
वीरगन्ज- कलैया उपमहानगरपालिका चालु आर्थिक वर्षदेखि यहाँका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न शिक्षकलाई केन्द्रमा राखेर योजनाबद्ध कार्यक्रम कार्यान्वयनमा लैजाने तयारीमा जुटेको छ।
गत वर्षको एसईईमा सामुदायिक विद्यालयको नतिजा कमजोर देखिएपछि उपमहानगरले पठनपाठन प्रणाली सुधार्ने र शिक्षक, विद्यार्थी तथा अभिभावकको सक्रिय सहभागितामा समग्र शैक्षिक वातावरण उकास्ने रणनीति लिएको हो।
वीरगन्जमा कारखाना समूहद्वारा आयोजित ‘शिक्षा नीति संवाद’ कार्यक्रममा उपमहानगर प्रमुख विनोदप्रसाद साहले विद्यालयको नतिजा सुधारका लागि शिक्षकको भूमिका केन्द्रीय हुने स्पष्ट पारे।
‘नतिजा कमजोर आयो भनेर सारा दोष शिक्षकलाई मात्र लगाउने प्रवृत्ति गलत हो। शिक्षक मात्र होइन, विद्यार्थी र अभिभावक पनि जिम्मेवार हुनु जरुरी छ। तर सुधारको नेतृत्व शिक्षकले नै लिनुपर्छ,’ प्रमुख साहले भने।
उनका अनुसार चालु शैक्षिक वर्षदेखि शिक्षकको सक्रियता, समयमै उपस्थितिको निगरानी, विषयगत दक्षता अभिवृद्धि, अभिभावकसँग नियमित समन्वय र विद्यार्थीको नियमित उपस्थिति सुनिश्चित गर्न विशेष कार्यक्रम अघि बढाइनेछ।
साहले उपमहानगरका अधिकांश माध्यमिक विद्यालयमा आवश्यक दरबन्दीअनुसार शिक्षक नहुनु शैक्षिक समस्याको मुख्य कारण रहेको बताए।
‘२० वटा माध्यमिक विद्यालयमध्ये धेरैमा मावि तहका शिक्षक दरबन्दीमा छैनन्। हामीले प्राथमिक स्तरका शिक्षक वा आन्तरिक स्रोतबाट अध्यापन गराउँदै आएका छौं,’ उनले भने।
शिक्षा महाशाखा प्रमुख राजिवकुमार यादवले उपमहानगरभित्र ७१ वटा सामुदायिक विद्यालय रहेको उल्लेख गर्दै दरबन्दीको अभावमा गुणस्तरीय शिक्षामा चुनौती आएको बताए।
शिक्षा समिति सदस्य महम्मद सगीरले गणित, विज्ञान, अंग्रजीजस्ता विषयमा शिक्षक नहुँदा सिकाइमा असर परेको बताए। उपप्रमुख रोशन प्रविणले विद्यालय सुधार शिक्षकको समर्पण र सबै पक्षको सहकार्यबाट मात्र सम्भव हुने बताए।
कार्यक्रममा कारखाना समूहका मधेश प्रदेश संयोजक निरजकुमार मिश्रले सामुदायिक विद्यालयको गुणस्तर बढाउन स्थानीय सरकारको नेतृत्वमा शिक्षक-अभिभावक-विद्यार्थी त्रिकोणीय साझेदारी आवश्यक रहेको बताए।