मोर्चाले ६ वटा प्रदेशमा अभियान सञ्चालन गर्ने, तोकियो संयोजनको जिम्मेवारी

हिमाल प्रेस १२ साउन २०८२ २०:२७
38
SHARES
मोर्चाले ६ वटा प्रदेशमा अभियान सञ्चालन गर्ने, तोकियो संयोजनको जिम्मेवारी

काठमाडौँ- संयुक्त लोकतान्त्रिक मोर्चाले ६ वटा प्रदेशमा वर्तमान राजनीतिक अवस्थाबारे जनजागरण अभियान सञ्चालन गर्ने भएको छ।

सोमबार सिंहदरबारस्थित जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको कार्यालयमा बसेको मोर्चाको केन्द्रीय मुल समितिको बैठकले ६ वटा प्रदेशमा अभियान सञ्चालन गर्ने निर्णय गर्दै संयोजनको जिम्मेवारी तोकेको हो।

मोर्चाको बैठकले काठमाडौँमा आगामी १८ गते कार्यक्रम गर्ने निर्णय गरेको राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले जानकारी दिए। उनका अनुसार काठमाडौँको कार्यक्रमको संयोजन गर्ने जिम्मा मोर्चामा आवद्ध सबै दलले गर्नेछन्।

त्यस्तै साउन २१ गते भैरहवा, २३ गते भैरहवा, २५ गते कैलाली, भाद्र १६ गते विराटनगर, भाद्र १८ गते राजविराज, भाद्र २० गते जनकपुर र भाद्र २२ गते वीरगञ्जमा कार्यक्रम गर्ने मोर्चाको निर्णय छ।

भैरहवा, नेपालगञ्ज र कैलालीका कार्यक्रमको संयोजन नागरिक उन्मुक्ति पार्टीले गर्ने भएको छ। त्यस्तै विराटनगरमा जसपा नेपाल, राजविराजमा राष्ट्रिय मुक्ति पार्टी, जनकपुरमा तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) र वीरगञ्जमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले कार्यक्रमको संयोजन गर्ने जिम्मेवारी पाएको छ।

बैठकले अधिकार र पहिचान पक्षधर पार्टीहरूसँग मोर्चामा सहकार्य गर्ने नीति तहत संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र नेपाल जनमुक्ति पार्टीसँग संवाद गर्ने निर्णयसमेत गरेको छ।

मोर्र्चाको बैठकले तराई मधेशका जिल्लामा सुक्खाको समस्यालाई मध्यनजर गरी किसानहरूलाई कृषि ऋणमा छुटका साथै तत्काल खानेपानीको समुचित व्यवस्था र सिँचाइका लागि डिपबोरिङको व्यवस्था गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ। यसका साथै दीर्घकालीन रूपमा यस्तो संकटबाट जोगाउन चुरे वन क्षेत्रको संरक्षण र जलासय निर्माणका साथै पर्यावरण संकटबाट जोगाउन ठोस उपाय अपनाउन मोर्चाले सरकारसँग माग गरेको छ।

बैठकमा जसपा नेपालका तर्फबाट उपेन्द्र यादव, रामकुमार शर्मा, नाउपाका लालबिर चौधरी, राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतो, केशव झा, अनिल महासेठ, गजेन्द्र मण्डल, लोसपाका महन्थ ठकाुर, लक्ष्मणलाल कर्ण, ज्ञानेन्द्र झा उपस्थित थिए।

त्यस्तै जनता प्रगतिशील पार्टीका हृदेयश त्रिपाठी, शिवजी यादव, सबिर हुसेन, तमलोपाका वृषेशचन्द्र लाल, ब्रजकिशोर सिंह र रविशंकर कर्ण बैठकमा सहभागी भएका थिए।

प्रकाशित: १२ साउन २०८२ २०:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast