
हुम्ला- हुम्लाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति प्रक्रियालाई अगाडि बढाउन शिक्षा विकास तथा समन्वय एकाइ, सिमकोटले निर्देशन दिएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्र भक्तपुरको पत्रका आधारमा उक्त निर्देशन जारी गरिएको हो।
विद्यालयमा पाँच वर्ष कार्यकाल सकिएपछि पुनः नियुक्ति प्रक्रिया नअपनाई प्रधानाध्यापक पदमा कार्यरत शिक्षकले निरन्तर सेवा दिइरहेको उल्लेख गरिएको छ। शिक्षा नियमावली, २०५९ (संशोधनसहित) को परिच्छेद १७, नियम ९३ अनुसार प्रधानाध्यापकको नियुक्ति एक कार्यकाल पाँच वर्षका लागि हुने व्यवस्था छ।
सेवा अवधि समाप्त भइसकेका प्रधानाध्यापकलाई नियमानुसार पुनः नियुक्ति नगरी निरन्तर कार्य गराइएको भन्दै उजुरीहरू परेपछि सम्बन्धित विद्यालयलाई कानुनी प्रक्रिया पालना गर्न आग्रह गरिएको हो।
शिक्षा विकास तथा समन्वय एकाइ हुम्लाका निमित्त प्रमुख योगेश आलेले सबै सामुदायिक विद्यालयलाई उक्त निर्देशन दिँदै सेवा अवधि समाप्त भएका प्रधानाध्यापकको नियुक्तिका लागि आवश्यक प्रक्रिया तत्काल अघि बढाउन अनुरोध गरेका छन्। यससँगै सबै स्थानीय तहको शिक्षा, युवा तथा खेलकुद शाखालाई उक्त प्रक्रियामा सहजीकरण गर्न बोधार्थ पठाइएको छ।