संवैधानिक परिषद्‍मा बहुमतबाट निर्णय गर्नुपर्छ : कृष्ण सिटौला

हिमाल प्रेस ११ साउन २०८२ १२:१५
12
SHARES
संवैधानिक परिषद्‍मा बहुमतबाट निर्णय गर्नुपर्छ : कृष्ण सिटौला

काठमाडौँ- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संवैधानिक परिषद्को निर्णय प्रक्रियालाई प्रभावकारी बनाउन बहुमतले निर्णय गर्न सक्ने व्यवस्था गर्नुपर्ने बताएका छन्।

आइतबार काठमाडौँमा पत्रकारहरूसँग कुराकानी गर्दै सिटौलाले संवैधानिक परिषद्‍मा पहिलो चरणमा सर्वसम्मत प्रयास गरिए पनि दोस्रो चरणमा बहुमतले निर्णय गर्ने स्पष्ट प्रावधान आवश्यक भएको तर्क गरे।

‘पहिलोपटक परिषद्‌को बैठकमा सबै सदस्य उपस्थित भएर सर्वसम्मत निर्णय प्रयास गर्नुपर्छ,’ उनले भने, ‘तर दोस्रोपटक बैठक बस्दा बहुमतले निर्णय गर्न सक्ने प्रावधान चाहिन्छ।’

राष्ट्रपति रामचन्द्र पौडेलले बहुमतबाट निर्णय गर्न सक्ने व्यवस्थासहित संसद्बाट पारित भएको संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता गरेपछि सो विषयमा सिटौलाले आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

उनले संवैधानिक परिषद्‍मा कहिलेकाहीं सबै सदस्य उपस्थित नहुने अवस्था आउने भएकाले निर्णय प्रक्रियालाई अबरोध नहुने गरी प्रावधान बनाइनुपर्ने बताए। ‘उदाहरणका लागि, परिषद्का ६ सदस्यमध्ये कुनै बेला ३ मात्रै कायम रहे भने पनि निर्णय लिन सक्ने व्यवस्था आवश्यक छ,’ सिटौलाले भने।

उनका अनुसार परिषद्‍मा रहेका सदस्यहरूमध्ये बहुमत गणना बहाल रहेका सदस्यको आधारमा हुनुपर्छ। ‘६ जना बहाल छन् भने ४ को बहुमत चाहिन्छ तर ४ मात्र छन् भने ३ को बहुमत भए निर्णय गर्न सकिन्छ,’ उनले प्रस्ट्याए।

सिटौलाले प्रतिनिधिसभा भंग भएपछि प्रमुख प्रतिपक्षी दलका नेता, सभामुख वा उपसभामुख नहुने अवस्थामा पनि संवैधानिक परिषद्‌का निर्णय प्रक्रिया अघि बढाउनुपर्ने बताए। ‘निर्वाचन आयोगको अनुमति लिएर भए पनि निर्णय गर्नुपर्छ, पद रिक्त राख्नु हुँदैन,’ उनले भने।

प्रकाशित: ११ साउन २०८२ १२:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast