
काठमाडौँ- एकीकृत अखिल नेपाल शिक्षक संगठनले स्थापनाको तीन दशकपछि आफ्नै कार्यालय भवन निर्माण गरी सञ्चालनमा ल्याएको छ। संगठनका अध्यक्ष शंकर अधिकारीले यस उपलब्धिलाई संगठनको इतिहासमा ‘नयाँ आयाम सहितको ऐतिहासिक कार्यक्रम’ भनेका छन्।
संगठनको कार्यालय भवन निर्माण सम्पन्न भएको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष अधिकारीले संगठनका सम्पूर्ण शिक्षक तथा कर्मचारी सदस्यप्रति आभार व्यक्त गरे। ‘हाम्रा साथीहरूले आफ्ना आवश्यकताहरू कटौती गर्दै संगठनको गरिमा बढाउन योगदान गर्नुभएको छ,’ उनले भने।
कार्यक्रममा भवन निर्माणमा योगदान गर्ने प्रमुख व्यक्तित्वहरूको नाम उच्चारण गर्दै अध्यक्ष अधिकारीले विशेष धन्यवाद व्यक्त गरे। तत्कालीन संगठन इन्चार्ज तथा वर्तमान राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, बागमती प्रदेशका पूर्वमुख्यमन्त्री शालिकराम जमकटेल, पूर्वभौतिक योजनामन्त्री युवराज दुलाल, काठमाडौँ प्याब्सन, भक्तपुरका शिक्षाविद् दिनेश मैनाली, युनियन एजुकेसनका रमेशबाबु भट्टराई, शोफा हबका तारालाल धरेल, सहरी विकास कार्यालयका प्रमुख तथा इन्जिनियरहरू, डीपीआर निर्माणमा सहयोग गर्ने इन्जिनियर उत्तम अधिकारी लगायतप्रति उनले कृतज्ञता व्यक्त गरे।
संगठनका पदाधिकारी, सहित शिक्षक स्मृति केन्द्रका अध्यक्ष नानुमाया पराजुली, भवन निर्माण समिति संयोजक पूर्ण दवाडी, सल्लाहकार तथा मधेश क्षेत्रका नेता रामेश्वरप्रसाद यादव साथै प्रशासनिक व्यवस्थापनमा योगदान गर्ने राजन अम्गाई र मधव महरा को पनि प्रशंसा गरिएको थियो।
कार्यक्रममा अध्यक्ष अधिकारीले संगठनको आगामी योजनाहरू पनि स्पष्ट पारे। सहित शिक्षक स्मृति केन्द्रको विस्तार, सहकारीको सञ्चालन, आन्तरिक संगठनको मजबुती र शिक्षासम्बन्धी नीतिगत सुधारहरूलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै उनले भने, ‘हामी राष्ट्रिय महाधिवेशनको यात्रामा छौँ।’
उनले विद्यालय शिक्षा विधेयकसम्बन्धी शिक्षकहरूको चासोलाई पनि जोड दिएका थिए। ‘अस्थायी शिक्षकहरूको पीडा जस्ताको तस्तै छ भने स्थायी शिक्षकहरू पनि दुई दशकदेखि एउटै तहमा सीमित छन्,’ उनले भने, ‘ट्रेड युनियन अधिकार संकटमा छ। त्यसैले विद्यालय शिक्षा विधेयक पारित गर्नु अपरिहार्य छ।’
कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी थिए भने विशेष अतिथिमा देवन्द्र पौडेल, शालिकराम जमकटेल, युवराज दुलाल लगायत थिए।
कार्यक्रमको समापनमा अध्यक्ष अधिकारीले संगठनका इन्चार्ज लेखनाथ न्यौपानेलाई निरन्तर मार्गदर्शनका लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा संगठनले एकता र समाधानको नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरे।