
काठमाडौँ- बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आफूले पदबाट राजीनामा नदिने बताएका छन्। नेपाली कांग्रेस संसदीय दलको नेताबाट हटाइए पनि मुख्यमन्त्री पदबाट आफूलाई कसैले हटाउन नसक्ने उनको दाबी छ।
संसदीय दलमा मत विभाजनपछि नेता पद गुमाएका लामाले दलको नेता हुनु र सरकार प्रमुख हुनु अलग विषय भएको जिकिर गरे। ‘गठबन्धन सरकारमा संसदीय दलको नेता हुनुको अर्थ हुँदैन,’ उनले भने, ‘सरकार र दल फरक-फरक कुरा हुन्। मुख्यमन्त्री हुन दलको नेता हुनु आवश्यक छैन। म विधि र संविधानअनुसार अगाडि बढ्छु। कसरी राजीनामा दिन्छु?’
उनको दाबीमा केवल पूर्ण बहुमतको सरकार भएमा मात्र संसदीय दलको नेता हुनु अनिवार्य हुन्छ। ‘यो गठबन्धन सरकार हो, पूर्ण बहुमतको होइन, त्यसैले दलको नेताबाट हटाइएकोले केही फरक पर्दैन,’ उनले भने।
लामाले आफू लोकतान्त्रिक प्रक्रिया हुँदै निर्वाचित भएर आएको बताउँदै आफूविरुद्ध आफ्नै पार्टीभित्र षड्यन्त्र गरिएको आरोप लगाए। ‘मैले सबैलाई समेटेर लैजाउँ भनेको थिएँ तर आफ्नै मन्त्रीमाथि पनि षड्यन्त्र रचियो,’ उनले भने।