‘मौरीबाजे’ डिलबहादुरको करोडौं लगानीमा मौरीपालन उद्योग

हिमाल प्रेस १३ साउन २०८२ १४:०१
14
SHARES
‘मौरीबाजे’ डिलबहादुरको करोडौं लगानीमा मौरीपालन उद्योग

बागलुङ- बागलुङ नगरपालिका-१२ अमलाचौरका डिलबहादुर केसी ‘मौरीबाजे’ नामले चिनिन्छन्। करिब २५ वर्षअघि १० हजार रुपैयाँको लगानीमा २ वटा मौरीका घारबाट सुरु गरिएको मौरीपालन व्यवसाय अहिले करोडौंको पुँजीमा रूपान्तरण भएको छ।

केसीले स्थापना गरेको बलेवा मौरीपालन उद्योग अहिले देशभर चिनिएको नाम हो। २०५६ सालमा थालिएको यो उद्योगमा हालसम्म उनले एक करोड रुपैयाँभन्दा बढी लगानी गरिसकेका छन्। उद्योगमार्फत वार्षिक २ हजार ५०० मौरीका घार उत्पादन भई देशभर बिक्री हुँदै आएका छन्।

हाल उद्योगमा ३५० मौरीका घार छन् भने देशका विभिन्न जिल्लाबाट अनुदानमा वितरण हुने मौरीका घार यहीं निर्माण हुन्छन्। ‘अहिले ६० कटेँ, स्याहार–सुसार मात्रै गर्छु। छोरा जगत र जनकको नेतृत्वमा उद्योग प्रविधिमैत्री बनेको छ,’ केसी भन्छन्, ‘चितवनबाट मात्रै ४०० घारको माग आएको छ,अहिले उद्योगमा काम फुल स्पिडमा छ।’

केसीका चार सन्तानमध्ये दुई छोरा जगत र जनक बुबाको सीप र व्यवसायमा सक्रिय छन्। उद्योगले अहिले ६ जनालाई रोजगारी दिएको छ भने तीन चरन क्षेत्रमा मौरीका घार राखिएको छ। जगतका अनुसार एक वर्षमा तीन क्विन्टलसम्म मह उत्पादन हुँदै आएको छ।

केसीका अनुसार अहिले युरोपबाट ल्याइएको १० लाख रुपैयाँको आधुनिक काठ काट्ने मेसिन प्रयोग गरी घार निर्माण हुँदैछ। उद्योगले दुई वर्षअघि २३६ घार भारतको सिक्कमसम्म निर्यात गरिसकेको छ।

मह र घार बिक्रीबाट मात्र गत आर्थिक वर्षमा ६५ लाख रुपैयाँ आम्दानी भएको केसीको दाबी छ। त्यसमध्ये २५ लाख रुपैयाँ नाफा भएको उनले जानकारी दिए। उद्योगबाट ३०-४० प्रतिशतसम्म बचत भइरहेको छ।

हाल मौरीको गोलासहितको घार १० हजार र गोलारहित घार ४-५ हजार रुपैयाँ मूल्यमा बिक्री भइरहेको छ। महको बजार मूल्य प्रति किलो १,००० रुपैयाँ रहेको छ। केसीले उद्योगमा टुनीको काठ, विद्युत् महशुल, कर्मचारी तलबलगायतमा लाखौं खर्च भइरहेको बताए। टुनीको काठबाट बनेका घारको माग उच्च रहेको उनले बताए।

‘घार उत्पादनको समस्या छैन तर बजारीकरणमा कागजी प्रक्रिया झन्झटिलो छ,’ केसीले भने,‘स्थानीय तहले सघाएमा सयौंलाई रोजगारी दिन सक्ने सम्भावना छ।’ बागलुङ नगरपालिकाले उद्योगलाई १८ लाख रुपैयाँ अनुदान दिएको केसीले जानकारी दिए।

प्रकाशित: १३ साउन २०८२ १४:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast