
काठमाडौँ- २०४६ सालदेखि पार्टी नेतृत्वमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अझै पार्टी र सत्ता गठबन्धनमा निर्णायक छन्। चार दशकदेखि निरन्तर नेतृत्वमा रहेका उनलाई चुनौती दिने अनुहार देखिँदैन तर पार्टीभित्र पुस्तान्तरणको माग भने चर्किँदै गएको छ। पार्टीप्रति जनताको गिर्दो विश्वास, नेतृत्व व्यक्तिकेन्द्रित भएको आलोचना र नयाँ नेतृत्वको चाहनाबीच पनि प्रचण्ड तत्काल नेतृत्व छाड्ने पक्षमा देखिँदैनन्।
कुनै बेला प्रचण्डका प्रतिस्पर्धी ठानिएका मोहन वैद्य ‘किरण’ र डा. बाबुराम भट्टराई उहिल्यै किनारा लागिसकेका छन्। पार्टीभित्र नयाँ पुस्ताले नेतृत्व परिवर्तनको आवाज उठाउन थाले पनि प्रचण्डले त्यसलाई प्राथमिकता दिएका छैनन्।
एउटै व्यक्ति लामो समयसम्म नेतृत्वमा रहँदा पार्टीमा नेतृत्वको विकास हुन पाएको छैन। पार्टीमा लामो समयदेखि सक्रिय व्यक्तिले शीर्ष तहमा पुग्ने बाटो बन्द जस्तै छ। माओवादी नीति पनि बदलिएको छैन। प्रचण्डमै नेतृत्वमा रहिरहे माओवादीमा अब नयाँ केही हुने संकेत पनि देखिएको छैन।
माओवादीमा युवा पुस्ताले तत्काल चाहेर पनि नेतृत्व पाउने सम्भावना नरहेको नेताहरूको दाबी छ। अध्यक्ष प्रचण्डले गत बुधबार एक कार्यक्रममा भने, ‘म ३६ वर्षदेखि नेतृत्वमा छु, एकथरी मानिसलाई छटपटी हुन्छ।’ केही दिनअघि माओवादी उपमहासचिव जनार्दन शर्मासँगले नेतृत्व हस्तान्तरण गर्नुपर्ने कुरा उठाएका थिए। उनले शर्माको सोही अभिव्यक्तिलाई इंगित गर्दै ‘छटपटी भएको’ प्रतिक्रिया दिएका थिए।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको जन्मजयन्तीका अवसरमा प्रचण्डले झन्डै चार दशकदेखि पार्टी नेतृत्व गरेको मात्र बताएनन् तत्काल नेतृत्व नछाड्ने संकेत पनि गरे।
माओवादी स्रोतका अनुसार अब पनि प्रचण्ड नेतृत्व छाड्ने मनस्थितिमा छैनन्। प्रचण्डले नेतृत्व छाड्नुको साटो पार्टी महाधिवेशन सार्ने गृहकार्यमा जुटेको नेताहरू बताउँछन्। २०७८ सालमा आठौँँ महाधिवेशन गरेका प्रचण्डले तत्काल अर्को महाधिवेशन गर्ने बताएका थिए। चार वर्ष बित्न लाग्दा पनि अर्को महाधिवेशन तोकेका छैनन्।
७१ वर्षीय प्रचण्ड पार्टी नेतृत्वमा २०४६ सालदेखि निरन्तर छन्। २०४६ सालमा नेपाल कम्युनिस्ट पार्टी (मशाल) रहेको अवस्था सेक्टर काण्ड भएपछि नेतृत्वमा प्रचण्डको उदय भएको हो। २०४७ सालमा आमनिर्वाचन बिथोल्न तत्कालीन मशालले बनाएको रणनीतिलाई सेक्टर काण्ड भनेर चिनिन्छ।
वामपन्थी राजनीतिका जानकारहरूका अनुसार सेक्टर काण्ड कमजोर योजनाबाट बुनिएको थियो। त्यही कारण तत्कालीन महामन्त्री मोहन वैद्य ‘किरण’लाई कारबाहीस्वरूप एक पद घटुवा गरिएको थियो। किरण कारबाहीमा परेपछि प्रचण्ड महामन्त्री बनेका थिए। त्यसपछि प्रचण्ड सधैँ पहिलो छन्। रोचक कुरा के छ भने पार्टीको नाम परिवर्तन भएर भिन्नभिन्न भइसक्दा पनि नेतृत्वमा सधैँ प्रचण्ड छन्।
२०४६ सालको ‘मशाल’ २०५२ सालमा नेकपा माओवादी बनेको थियो। २०५२ सालदेखि २०६२ सम्म भएको माओवादी ‘जनयुद्ध’ को अगुवाइ प्रचण्डले गरेका थिए। २०६३ सालमा माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि नेकपा एकीकृत माओवादी बन्यो। तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुँदा दुई अध्यक्ष रहने व्यवस्था थियो। प्रचण्ड दुई वर्ष दोस्रो स्तरको अध्यक्ष र अर्को एक वर्ष कार्यकारी अध्यक्ष बनेका थिए।
२०७७ फागुनमा नेकपा विभाजित भएर नेकपा एमाले र माओवादीमा फर्किए। माओवादीमा फेरि अध्यक्ष प्रचण्ड बने। त्यसपछि माओवादीको आठौँ महाधिवेशनबाट फेरि अध्यक्ष बनेका छन्।
नेताहरूसँग प्रचण्ड उत्तराधिकारीको बारेमा सोध्दा ‘विरासत धान्ने नेतृत्व आए छाड्ने’ बताउँछन्। माओवादी नेताहरूका अनुसार प्रचण्ड दोस्रो पुस्तालाई उठ्न दिने पक्षमा छैनन्। उनी दोस्रो स्तरका नेताहरू एकआपसमा भिडाएर नेता बन्ने योजनामा छन्।
प्रचण्डले २०५२ देखि लगभग २० वर्ष मोहन वैद्य र डा. बाबुराम भट्टराईलाई एकआपसमा भिडाएका थिए। अहिले उनीहरू दुवै प्रचण्डसँग छैनन्। अहिले उपमहासचिवहरू वर्षमान पुन र जनार्दन शर्मालाई भिडन्त गराउने काम गरेको नेताहरू सुनाउँछन्।
किन नेतृत्व छाड्न चाहँदैनन् प्रचण्ड?
माओवादीमा प्रचण्डको ‘कुर्सी’ हल्लाउने नेता नभएका होइनन्। प्रचण्डलाई टकराव दिने पहिलो लहरमा जनार्दन शर्मा छन्। तर प्रचण्ड शर्माविरुद्ध भिडिरहेका छन्। नेताहरूका अनुसार शर्माविरुद्ध अन्य नेतालाई मोर्चाबद्ध बनाउने प्रयासमा प्रचण्ड छन्। प्रचण्डले दोस्रो स्तरका नेताहरूसमेत आफ्नो पक्षमा तान्न खोजेका छन्।
आफूमाथि घेराबन्दी गर्ने नेतालाई कमजोर बनाउन अन्य नेता आफ्नो पक्षमा खेल्न प्रचण्ड सिपालु छन्। माओवादीमा रहुन्जेल बाबुराम कहिल्यै पहिलो नेता बन्न सकेनन्। अन्ततः उनी माओवादी छाड्न बाध्य भए।
त्यसपछि नेतृत्वमा दबाब दिने जोकोही नेता पनि माओवादीमा टिक्न सकेनन्। अहिले फेरि माओवादीमा जनार्दन-प्रचण्ड टकराव बढेको छ। नेताहरू प्रचण्डले नेतृत्व छाड्न नहुने दाबी गर्छन्। माओवादीको ‘स्प्रिट’मा काम गर्न प्रचण्डबाहेकको नेताले नेतृत्व लिन नसक्ने उनीहरूको दाबी छ।
‘प्रचण्डकै कारण आजसम्म सबै उपलब्धि माओवादीले लियो। अब पनि प्रचण्डकै नेतृत्व आवश्यक छ’, माओवादी उपमहासचिव हरिबोल गजुरेल भन्छन्। सशस्त्र द्वन्द्वदेखि शान्तिपूर्ण राजनीति, संविधान निर्माणजस्ता काम प्रचण्डकै नेतृत्वमा भएकाले नेतृत्वको विकल्प नरहेको गजुरेलको दाबी छ।
प्रचण्डसमेत विभिन्न बहाना देखाउँदै नेतृत्व नछाड्ने बताउँछन्। माओवादी नेताहरू प्रचण्डको यो भनाइ व्यावहारिक नभई ‘कपटपूर्ण’ दाबी गर्छन्।
कहिलेसम्म बस्ने त पार्टी सत्तामा?
पार्टी नेतृत्वमा अविछिन्न रहेका प्रचण्ड तीन पटक प्रधानमन्त्री बनिसके। शान्तिपूर्ण राजनीतिमा आएपछि उनी २०६५ साउनदेखि २०६६ वैशाख २१ गतेसम्म पहिलो पटक, दोस्रो पटक २०७३ साउन १९ देखि २०७४ जेठ २३ गतेसम्म प्रधानमन्त्री बनेका थिए।
तेस्रो पटक उनी २०७९ पुस १० मा प्रधानमन्त्री बनेर १८ महिना सत्ता चलाए। अब पनि माओवादीबाट प्रधानमन्त्री बन्दा प्रचण्डकै नाम अघि आउँछ। उनी अब कति समय सत्ताको आकांक्षामा बस्लान्? माओवादी नेतासँगै यसको जबाफ छैन।
प्रचण्डले विगतमा उठाएका राजनीतिक मुद्दा कार्यान्वयन भइसकेको छ। अब प्रचण्डसँग नयाँ योजना देखिँदैन। न त उनको पार्टीले नै कुनै दूरदृष्टि राखेको देखिन्छ। अहिलेको निर्वाचन प्रणाली कायम रहेम्म प्रचण्ड नेतृत्वको दल पहिलो बन्न सक्दैन। त्यसैले उनी सत्ताको चाबी आफूसँग रहेको दाबी गर्न पछि पर्दैनन्।
राजनीतिक विश्लेषक पुरञ्जन आचार्य डरकै कारण प्रचण्डजस्ता नेताहरूले सत्ता छाड्न नसकेको बताउँछन्। ‘विगतमा गरेका कमजोरीले जेल जाने हो कि भन्ने डरले उनीहरू सत्तामा छन्,’ आचार्य भन्छन्।
नेताको उदय आन्दोलन, विद्रोह र क्रान्तिबाट हुन्छ। यस्ता नेताहरूले धेरै समय पद ओगट्नुचाहिँ लोकतन्त्रको मूल्यमान्यता अनुकूल नहुने जानकारहरू बताउँछन्। वामपन्थी विश्लेषक नरेन्द्रजंग पिटर प्रचण्ड तत्काल राज्य व्यवस्थामा नयाँ केही गर्न नसक्ने अवस्थामा रहँदा पनि पदमा बसिरहनु सान्दर्भिक नहुने बताउँछन्। ‘प्रचण्ड जे चाहन्थे। त्योअनुसारको परिवर्तन भएको छैन। तर उनी अझै पनि बदल्न चाहन्छन्। तर सम्भव देखिदैन,’ पिटर भन्छन्। नयाँ केही गर्न नसक्नु र पुरानो कामसमेत छाड्न नसक्दा विरोधाभासका बीच प्रचण्ड नेतृत्वमा रहिरहेको उनको भनाइ छ।
कसरी मिल्ला शर्मासँग विवाद?
माओवादीमा पछिल्लो समय प्रचण्ड-जनार्दन टकराव बढ्दो छ। जनार्दनले पार्टी बैठकमै फरक मत राखेर प्रचण्डका कमजोरी औँल्याएका छन्। प्रचण्डले आफूविरुद्ध खेल्न खोजेको र कतिपय नेताहरू ‘जनार्दनले पार्टी फुटाउँदै छ’ भनेर हल्ला गरिरहेको आरोप शर्माले लगाएका थिए।
पार्टीको गत महाधिवेशनमा शर्मा महासचिवको आकांक्षी थिए तर प्रचण्डले उपमहासचिवमा थमाए। माओवादी नेताहरू शर्मा पछिल्लो समय गुट निर्माणमा लागेको बताउँछन्। जनवर्गीय संगठनमा प्रचण्डविरुद्ध शर्माले उम्मेदवार उभ्याउने गरेका छन्।
शर्माले मंगलबार दिएको सार्वजनिक अभिव्यक्तिमा ‘पार्टीमा जनवाद समाप्त सकिएर केन्द्रीयतामात्रै बाँचेको’ बताउनुले पनि उनको अभिव्यक्ति नेतृत्वविरुद्ध रहेको स्पष्ट हुन्छ। शर्माको यही अभिव्यक्तिलाई प्रचण्डले आफ्नो नेतृत्वमाथि कटाक्ष गरेको बताएका थिए।
यसैगरी शर्माले पार्टीबारे सामाजिक सञ्जाल र सञ्चारमाध्यममा भइरहेको टीकाटिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। उनले सामाजिक सञ्चालमा भनेका छन्, ‘आफ्नो अनुकूल व्याख्या गर्नुभन्दा समग्र पक्ष अध्ययन गर्न सबैमा आग्रह गर्दछु।’
विश्लेषक पिटर शर्माका एजेन्डा गलत नभएको तर नियत बुझ्न नसकिएको सुनाउँछन्। ‘जनार्दनले विधि र प्रक्रियाका कुरा उठाएका छन्। यसलाई सही मान्न सकिन्छ तर कुन नियत हो भन्ने बुझ्न सकस छ’, पिटर थप्छन्, ‘नियतको मूल्यांकन गर्न सकिन्न। अब परिणामबाट मात्र जनार्दनको नियतको परिणामबारे बुझ्न सकिन्छ।’
अहिले माओवादीमा प्रचण्डले नेत्रविक्रम चन्द ‘विप्लव’लाई पनि भित्र्याउने प्रयत्नमा छन्। केही माओवादी नेताहरूले प्रचण्डले विप्लव भित्र्याएर कार्यकारी भूमिका दिन लागेको समेत सुनाउँछन्। पिटर विप्लव माओवादीमा प्रवेश गर्दा जनार्दनसहितका दोस्रो स्तरका नेताहरू गुमराहमा पर्ने विश्लेषण गर्छन्। ‘विप्लव महासचिव भए। आफू तेस्रो स्तरको नेता बन्न होइन्छ कि भन्ने जनार्दनलाई लागेको हुन सक्छ’, पिटर भन्छन्।