कर्णाली सरकारले गर्‍यो १६ हजार घरबिमा

हिमाल प्रेस १२ साउन २०८२ १८:१४
18
SHARES
कर्णाली सरकारले गर्‍यो १६ हजार घरबिमा

सुर्खेत – कर्णाली प्रदेश सरकारले प्रदेशका विपद जोखिम क्षेत्रका स्थानीय तहरुमा घरबीमा कार्यक्रम लागू गरेको छ। जसअन्तर्गत पहिलो चरणमा पन्ध्र वटा स्थानीय तहका दुई सय १३ वडामा १६ हजार घरबीमा गरिएको छ।

कर्णाली प्रदेश विपद्को उच्च जोखिममा रहेको र प्राकृतिक विपद्लगायतको भवितव्यका कारणबाट हुने क्षति र नोक्सानीको आर्थिक सुरक्षाको प्रत्याभूत गर्न कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष ०८१ /८२ को वार्षिक नीति तथा कार्यक्रम र बार्षिक बजेटमा घरबीमा कार्यक्रम ल्याएको थियो।

यही कार्यक्रमअन्तर्गत प्रदेश सरकारले सोमबारदेखि घरबीमा कार्यक्रम शुरु गरेको हो।

कर्णाली प्रदेश प्राकृति विपद्को उच्च जोखिममा रहेको र यहाँका नागरिकले विपद्का कारण वर्षेनी जनधनको क्षति बेहोर्नु परेको अवस्थालाई मध्यनजर गर्दै कर्णाली प्रदेशभित्र स्थायी बसोबास भएका नागरिकहरुको निजी आवासीय घरको प्राकृतिक विपद्लगायतको भवितव्यको कारणबाट हुने क्षति र नोक्सानीको आर्थिक सुरक्षाको प्रत्याभूत गर्न घरबीमा कार्यक्रम शुरुवात गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार घरबीमा कार्यान्यवन गर्न घरबीमा कार्यक्रमसम्बन्धी कार्यविधि २०८१ गत फागुन १३ गते मन्त्रीपरिषद्बाट स्वीकृत भएको थियो। कार्यविधि बमोजिम घरबीमा कार्यक्रममा आवद्ध हुन प्रदेशका स्थानीय तहलाई सूचना गरेकोमा १० जिल्लाका २३ वटा स्थानीय तहले प्रतिबद्धतासहित पत्राचार गरेको मन्त्रालयका सचिव पुष्पराज शाहीले जानकारी दिए।

उनका अनुसार कार्यविधिको दफा ३ (४) बमोजिम नेपाल बिमा प्राधिकरणले छनौट गरी पठाएका २३ वटा स्थानीय तहमा २३ बटा बीमक कम्पनी खटाई निजी आवासको मूल्यांकन सुरु गरिएकोमा समयभित्र सम्बन्धित स्थानीय तहको सिफारिससहित विवरण पठाएका १५ वटा स्थानीय तहका १६ हजार ७२ घरको घरबीमा गरी पोलिसी जारी गरिएको हो।

कार्यविधिको दफा ५ को २ बमोजिम प्रतिघर अधिकतमा २० लाखसम्मको मात्र प्रदेश सरकारले प्रिमियम बेहोर्ने व्यवस्था रहेको र सोभन्दा माथि भए स्वयं धरधनीले बेहोर्नुपर्ने जानकारी पनि सचिव शाहीले दिए।

प्रिमियमवापत जम्मा ९८ लाख २४ हजार ८ सय ९३ रुपैयाँ भुक्तानी भएको पनि सचिव शाहीले बताए।

यसैबीच आज आयोजित एक कार्यक्रममा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कडेलले कर्णाली प्रदेश विपद्को उच्च जोखिमको क्षेत्र रहेकोले नागरिकको सम्पत्ति सुरक्षाको लागि घरबीमा कार्यक्रम शुरु गरिएको बताए।

उनले थोरै रकममा नागरिकको सम्पत्ती सुरक्षा हुने हुँदा प्रदेश सरकारले नवीनतम कामको थालनी गरेको जानकारी पनि दिए। घरबीमा जस्तै प्रदेशमा कृषि, पशुु बीमा कार्यक्रमको प्रभावकारी सचालनको आवश्यकता औल्याउँदै मुख्यमन्त्री कँडेलले सरकारले क्षतिपूर्ति दिने भन्दा बिमा कार्यक्रममार्फत सुरक्षा अपनाउने काममा अग्रसरता लिन स्थानीय तहलाई ध्यानाकर्षण गराए।

उनले भने, ‘थोरै रकमले नागरिकको बसोबासको सुरक्षा हुँदो रहेछ, क्षति भइसकेपछि सरकार गुर्हादै हिँडनुभन्दा थोरै रकममा बिमा गराउने काममा तपाईँहरुले सचेतना फैलाउनुस्।’

कार्यक्रममा पालिकाहरुको तर्फबाट शारदा नगरपालिकाका उपप्रमुख सुुस्मिता सापकोटा, बारेकोट गाउँपालिकाका अध्यक्ष बीरबहादुर गिरी, बराहताल गाँउपालिका अध्यक्ष भिमबहादुर भण्डारी, महाबै गाउँपालिकाका अध्यक्ष खेमसिहलगायतले कर्णाली प्रदेश जस्तो विपद् जोखिमको प्रदेशमा घरबीमा कार्यक्रममले नागरिकको सुरक्षामा थप बल मिलेको बताए।

उनीहरुले प्रदेश सरकारले थालनी गरेको कार्यक्रमलाई प्रभावकारी बनाउन पालिकाको तर्फबाट आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाए।

मन्त्रालयका उपसचिव उत्तम गौतमले चालु आर्थिक वर्ष ०८२/८३ मा घरबीमा कार्यक्रममा ३ करोड ५० लाख विनियोजन रहेको र आघिल्लो आर्थिक वर्ष घरबीमामा समावेश नभएका स्थानीय तहलाई चालु आर्थिक वर्षमा समावेश गरिनेछ।

कार्यविधिको दफा ४ बमोजिम घर बीमालेखले भूकम्पबाट हुने क्षति, अग्नीजन्य, हावाजन्य, पानीजन्य, भूमिजन्य, खस्ने वा भासिने सम्बन्धी जोखिम, चटयाङगजन्य जोखिम, आकाशीय सामाग्रीजन्य जोखिम, धक्काजन्य जोखिम, स्वजलनसम्बन्धी जोखिम, बाढी तथा डुबानबाट क्षतिग्रस्त घर, हुलदंगा तथा आतंकवादजन्य जोखिम तथा अन्य प्राकृतिक विपद्को कारणले क्षतिग्रस्त घर समेटने उल्लेख छ।

पहिलो चरणमा घर बीमा भएका स्थानीय तह र संख्या

१. शारदा नगरपालिका सल्यान घरघुरी -४७०७

२. ठाँटीकाध गाँउपालिका दैलेख – ५२६

३. गुर्भाकोट नगरपालिका सुर्खेत – ९१६

४. लेकबेशी नगरपालिका सुर्खेत – २६५

५. बराहताल गाँउपालिका सुर्खेत – २४६९

६. त्रिवेणी गाँउपालिका रुकुमपश्चिम – ३३९

७. सानीभेरी र्गाँउपालिका रुकुम पश्चिम – २१२

८. तिलागुफा नगरपालिका कालीकोट – ६५५

९. पलाता कालीकोट – ६४३

१०. महाबै कालीकोट – ६८०

११. जगदुल्ला डोल्पा – ६४०

१२. सिजा गाँउपािलका जुम्ला – १५४५

१३. खार्पूनाथ हुम्ला – ६६१

१४. छाँयानाथ मुगु – १३११

१५. बारेकोट जाजरकोट – ७३३

प्रकाशित: १२ साउन २०८२ १८:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast