अछामका सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति प्रक्रिया अघि बढाउन निर्देशन

हिमाल प्रेस १२ साउन २०८२ १५:१३
70
SHARES
अछामका सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति प्रक्रिया अघि बढाउन निर्देशन

अछाम- अछामका सामुदायिक विद्यालयमा प्रधानाध्यापकको पदमा पाँच बर्से कार्यकाल सकिएपछि समेत विधिवत् पुनः नियुक्ति नगरी निरन्तर सेवा दिइरहेको उजुरीहरू आएपछि शिक्षा विकास तथा समन्वय एकाइ, अछामले विद्यालयलाई आवश्यक प्रक्रिया पूरा गर्न निर्देशन दिएको छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरअन्तर्गतको शासकीय सुधार शाखाबाट प्राप्त साउन ७ गतेको पत्रका आधारमा उक्त निर्देशन जारी गरिएको हो।

केन्द्रमा दर्ता भएका उजुरीहरूमा कतिपय प्रधानाध्यापक सेवा अवधि सकिए पनि पुनः नियुक्ति प्रक्रिया नअपनाई पदमै रहेर कार्य गर्दै आएको उल्लेख गरिएको छ।

शिक्षा नियमावली, २०५९ (संशोधनसहित) को परिच्छेद १७, नियम ९३ अनुसार प्रधानाध्यापकको नियुक्ति अधिकतम पाँच बर्से कार्यकालका लागि गरिने र कार्यकाल सकिएपछि योग्यताको आधारमा पुनः नियुक्ति प्रक्रिया अपनाउनुपर्ने प्रावधान छ।

नियम पालना गराउन शिक्षा विकास तथा समन्वय एकाइ, अछामका निमित्त प्रमुखले जिल्लाका सम्पूर्ण सामुदायिक विद्यालयलाई पत्रमार्फत प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका छन्। साथै, नियुक्तिमा आवश्यक सहजीकरणका लागि जिल्लाका सबै स्थानीय तहको शिक्षा, युवा तथा खेलकुद शाखालाई समेत जानकारी गराइएको छ।

प्रकाशित: १२ साउन २०८२ १५:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast