
काठमाडौँ- स्प्लिट्सभिल्लाका प्रतियोगी अनिकेत पाख्रिनले नेपाली फिल्ममा डेब्यु गर्ने भएका छन्। उनी मिलन चाम्सको निर्देशनमा बन्ने फिल्म ‘सुम्निमा’ मा अनुबन्धित भएका छन्।
उनी अडिसनमार्फत छनोट भएको निर्देशक चाम्सले जानकारी दिए। अनिकेत भारतीय रियालिटी सो स्प्लिट्सभिल्लाका प्रतियोगीका रूपमा परिचित छन्। स्प्लिट्सभिल्लाको १४औं सिजनमा अनिकेत उत्कृष्ट आठमा परेका थिए।
अनुहार नयाँ भए पनि अनिकेतको आत्मविश्वास, व्यक्तित्व र क्यामेरा अघि प्रस्तुत हुने शैलीले निर्माण टिमलाई आकर्षित गरेको निर्देशक चाम्सले बताए।
गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको सह-निर्माणमा बन्ने फिल्म प्रेमकथामा आधारित हुनेछ। यसअघि फिल्ममा अभिनेत्री उपासना सिंह ठकुरी, अभिनेता कुन्साङ बमजन र अनुप बिक्रम शाही जोडिइसकेका छन्। अन्य कलाकार तथा प्राविधिक टिमको चयन प्रक्रिया जारी रहेको टिमले बताएको छ।
राजीव थापाको लेखन रहेको फिल्म अगस्टदेखि छायांकन हुनेछ। फिल्म नेपाल र लण्डनमा छायांकन गरिनेछ। फिल्म अन्तर्राष्ट्रिय दर्शक लक्षित निर्माण गर्न लागेको चाम्सले बताए। गतवर्ष चाम्स निर्देशित बायोपिक फिल्म ‘अञ्जिला’ ले बक्स अफिसमा राम्रो व्यापार गरेको थियो।