पोखरामा अवैध मुद्रा सटही कारोबार, तीन जना पक्राउ

हिमाल प्रेस ११ साउन २०८२ २०:४२
24
SHARES
पोखरामा अवैध मुद्रा सटही कारोबार, तीन जना पक्राउ

पोखरा- पोखरामा अवैधरूपमा विदेशी मुद्रा सटहीमा संलग्न रहेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गर्न सफल भएको छ। शनिबार प्रहरी अप्रेसनमा मनी चेन्जर र रेस्टुरेन्ट व्यवसायको आडमा कालोधन्दा चलाउने उनीहरू ठूला व्यापारीहरू रहेको खुलेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको हो। उनीहरूको साथबाट प्रहरीले १९ हजार ६ सय अमेरिकी डलर, ३ हजार २ सय यूरो र ४३ लाख ७३ हजार नेपाली रुपैयाँ बरामद गरेको छ। यसरी बरामदी रकम कुल ७५ लाख ९६ हजार रुपैयाँ हुन आउँछ।

पक्राउ पर्नेमा दमक-४, चिया दोकान स्थायी घर भई पोखरा लेकसाइडमा हिलारी मनी चेञ्जर सञ्चालन गर्दै आएका ४५ वर्षीय राजकुमार बुढाथोकी, पोखरा-१९, पुरनचौर घर भई लेकसाइडमा सगरमाथा मनी चेञ्जर सञ्चालन गर्दै आएका ४३ वर्षीय खेमराज पौडेल र रुपन्देही एवं कास्कीमा रेष्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका रुपन्देही सिद्धार्थनगर नगरपालिका–१३ का ४५ वर्षीय महुमुद्दिन एम अहमद रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाले मनी चेन्जर सञ्चालक राजकुमार र खेमराजले महुमुद्दिनलाई मोटो कमिसन लिएर डलर र युरो बिक्री गर्ने गरेको खुलेको बताए।

राष्ट्र बैंक ऐन, २०५८ ले विदेशी मुद्रा सटहीपछि बैंकमा जम्मा गर्नुपर्ने स्पष्ट नियम हुँदाहुँदै उनीहरूले गैरकानूनीरूपमा तेस्रो पक्षलाई मुद्रा बिक्री गरेर कालोधनको कारोबार गरिरहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

प्रहरीले घटनास्थलबाटै ठूलो परिमाणमा डलर, युरो र नेपाली रुपैयाँ बरामद गरेको भए पनि यस प्रकरणमा अरू पनि संलग्न हुन सक्ने प्रहरीले जनाएको छ। एसपी ओलियाले भने, ‘अनुसन्धानपछि अरू विषय पनि खुल्दै जालान्।’

उनीहरूले राष्ट्र बैंक ऐन, २०५८ को परिच्छेद ११ अन्तर्गत दफा ९५ विपरीतको कसूर गरेको उनले जनाए। पक्राउ परेका तीन जनालाई कास्की जिल्ला अदालतबाट अनुसन्धानका लागि ७ दिनको म्याद थप अनुमति लिइएको छ।

प्रकाशित: ११ साउन २०८२ २०:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast