
चितवन- साउनको दोस्रो सोमबारको अवसरमा आज बिहानैदेखि चितवन, तनहुँ र नवलपरासी जिल्लाको संगमस्थल देवघाटधाममा श्रद्धालुको उल्लेखनीय भीड देखिएको छ।
गण्डकी, त्रिशूली र कालिगण्डकी नदीको संगमस्थलमा स्नान, पूजा तथा शिव मन्दिरमा जल चढाउने धार्मिक परम्पराअनुसार देशका विभिन्न स्थानबाट आएका भक्तजन बिहानैदेखि पूजाआजा र व्रतमा व्यस्त भएका छन्।
साउन सोमबारलाई भगवान् शिवको विशेष आराधनाका दिनको रूपमा मनाइने परम्परा छ। त्यसअनुसार, देवघाटमा आज ‘बोलबम मेला’ विशेष रूपमा उत्सवका रूपमा मनाइएको हो।
देवघाट क्षेत्र विकास समितिका सूचना अधिकारी पुष्पराज पौडेलका अनुसार साउन महिनाभरि भक्तजनको आगमनको तथ्यांक संकलन गरिँदै आएको छ। ‘चितवन र तनहुँ दुवैतर्फ कर्मचारी खटाएर बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म तथ्यांक लिने व्यवस्था गरिएको छ,’ पौडेलले भने, ‘तर अन्य समय पनि भक्तजन आउने भएकाले औसत विवरणमात्र प्राप्त हुन्छ।’
समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार यसवर्ष दुई लाखभन्दा बढी भक्तजन आउने अनुमान गरिएको छ। ‘बिहानैदेखि वर्षा भइरहे पनि भक्तजनको उपस्थिति बाक्लो छ,’ उनले भने,‘गत वर्ष बाढीपहिरोका बीच झण्डै दुई लाख भक्तजन आएका थिए, यसपटक त्योभन्दा बढ्ने अपेक्षा गरेका छौं।’
भक्तजनको सुरक्षाका लागि स्थानीय प्रशासन र क्षेत्र विकास समितिको सहकार्यमा ट्राफिक व्यवस्थापन, स्वास्थ्य सहायता तथा सुरक्षा व्यवस्था मिलाइएको छ। प्रहरी, स्वयंसेवक र प्राथमिक स्वास्थ्य टोली तैनाथ गरिएको कार्यकारी निर्देशक बरालले जानकारी दिए।
भक्तजनको आगमनसँगै देवघाट क्षेत्रमा चहलपहल बढेको छ। चितवन र तनहुँतर्फका किनारहरूमा फूलमाला, पूजा सामग्री, फलफूल तथा खाजाका पसलमा व्यापक भिड देखिएको छ।