नागदहको थिति [तस्बिरहरू]

शेखर लामिछाने १३ साउन २०८२ १७:१५
88
SHARES
नागदहको थिति [तस्बिरहरू]

मञ्जुश्रीले तलाउका रूपमा रहेको काठमाडौँ उपत्यकाको पानी चोभारमा गल्छी काटी बाहिर पठाएपछि उपत्यकामा नागदह र टौदह बाँकी रहेको जनविश्वास छ। स्थानीय बासिन्दा यो दहलाई पौराणिक वासुकी नागको निवासस्थल मान्छन्।

नागपञ्चमीका दिन मेला लाग्ने काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमध्ये नागदह एउटा प्रचलित र धार्मिक मान्यता बोकेको ठाउँ हो। नागदह ललितपुरको सातदोबाटोबाट चार किलोमिटर दक्षिणमा छ। दहको पश्चिम-उत्तर कुनामा रहेको नाग मन्दिरमा नागपञ्चमीका दिन मेला लाग्ने गरेको छ भने सँगैको सप्तर्षि मन्दिरमा ऋषिपञ्चमीका दिन ठूलो मेला लाग्छ।

जनश्रुति के छ भने मञ्जुश्रीले चोभारको डाँडा काटेर उपत्यकाको पानी कटाएपछि दुई नाग र नागिनीले आफ्नो बासस्थल बिगारेको भनेर रिसाए। नाग-नागिनी रिसाएपछि मञ्जुश्रीले नागदह र टौदह बनाइदिए। अनि नागिनी नागदहमा र नाग टौदहमा बस्न थाले। हरेक वर्ष वर्षायाममा नाग टौदहबाट नागदह आई नागिनीलाई लिएर पनौतीको जात्रा हेर्ने जान्छन् भन्ने किवंदन्ती छ।

पछिल्लो समय बिदाको समयमा आन्तरिक पर्यटक नागदह आउने गरेका छन्। नागदह एउटा काठमाडौँ उपत्यकाको महत्त्वपूर्ण पन्छी वासस्थान हो। नागदहमा ५० भन्दा बढी चरा प्रजाति पाइन्छन्।

नागदहमा पाइने पन्छी प्रजाति कालो चिल (ब्लाक काइट), कालो चिबे (ब्लाक ड्रोंगो), बकुल्ला (क्याट इग्रेट) र अनेकौँ किसिमका माटीकोरे (किङफिसर) का प्रजाति पाइन्छन्। यहाँ अनेकौँ प्रजातिका आगन्तकु  चरा पनि आउने गरेका छन्। गत वर्ष नागदहमा विश्वकै दुर्लभ बैकल टिल र गार्गेनी प्रजातिका चरा देखिएका थिए।

श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी मंगलबार परम्पराअनुसार नागको पूजा गरी मनाइएको छ। नागपञ्चमी श्रावण शुक्लपक्षको पञ्चमीका दिन हिन्दु धर्मावलम्बीहरूले विशेष विधिपूर्वक दूध, दही, धूप, दीप, नैवेद्य चढाएर घरको दैलामा पूजा गर्ने गर्दछ। यसै अवसरमा नागदहमा मेला लागेको छ।

 

प्रकाशित: १३ साउन २०८२ १७:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast