राप्रपा : संकटमा मिश्र समूह!

किरण पौडेल १२ साउन २०८२ २०:२७
94
SHARES
राप्रपा : संकटमा मिश्र समूह! रवीन्द्र मिश्र। फाइल तस्बिर

काठमाडौँ- २०७९ असोज १२ मा तामझामका साथ विवेकशील-साझाको रवीन्द्र मिश्र समूह राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा समाहित भएको थियो। नवीन राप्रपाको नाम दिइएका अध्यक्ष राजेन्द्र लिङ्देनले मागेअनुसारकै पद दिएर एकता गरेका थिए। कुनै बेला ‘वैकल्पिक शक्ति’ को वकालत गर्ने मिश्र राजावादी दलमा लाग्दा आलोचितसमेत भए। तर उनीहरूको समूहले आधिकारिकता पाएको छैन। निर्वाचन आयोगमा राप्रपाकै पदाधिकारी र सदस्यहरूको नाम दर्ता गराइएको छैन। पार्टी एकताको तीन वर्ष पुग्न लाग्दासमेत निर्वाचन आयोगमा नाम नपुगेपछि असन्तुष्टि बढेको छ।

एकताका बेला उनीहरूले राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय समितिमा बारम्बार निर्वाचन आयोगमा एकता भएका पदाधिकारी र केन्द्रीय सदस्यहरूको विवरण निर्वाचन आयोगमा अद्यावधिक गरी त्यसलाई वैधता दिन वरिष्ठ नेताहरूले आवाज उठाएका थिए। उनीहरूले अन्तिम पटक माघको ११, १२ र १३ गते बसेको केन्द्रीय समिति बैठकले तत्काल निर्वाचन आयोगमा विवरण अद्यावधिक गर्न निर्देशन दिएको थियो।

राप्रपा केन्द्रीय सदस्य रञ्जन कार्की सो निर्देशपछि पनि पार्टी अध्यक्ष लिङ्देनले चासो नदिएको बताउँछन्। ‘बारम्बार हामीले बैठकमा कुरा उठाएका छौँ तर हालसम्म पनि कुरा पुगेको छैन’, कार्की भन्छन्। मिश्र समूहसँग चारबुँदे सहमति गरिएको छ भने सात दिनभित्रै आधिकारिकताका लागि पठाउने सहमति छ।

एकताका प्रमुख बुँदाको दोस्रो नम्बरमा लेखिएको छ, ‘केन्द्रीय नेतृत्वमा केन्द्रीय सम्पादन समिति, पदाधिकारी तथा समितिमा तहगत समायोजन राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन तथा विवकेशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्रबीचको समझदारीअनुरूप एकता घोषणाको सातदेखि १० दिनभित्रमा हुनेछ’ भनेर लेखिएको छ। तर हालसम्म पनि आयोगमा अद्यावधिक नहुँदा मिश्र निकट नेताहरू आक्रोशित छन्। नेताहरूका अनुसार आफूहरूको नाम आयोगमा अद्यावधिक नगरिदिँदा एकतामा जोडिएका नेताहरू निष्क्रिय भएको एक नेताले जनाए।

‘जिल्लाजिल्लामा भएका कैयौँ नेताहरू समायोजनसमेत नगरिँदा उनीहरू पनि निष्क्रिय भएका छन्,’ मिश्र निकट एक नेताहरू बताउँछन्।

राप्रपाको सुरुमा निर्वाचित १९९ समितिबाहेक अन्य कुनै पनि केन्द्रीय सदस्यको नाम आयोगमा पुगेको छैन। जबकि तीन सय हाराहारीमा केन्द्रीय समिति बनिसकेको छ। मिश्र समूह लिङ्देनले नचाहँदा अद्यावधिक नभएको र आधिकारिकता नपाएको गुनासो गर्छ।

कति छन् राप्रपामा मिश्र निकट नेता?

एकताका बेला विवेकशील-साझाबाट राप्रपामा केन्द्रीय कार्य सम्पादन समितिमा सातजना, पदाधिकारीमा ६ र केन्द्रीय समितिमा ३१ जना समाहित गरिएको थियो। मिश्र समूहबाट अनुपमान सैँजु, शोभा शाक्य, निरूपमा यादव, कर्णबहादुर शाही, नारायण कोइराला, रवीन्द्र मिश्र, शरदराज पाठक समाहित भएका थिए।

त्यसबेला पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्रीमा शरदराज पाठक, सहमहामन्त्रीमा उज्वलकृष्ण श्रेष्ठ, अमृत पुडासैनी, हरिकृष्ण अधिकारी, सौरेन्द्रबहादुर शाह मनोनीत भएका छन्।

केन्द्रीय सदस्यहरूमा अर्जुनप्रसाद खनाल, हरिप्रसाद गौतम, उद्धवप्रसाद भेटवाल, घनबहादुर शाह, चोकराज घिमिरे, जयप्रकाश गुरागाईं, दीपकप्रसाद उप्रेती, मधुसूदन केसी, रञ्जन कार्की, रोशन शिवाकोटी, लक्ष्मणराज सिटौला, सुशील देवकोटा, दिनेश भण्डारी, माधव भण्डारी, पशुपति पाण्डे, शान्ता गिरी, एसके श्रेष्ठ, लक्ष्मी घिमिरे, वसन्ती ज्ञवाली, विना शाह, विपना शर्मा, सरस्वती पन्थी भुसाल, लक्ष्मी शाही, राजु बस्याल, वसन्त ब्लोन तामाङ, केशव खनाल, संगीता श्रेष्ठ, शशांकशमशेर थापा, सुशीला केसी अधिकारी, जगदीश पन्थी मनोनीत भएका थिए। उनीहरू कसैको पनि नाम आयोगमा नपठाइएको नेताहरूको गुनासो छ।

राप्रपा पुगेपछि विभाजित छ मिश्र समूह

एकातिर आधिकारिकता नपाएको समस्या त मिश्र समूहमा छँदै छ। मिश्र समूह विभाजित भएर समस्या बढेको छ। राप्रपामा झाँगिएको ध्रुवीकरणमा नेताहरू कोही लिङ्देन समूह निकट छन् भने कोही महामन्त्री धवलशमशेर राणा निकटस्थ छन्।

नेताहरूका अनुुसार राप्रपाभित्र ‘राम्रो जिम्मेवारी’ पाएकाहरू लिङ्देनसँग नजिकिएको बताएका छन्। नेता भने राणा निकटस्थ बनेका छन्। राप्रपामा लिङ्देन-राणाबीच अहिले तिक्तता बढ्दो छ। केही दिनअघि राणा समूहका नेता लिङ्देनले कारबाही गरेको भन्दै निर्वाचन आयोग पुगेका थिए।

मिश्र समूहका अनुुसार मिश्र समूहका उद्धवराज भेटवाल (आईटी विभाग, प्रमुख), वसन्त ब्लोन तामाङ (जनजाति विभाग, उपप्रमुख), निरूपमा यादव (केन्द्रीय निर्वाचन कमिटी, सदस्य), लक्ष्मी घिमिरे (वागमती प्रदेशसभा सदस्य), अमृत पुडासैनी (केन्द्रीय निर्वाचन कमिटी) लिङ्देन निकट रहेका छन्। यसबाहेक अन्य नेता राणा समूहमा छन्।

लिङ्देन निकट नेताहरू भने पछिल्लो समय यसबारे मौन छन्। उनीहरू पार्टीमा छलफल भएमात्रै बोल्न सक्ने बताउन थालेका छन्। ‘केही साथीहरू अहिले मिडियाबाजी गरिरहनुभएको छ। तर वास्तविकता नबुझी बाहिर बोल्न मिल्दैन’, एक नेता भन्छन्।

किन अद्यावधिक गर्दैनन् लिङ्देन?

लिङ्देनले मिश्र समूहलाई आधिकारिकता दिन नचाहनुको कारणबारे नेताहरू बोलेका छैनन्। संस्थापन समूह अल्पमतमा पर्ने भएकाले आयोगमा आधिकारिकता नदिएको अनुमान गरिएको छ। लिङ्देनमाथि राप्रपामा धवलशमशेर, प्रकाशचन्द्र लोहनी, कुन्ती शाही, विक्रम पाण्डेसहितका नेताहरू लागेका छन्।

‘उनीहरू आफ्ना नेता कारबाहीमा परेको भन्दै आयोग पुगिरहेका छन्,’ राप्रपाका एक पदाधिकारी भन्छन्, ‘लिङ्देनले मिश्र समूहलाई पनि आधिकारिकता दिँदा झनै दबाबमा परिने बुझेका छन्।’ राप्रपामा लिङ्देन अध्यक्ष बनेदेखि खटपट छ। एकै समूहबाट जितेका राणा र लिङ्देन जिताउने लागेका लोहनीसमेत विपक्षमा उभिएका छन्। लिङ्देन भने इतर समूहका नेतालाई कारबाही गरिरहेका छन्।

लिङ्देनले प्रवक्ताबाट सगुनसुन्दर लावती, उपाध्यक्ष र केन्द्रीयबाट मुकुन्दश्याम गिरी र अनुशासन समितिबाट नवराज सुवेदीलाई हटाएका छन्। यो विवादमा भने मिश्र मौन बसेका छन्। यसअघि राजावादी आन्दोलनमा भने मिश्र राणा र सुवेदीकै पक्षमा खुलेका थिए। मिश्रबाट ‘धोका’ हुन सक्ने बुझेका लिङ्देनले ‘बठ्याइँ’ गर्दै अद्यावधिकका लागि नपठाएको एक नेताले सुनाए।

लिङ्देननिकट स्रोत भने मिश्र समूहको नाम अद्यावधिकको प्रक्रियामा गएको बताउँछ। ‘उहाँ(मिश्र समूह)हरूले केही कुरा राख्नुभयो होला। तर हामीले प्रक्रियामा पठाएका छौँ। अब हुन्छ’, राप्रपा महामन्त्री एवम् सचिवालय प्रमुख राजेन्द्र गुरुङले हिमालप्रेससँग भने।

प्रकाशित: १२ साउन २०८२ २०:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast