
काठमाडौँ- नेकपा एमालेले विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधन प्रस्तावमाथि आगामी भदौ १० गतेभित्र सुझाव दिन मातहतका कमिटीलाई आग्रह गरेको छ।
एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी–१२) मा केन्द्रीय कमिटीको बैठकबाट पारित उक्त विधान संशोधन प्रस्तावमा मातहतका कमिटी र सदस्यले आफ्नो सुझाव लिखित रूपमा सो अवधिभित्र पार्टी केन्द्रीय कार्यालयमा आइपुग्ने गरी पठाउनुपर्ने उल्लेख छ।
अपानी–१२ मा मातहतका कमिटीबाट प्राप्त सुझाव उपर विधान महाधिवेशनपूर्व बस्ने केन्द्रीय कमिटीमा छलफल गरी आवश्यक निर्णय लिइने उल्लेख छ।
आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा हुने पार्टीको दोस्रो विधान महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रस्ताव प्रतिवेदन प्रस्तुत गर्नेछन्। यी तीनै प्रतिवेदन पार्टीको सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटीमा संशोधनसहित पारित गरिएको छ।
पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधि पार्टीको विधान महाधिवेशनका प्रतिनिधि हुने वैधानिक व्यवस्था गरिएको अपानी–१२ मा उल्लेख छ।
दशौँ राष्ट्रिय महाधिवेशनमा सहभागी नभएका र यसबीचमा केन्द्रीय कमिटी तथा निकायमा मनोनीत भएका आयोजकको हैसियतमा विधान अधिवेशनमा सहभागी हुन पाउने व्यवस्था अपानी–१२ मा उल्लेख छ।