
काठमाडौँ- पार्टी सभापति शेरबहादुर देउवाप्रति असन्तुष्ट बनेका नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले लगातार वर्तमान सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै आएका छन्। सरकार गठनअघि एमालेसँग भएको सातबुँदे समझदारी कार्यान्वयनमा आउन नसकेपछि सभापति देउवाका साथै वर्तमान सरकार निरन्तर नेता कोइरालाको निशानमा परिरहेको छ।
कोइरालाले बारम्बार उठाउने प्रश्नहरू हुन्– सातबुँदे समझदारीमा समावेश गरिएका संविधान संशोधन, सुशासन, भ्रष्टाचार र बेथिति। सुशासनका मुद्दामा साथ दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सक्रिय राजनीतिमा आउने उद्घोष गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेर उनले आग्रहसमेत गरे।
प्रचण्ड र भण्डारीसँगको भेटलाई कतिपयले सत्तासमीकरण परिवर्तन गर्ने प्रयासको रूपमा अथ्र्याए पनि कोइरालानिकट नेताहरू भने यसलाई विशुद्ध रूपमा सुशासनप्रति सरकारको देखिएको अनुदारताविरूद्धको अभियान भनेर दाबी गरेका छन्।
पार्टी सभापति देउवा र सरकारलाई निरन्तर निशाना बनाइरहेका कोइराला पार्टीको १५ औँ महाधिवेशनको अभियानलाई समेत छोडेका छैनन्। र, आफ्नो समूहलाई बलियो बनाउन जुटेका छन्।
पछिल्लो समय पार्टी नेतृत्वविरूद्ध कस्सिएका कोइराला समूहको शनिबार महोत्तरीको बर्दिवासमा भेला सम्पन्न भयो। भेलाको सभापतित्व गरेका थिए चार दशकभन्दा बढी समय सभापति देउवा र पूर्वउपसभापति विमलेन्द्र निधिनिकट धनुषा कांग्रेसका पूर्वसभापति एवं प्रदेशसभा सदस्य रामसरोज यादवले।
रामसरोजले गुट परिवर्तन गरेको हल्लाहरू चलिरहेका बेला बर्दिवासको भेलालाई अध्यक्षता गरेपछि ती हल्लाहरूले आधिकारिकता पाएको छ। आफूले समूह परिवर्तन गरेको रामसरोजले पनि स्वीकार गरे।
रामसरोजले सभापति देउवाले बाटो बिराएपछि आफू बीपीको ‘लिगेसी’ बोकेको समूहमा आवद्ध भएको बताए। उनी भन्छन्,‘पार्टीमा विचलन आएको छ। केन्द्रदेखि प्रदेशसम्म भ्रष्टाचार मौलाएको छ। सभापति बाटो बिराउनु भएको छ। बीपीको विचार अगाडि बढाउन यता आएको छु।’
नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन हुँदा देउवा र निधिसँगै रामसरोज खम्बा बनेर उभिएका थिए। त्योबेला देउवाले उनलाई टीका लगाएर धनुषाको पार्टी सभापति बनाए। पछि पार्टी एकीकरण हुँदा पनि उनी नै जिल्लाको सभापति भइरहे। तर, रामसरोजले कांग्रेस सभापति देउवासँगको यात्रालाई विराम दिएर अब कोइराला समूहतिर लागेका छन्।
पार्टीको प्रदेश निर्वाचनमा देउवाले खेलेको भूमिकासँग पनि उनी रूष्ट बनेका छन्। सभापतिले तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई परिचालन गरेर आफूलाई प्रदेश सभापतिको चुनाव हराएको उनको आरोप छ।
‘मैले शेरबहादुरको साथ प्रदेश निर्वाचनकै बेला छोडिसकेँ। पार्टीको आन्तरिक निर्वाचनमा पनि घिनलाग्दो खेल खेलियो,’ उनी भन्छन्,‘गृहमन्त्री (बालकृष्ण खाँण) लाई जनकपुरमा बस्न लगाएर मलाई चुनावमा हराइयो। पार्टीभित्र पनि यस्तो राजनीति हुन्छ र?’
