्यान गएको थियो भने सहरको केन्द्र भाग पूर्ण रूपमा ध्वस्त पारेको थियो।
क्यानडाको प्रशान्त तट प्रान्त ब्रिटिस कोलम्बियाको अधिकांश तटीय क्षेत्रका लागि पनि सुनामी सल्लाह जारी गरिएको छ।
कामचटकामा भूकम्पका कारण केही मानिस घाइते भएको र बलिया परकम्पहरू आउने सम्भावना रहेको रुसी समाचार संस्था तासले उल्लेख गरेको छ। भूकम्पका कारण रुसको साखालिन क्षेत्रमा विद्युत् प्रसारण प्रणालीमा क्षति पुगेको छ। त्यहाँ विद्युत् आपूर्ति बन्द गरिएको छ।
साखालिनको उत्तर कुरिल टापुहरूमा संकटकाल घोषणा गरिएको छ। त्यहाँबाट प्राप्त भिडियोमा सुनामी लहरहरूले बन्दरगाह क्षेत्र पूरै डुबाएको देखिन्छ। सबै बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको समाचारमा उल्लेख छ।
चीन, फिलिपिन्स, इन्डोनेसिया, पेरु र इक्वेडरको गालापागोस टापुहरूमा समेत विभिन्न स्तरका सुनामी चेतावनी जारी गरिएका छन्।
जापानी समयअनुसार बिहान ८ः२५ बजे गएको भूकम्पको प्रारम्भिक मापन ८.० म्याग्निच्युड रहेको जापान र अमेरिकी भूकम्पविद्हरूले जनाएका थिए। अमेरिकी भूगर्भ सर्वेक्षण विभागले भूकम्पको मापन परिमार्जन गर्दै ८.८ म्याग्निच्युड घोषणा गर्यो। भूकम्पको केन्द्र रूसको पेट्रोपाभ्लोभ्स्क-कामचात्स्की सहरबाट ११९ किलोमिटर पूर्वदक्षिणपूर्वमा समुद्रभित्र रहेको थियो। भूकम्पपछि ६.९ म्याग्निच्युडसम्मका धेरै परकम्प पनि मापन गरिएको समाचार एजेन्सी एपीले जनाएको छ।
जापानको अग्नि तथा विपद् व्यवस्थापन एजेन्सीका अनुसार बुधबार मध्याह्नसम्म प्रशान्त तटसहितका २२० भन्दा बढी नगरपालिकामा करिब २० लाख बासिन्दालाई सुरक्षित स्थानमा जान निर्देशन गरिएको छ।
के हो सुनामी?
सुनामी भनेको समुद्री छाल हो। भूकम्प, समुद्री ज्वालामुखी विस्फोट वा समुद्रभित्रैका भूस्खलनहरूले सुनामी उत्पन्न हुन्छ। समुद्रभित्र भूकम्प आएपछि समुद्रको सतह तलमाथि हुँदै हल्लिन्छ, जसले पानीलाई माथि उठाउने र तल झार्ने काम गर्छ। यही ऊर्जा समुद्री पानीलाई अघि धकेल्दै सुनामी लहरका रूपमा फैलिन्छ।
धेरै मानिस सुनामीलाई एउटै ठूलो लहर सम्झन्छन्। तर वास्तवमा सुनामी भनेको धेरैवटा लहरहरूको शृंखला हो, जुन छिटो बढ्दै आउने ज्वारका रूपमा तटमा आइपुग्छ।
केही सुनामीहरू साना हुन्छन् र क्षति गर्दैनन्। कुनै सुनामीले ठूलो विनाश ल्याउन सक्छ। सन् २००४ मा इन्डोनेसियाको तट नजिकै ९.१ म्याग्निच्युडको भूकम्प आएपछि सुनामी उत्पन्न भएको थियो। यसले दक्षिण र दक्षिण–पूर्व एसियाको हिन्द महासागर किनारका गाउँ, बन्दरगाह र पर्यटकीय स्थल तहसनहस बनाएको थियो।