नाउपा केन्द्रीय सदस्यहरूको बैठक : रञ्जितासँग स्पष्टीकरण सोध्ने निर्णय

हिमाल प्रेस ११ साउन २०८२ २०:१५
54
SHARES
नाउपा केन्द्रीय सदस्यहरूको बैठक : रञ्जितासँग स्पष्टीकरण सोध्ने निर्णय नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ। फाइल तस्बिर

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टी (नाउपा) का केन्द्रीय सदस्यहरूले अध्यक्ष रन्जिता श्रेष्ठलाई स्पष्टीकरण सोध्ने निर्णय गरेका छन्। आइतबार बसेको बहुमत केन्द्रीय सदस्यहरूको बैठकले अध्यक्ष श्रेष्ठसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

२४ घन्टाभित्र उनले स्पष्टीकरण नबुझाए पदबाट बर्खास्त गर्ने निर्णय भएको एक केन्द्रीय सदस्यले बताए। उनले भने,‘अध्यक्षसँग स्पष्टीकरण सोध्ने निर्णय भएको छ। २४ घन्टाभित्र उहाँले स्पष्टीकरण दिनु भएन अध्यक्ष पदबाट बर्खास्त गर्ने निर्णय छ।’

ती सदस्यले २४ घन्टाभित्र स्पष्टीकरण नदिए ३५ दिनभित्र पार्टीको राष्ट्रिय भेला बोलाएर अध्यक्ष श्रेष्ठलाई कारबाही गर्ने निर्णय भएको जानकारी दिए। उनले भने,’पटक-पटक पार्टीको बैठक बोलाउन भनिरहेका छौँ। एक वर्षदेखि उहाँले बैठक बोलाउन मान्नु भएको छैन। रूपन्देहीमा उपनिर्वाचन हुँदैछ, त्यसबारे पनि छलफल गर्नुपर्ने छ। अध्यक्षलाई मतलब छैन। मुख्य असन्तुष्टी यही हो। अब स्पष्टीकरण दिनु भएन भने पार्टीले उहाँलाई कारबाही गर्छ।’

पार्टीको राष्ट्रिय भेला जसरी पनि ३५ दिनभित्र बस्ने उनले बताए।

भेलामा पार्टीका २१ जना संस्थापक सदस्यमध्ये १३ जना उस्थित थिए। ‘बहुमत केन्द्रीय सदस्यहरूको भेलाले यो निर्णय गरेको हो। २१ जना संस्थापक सदस्य छौँ, जसमध्ये तीन जनाले राजीनामा दिइसक्नु भएको छ। अध्यक्षसहित १७ जना छौँ, १३ जना सदस्यहरूको बैठकले यो निर्णय गरेको हो,’ उनले भने।

२४ घन्टाभित्र केन्द्रीय समितिको बैठक बोलाउन आफूहरूले गरेको मागलाई अध्यक्ष श्रेष्ठले बेवास्ता गरेकपछि यस्तो निर्णय गर्नुपरेको उनले बताए।

यसअघि शुक्रबार मध्यबानेश्वरमा बसेको केन्द्रीय सदस्यहरूको भेलाले केन्द्रीय समिति बैठक बोलाउन अध्यक्ष श्रेष्ठलाई २४ घन्टे अल्टिमेटम दिएको थियो। २४ घन्टाभित्र बैठक नबोलाइए साउन ११ गते (आज) केन्द्रीय समिति बैठक बस्ने र आवश्यक निर्णय गर्ने भेलाले चेतावनी दिएको थियो।

अध्यक्ष श्रेष्ठले बैठक नबोलाएपछि केन्द्रीय सदस्यहरूले बैठक गरेर २४ घन्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। पोखराको जग्गासम्बन्धी घुस प्रकरणमा अध्यक्ष श्रेष्ठको समेत नाम मुछिएपछि नाउपाभित्र असन्तुष्टि चुलिएको छ। नाउपाका नेताहरूले यो प्रकरणबारे प्रस्ट पार्न नेतृत्वसँग माग गरेको छ।  यद्यपि अध्यक्ष श्रेष्ठले भने यो प्रकरणमा आफ्नो संलग्नता नभएको दाबी गरेकी छन्।

अध्यक्ष श्रेष्ठले आइतबारै आफूनिकट शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकी छन्। कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका बास्तोला पोखराका बासिन्दा हुन्।

श्रेष्ठले स्वास्थ्य अवस्था विगत केही दिनदेखि असहज रहेको र हालको अस्वस्थ्यताका कारण पार्टीको गतिविधिहरूमा पूर्णरूपमा सक्रिय हुन असमर्थ रहेको बताउँदै बास्तोलालाई कार्यवाहकको जिम्मेवारी दिएको बताएकी छन्। आफ्नो स्वास्थ्यमा सुधार नभएसम्म वा अर्को व्यवस्था नभएसम्म वास्तोलाले कार्यवाहक अध्यक्षको जिम्मेवारी वहन गर्ने उनले उल्लेख गरेकी छन्।

असन्तुष्ट केन्द्रीय सदस्यहरूले वास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय विधानविपरित रहेको दाबी गरेका छन्। ती सदस्यले भने,’बाहिरबाट मान्छे ल्याएर कार्यवाहकको जिम्मेवारी दिनुभएको छ। निर्वाचन आयोगले चिन्दै नचिनेको व्यक्ति कार्यवाहक तोकिएको छ। कार्यवाहक अध्यक्ष तोक्दा संस्थापक २१ जनाबाट दिनुपर्ने विधानको व्यवस्था छ।’

रञ्जिता पार्टी कामकाजबाट अलग, तोकिन् कार्यवाहक अध्यक्ष

प्रकाशित: ११ साउन २०८२ २०:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast