
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा कहिले कसले जेल जानुपर्छ भन्न सकिने अवस्था नहुने बताएका छन्। पूर्वाग्रह र प्रतिशोधका कारण पनि जेल हालिने प्रवृत्ति रहेको भन्दै उनले यस्ता घटनाबाट राजनीतिमा गलत सन्देश जाने बताए। प्रधानमन्त्री ओलीले आइतबार बालुवाटारमा आयोजित बीपी कोईराला राष्ट्रिय पुरस्कार-२०८१ वितरण कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।
‘राजनीतिमा को कतिबेला जेल पर्छ भन्न सकिन्न,’ प्रधानमन्त्री ओलीले भने,‘कहिलेकाहीँ पूर्वाग्रह, प्रतिशोध वा मनोगत कारणले पनि जेल हालिन्छ।’ उनले दरबार हत्याकाण्डपछि ज्ञानेन्द्र शाहले शासन कब्जा गरे पनि नेताहरूमाथि प्रत्यक्ष प्रतिबन्ध नभए पनि जेल हाल्ने काम भएको स्मरण गरे। ‘त्यतिबेला दलहरूमाथि प्रतिबन्ध थिएन तर नेताहरूलाई जेल हालियो,’ उनले भने।
प्रधानमन्त्री ओलीले राजनीतिक रूपमा प्रतिशोधको भावना राखेर मुद्दा लगाउने र फसाउने कार्यहरू भइरहेकामा चिन्ता व्यक्त गरे। ‘सरकारी निकाय छाडेर, व्यक्तिगत रिसइवीका आधारमा पनि मुद्दा हाल्ने, फसाउने प्रवृत्ति देखिएको छ,’ उनले भने।
कार्यक्रममा प्रधानमन्त्री ओलीले बीपी कोरालाको व्यक्तित्व बहुआयामिक रहेको बताए। साहित्य, राजनीति, दर्शन र राष्ट्रियताको विषयमा बीपीको योगदान प्रेरणादायी रहेको भन्दै उनले विचार र मूल्यमा आधारित राजनीतिका पक्षधरहरूलाई बीपीको जीवनबाट सिक्नुपर्ने बताए।