प्रदेश निर्वाचनमा पूर्वउपसभापति निधिका साथै कोइराला समूहले रामसरोजलाई साथ दिएका थिए। त्यसयता पनि उनी संस्थापनिकट भएरै काम गरिरहेका थिए।
समूह परिवर्तन गरेसँगै रामसरोजले सभापति देउवासँग मात्रै होइन पूर्वउपसभापति निधिसँगको सहयात्रालाई पनि विराम दिएका छन्। उनी भन्छन्,‘निधिजीसँग मेरो ४०–४२ वर्षको संगत छ। पार्टीको आन्तरिक राजनीतिमा त्यो सहकार्यमा अब विराम लागेको छ। हाम्रो धार नै फरक भइसक्यो। तर, आवधिक निर्वाचनमा हामी सँगै हुन्छौँ। उहाँलाई चुनाव जिताउन कुनै कसर बाँकी राखिँदैन।’
पूर्वउपसभापति निधि र रामसरोज धनुषाको एउटै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्य र प्रदेशसभामा चुनाव लड्दै आएका छन्।
कोइराला समूहमा प्रवेश गरेका रामसरोज कांग्रेस सहमहामन्त्री महेन्द्र यादवसँग पनि निकट मानिन्छन्। अनि सहमहामन्त्री यादव पूर्वगृहमन्त्री बालकृष्ण खाँणनिकटस्थ हुन्।
देउवा समूहबाटै सहमहामन्त्रीमा निर्वाचित भएका महेन्द्र पनि गुट परिवर्तन गर्न सक्ने आकलन भइरहेको छ। भुटानी शरणार्थी प्रकरणमा सभापति देउवासँग असन्तुष्ट बनेका खाँण नेता कोइरालासँग नजिकिएको कांग्रेस नेताहरूको भनाइ छ। खाँणले समूह परिवर्तन गरे सहमहामन्त्री महेन्द्र पनि उनीसँगै आउने निश्चित छ।
रामसरोज पनि भन्छन्,‘बालकृष्ण खाँण जता जानुहुन्छ, महेन्द्र पनि उतै बस्नु हुन्छ। बालकृष्ण पनि कोइराला समूहमै आउने सम्भावना बढी देखिन्छ।’
बर्दिवासको भेलामा रामसरोजको अध्यक्षतालाई केवल एउटा समूहको मात्रै नभई मधेश प्रदेशमा कांग्रेसभित्र शक्ति सन्तुलन फेर्ने रणनीतिको रूपमा हेरिएको छ। रामसरोजसँगै यसअघि देउवा समूहमा रहेका उनीनिकटहरू इतरसमूहमा आउने भएकाले मधेशमा संस्थापनलाई धक्का लाग्ने पक्का छ।
१५ औँ महाधिवेशनको तयारी, संघ, प्रदेश तथा स्थानीय तहको पार्टीसँग समन्वय, नेता–कार्यकताहरूमाथि भएको कारबाहीलगायतका विषयमा बोलाइएको भेलामा प्रदेशका आठवटै जिल्लाका कोइरालानिकट पार्टी सभापति, प्रदेश सांसद, प्रदेश मन्त्रीलगायतका नेता–कार्यकर्ताको सहभागिता रहेको थियो।
भेलाको प्रमुख आतिथ्य प्रथम राष्ट्रपति डा.रामवरण यादवका छोरा तथा संविधानसभा सदस्य डा.चन्द्रमोहन यादवले गरेका थिए। त्यस्तै संविधानसभा सदस्य दिनेश प्रसैला, प्रदेशका श्रम तथा यातायातमन्त्री कौशलकिशोर यादव, प्रदेश सांसद जिबछ यादव, श्याम पटेल, पर्साका पूर्वसभापति राजेन्द्रबाबु अमात्य, अजय द्विवेदी, लोहारपट्टी नगरपालिकाका मेयर शैलेन्द्र यादवलगायतका नेताहरू उपस्थित थिए।
संस्थापन पक्ष छोडेर कोइराला समूह प्रवेश गरेका रामसरोजलाई प्रदेश संयोजन गर्ने जिम्मेवारी दिइएको छ। यो निर्णयलाई गम्भीर रणनीतिक निर्णयको रूपमा हेरिएको छ। संयोजनको जिम्मेवारी पाएपछि लामो समयसम्म देउवासँग निकट रहेका रामसरोजले मधेश प्रदेशमा संस्थापन पक्षको शक्ति सन्तुलनलाई धक्का पुर्याउनसक्ने कांग्रेस नेताहरूको भनाइ छ।
बर्दिवास भेलाले पार्टीका साथै संघीय एवं प्रदेश सरकारको कार्यशैलीप्रति व्यापक असन्तुष्टि व्यक्त गर्दै इतर समूहबाट प्रदेश सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउन जोड दिएको छ। सरकार सञ्चालनदेखि बजेट वितरणमा एकलौटी भएको ठहर गरेको यो समूहले सरकारमा रहिरनुको अर्थ नरहेको तर्क गरेको छ।
‘संघदेखि प्रदेशसम्म भ्रष्टाचार मौलाएको छ, जबरजस्ती निर्णयहरू भइरहेका छन्,’ रामसरोज भन्छन्,‘यो बीपीको सिद्धान्त हुँदै होइन, शेरबहादुरजीले बीपीको लिगेसी छोडिसक्नुभयो। अब त्यहाँ बस्नुको अर्थ छैन।’ संघका साथै प्रदेश सरकारको औचित्यमाथि प्रश्नहरू खडा भइसकेका कारण भेलाले दुवै सरकार परिवर्तन गर्न माग गरेको उनले बताए।
सरकार र पार्टीको कार्यशैलीका सन्दर्भमा छलफल गर्न भेला बोलाइएको भनिए पनि १५ औँ महाधिवेशनमा नेता कोइरालालाई नेतृत्वमा ल्याउन मधेशबाट अभियानको संगठित सुरूवातको रूपमा हेरिएको छ।