तारकेश्वरले गर्‍यो बालविकासदेखि नै शिक्षामा सुधार

हिमाल प्रेस १२ साउन २०८२ १६:५५
380
SHARES
तारकेश्वरले गर्‍यो बालविकासदेखि नै शिक्षामा सुधार

काठमाडौँ- तारकेश्वर नगरपालिकाले पछिल्ला दुई वर्षयता सामुदायिक विद्यालय सुधारमा उल्लेखनीय कामहरू गरेको छ। नगरभित्रका २२ वटा सामुदायिक विद्यालयलाई ६० वटा डिजिटल बोर्ड प्रदान गरेर पठनपाठनलाई प्रविधिमैत्री बनाइएको छ। नगर प्रमुख कृष्णहरि महर्जनले हस्तान्तरण गरेका डिजिटल बोर्डहरू विद्यालय शिक्षालाई स्मार्ट बनाउन महत्त्वपूर्ण मानिएको छ।

शिक्षामा पहुँच अभिवृद्धिको उद्देश्यले पनि विद्यालय बसको व्यवस्था गरिएको छ। आर्थिक वर्ष २०७९/८० मा जितपुर माविमा र आर्थिक वर्ष २०८०/८१ मा नागार्जुन ठुलागाउँ मावि तथा मनमैजु माविमा बस उपलब्ध गराइएको छ।

नगरपालिकाले प्रारम्भिक बाल विकास सहजकर्ताको क्षमता अभिवृद्धिका लागि रातो बंगला फाउण्डेशनसँग सम्झौता गरी तालिम सञ्चालन गरेको छ। यस्तै, महिला शिक्षकको व्यावसायिक क्षमता अभिवृद्धिका लागि पनि ‘उपप्रमुखसँग महिला शिक्षक अन्तरक्रिया कार्यक्रम’ सञ्चालन गरिएको थियो।

नगरकोटमा सम्पन्न उक्त कार्यक्रममा १७२ जना महिला शिक्षकको सक्रिय सहभागिता रह्यो। कार्यक्रममा अध्यापन शैली, विद्यार्थी व्यवहार, मनोसामाजिक पक्षलगायतका विषयमा विशेषज्ञले प्रशिक्षण दिएका थिए।

शैक्षिक अनुशासन र प्रभावकारी योजना निर्माणका लागि तारकेश्वर नगरपालिकाले विद्यार्थी डायरी र शैक्षिक क्यालेन्डर वितरण कार्यक्रम सुरु गरेको छ। नगरका सबै सामुदायिक विद्यालयमा यो अभ्यास सत्र २०८२ देखि लागू गरिएको हो।

राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा नगरपालिका क्षेत्रका उत्कृष्ट विद्यार्थीलाई सम्मानित गरिएको थियो। ४ जीपीए हासिल गर्ने ७ जना विद्यार्थीलाई नगद पुरस्कार, छात्रवृत्ति, ल्यापटप र प्रमाणपत्र प्रदान गरिएको छ।

विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोषणयुक्त भोजन उपलब्ध गराउने उद्देश्यले दिइँदै आएको रु. १५ को दिवा खाजामा नगरपालिकाले थप रु. १० सहयोग गर्दै हाल रु. २५ को खाजा उपलब्ध गराइरहेको छ। साथै, विद्यालयको सुरक्षा मजबुत बनाउने उद्देश्यले हरेक विद्यालयमा सुरक्षा गार्डको व्यवस्था गरिएको छ।

साथै, शिक्षकमैत्री वातावरण बनाउन नगरपालिका तहअनुसार शिक्षक अनुदान पनि प्रदान गरिरहेको छ। दरबन्दी अनुसार शिक्षक खटाएर शिक्षण व्यवस्थामा गुणस्तर सुधार गर्न सहयोग पुर्‍याइएको छ।

प्रकाशित: १२ साउन २०८२ १६:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast