
बुटवल- लुम्बिनी प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीका सांसद सन्तोष पाण्डे मन्त्री नियुक्त भएका छन्। मुख्यमन्त्री चेतनारायण आचार्यले उनलाई युवा तथा खेलकुद मन्त्री नियुक्त गरेका हुन्।
उनको शपथग्रहण सोमबार दिउँसो ३ बजे हुनेछ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पाण्डेलाई मन्त्री नियुक्त गरेको जानकारी इमेलमार्फत प्रदेश प्रमुखको कार्यालयलाई गराइसकेको आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले बताए।
पाण्डेको दल लोसपा प्रदेश सरकारको बजेटमाथि छलफल भइरहेका बेला एकाएक सरकारलाई समर्थन फिर्ता गरेकाे थियाे।
तीन सांसद रहेको लोसपामा उनी संसदीय दलका नेता थिए। ११ सदस्यीय मन्त्रिमण्डल रहेकोमा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री चेतनारायण आचार्यले नै सम्हालेका थिए।
वर्तमान मन्त्रिमण्डलमा मुख्यमन्त्रीसहित ५ जना मन्त्री एमालेबाट, ५ जना कांग्रेसबाट र जसपाबाट एक जना मन्त्री छन्।