धनगढीमा ७ ग्राम खैरो हेरोइनसहित चारजना पक्राउ

हिमाल प्रेस १३ साउन २०८२ ८:०२
6
SHARES
धनगढीमा ७ ग्राम खैरो हेरोइनसहित चारजना पक्राउ

धनगढी- कैलालीको धनगढीमा प्रहरीले दुई छुट्टाछुट्टै स्थानबाट करिब साढे सात ग्राम लागूऔषध (खैरो हेरोइन) सहित चार जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरूलाई दुईवटा मोटरसाइकलसहित नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका सह-प्रवक्ता प्रहरी निरीक्षक लोक राज जोशीका अनुसार, धनगढी उपमहानगरपालिका-२ ब्यारेल नजिक सुपप्र. ०१००८ प २७३३ नम्बरको मोटरसाइकललाई शंका लागेर चेकजाँच गर्दा ४ ग्राम ३८० मिलिग्राम खैरो हेरोइन फेला परेको थियो।

लागूऔषध नियन्त्रण व्युरो, वडा प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरको संयुक्त टोलीले मोटरसाइकलमा सवार धनगढी-७ का १९ वर्षीय जीवन मल्ल र २७ वर्षीय आदित्य खड्कालाई पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका-१४ खुटिया टोलमा प्र।३-०२-००७ प ५५२० नम्बरको मोटरसाइकल जाँच गर्दा ३ ग्राम ६० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ। प्रहरीले मोटरसाइकलमा सवार धनगढी-१४ का २५ वर्षीय सुभम राना र सेवा रानालाई पक्राउ गरेको हो।

दुई घटनामा गरी प्रहरीले जम्मा ७ ग्राम ४४० मिलिग्राम खैरो हेरोइन र २ वटा मोटरसाइकल बरामद गरेको छ। पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखी लागू औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १३ साउन २०८२ ८:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast