रूपन्देही ३ : मतदाता निराश, पुराना दल पर्खँदै, नयाँ हौसिँदै

माओवादीमा छैन चर्चा, बालेन समूह, रास्वपा र स्वतन्त्रको तयारी तीव्र

विनोद परियार ११ साउन २०८२ ११:३८
102
SHARES
रूपन्देही ३ : मतदाता निराश, पुराना दल पर्खँदै, नयाँ हौसिँदै असार अन्तिम साता विराटनगरस्थित कोइराला निवासमा बालकृष्ण खाण।

बुटवल– रूपन्देही-३ को उपनिर्वाचन ठूला दलका लागि अग्निपरीक्षा हुने भएको छ। मूलतः नेपाली कांग्रेस र नेकपा एमालेका लागि यो निर्वाचन प्रतिष्ठाको विषय मात्रै बनेको छैन, २०८४ को प्रक्षेपणका रूपमा हेरिएकाले जित निकाल्न चुनौती बनेको छ।

चोकचौतारा र चियापसलमा रूपन्देही ३ को उपनिर्वाचनकै कुरा भइरहेको छ। पछिल्लो समय राजनीतिक दलहरूको व्यवहारका कारण मतदातामा निराशा देखिन्छ। रूपन्देही क्षेत्र न. ३ अन्तर्गत पर्ने सियारी गाउँपालिका अमुवाचोकमा होटलसमेत सञ्चालन गरेका गिरिराज फुयाल मुख्य पार्टीहरूले जनअपेक्षाअनुसार काम गर्न नसकेको बताउँछन्। ‘अब हामीले पुराना दलबाट केही हुन्छ भन्ने आस मारिसक्यौँ’, उनले भने, ‘उपनिर्वाचनमा यहाँका जनताले परिवर्तनका लागि मत दिन्छन्।’

उनले संविधान बनेपछि मुलुकले नयाँ फड्को मार्ने आस गरे पनि त्यसपछि भएका गतिविधिले अब मुलुक नबन्ने निचाडेमा पुगेको सुनाए। ‘ठूला दलको नेता भन्दैमा भोट दिने अवस्था छैन, मान्छे पनि हेर्छौँ’, उनले भने।

अहिले रूपन्देहीमा फुयालजस्तै निराश नागरिकले परम्परागत दलसँग वाक्क भएका छन्। आशाभन्दा निराशा र आक्रोशको मत कहाँ जान्छ, त्यसैले रूपन्देही ३ को मत विभाजित हुनेछ। जनतामा निराशा भइरहेकै बेला निर्वाचन आयोगले तय गरेको रूपन्देही ३ को उपनिर्वाचन आशा जगाउने संयन्त्र बन्ने अपेक्षा गरिएको छ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, रास्वपा, नेकपा एकीकृत समाजवादी, मधेशकेन्द्रित दल तथा स्वतन्त्र र बालेन समूहका तर्फबाट उम्मेदवारहरू आकांक्षी बनेका छन्।
निर्वाचन आयोगले कात्तिक १७ गते हुने उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको छ। २०८२ असोज २१ गते बिहान १० बजेदेखि बेलुका १७ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ।

साथै सोही दिन बेलुका १७ बजेदेखि १९ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन गर्ने सूचनामा उल्लेख छ। आयोगले कार्यतालिका सार्वजनिक भएपछि दलहरूमा उम्मेद्वार छनोटको दबाब परेको छ।

बालकृष्ण खाण कमब्याक हुने संकेत

रूपन्देही ३ को उपनिर्वाचन मुख्य रूपमा सत्ता साझेदार कांग्रेस र एमालेका लागि सबैभन्दा बढी प्रतिष्ठाको लडाइँ बनेको छ। सरकारको एक वर्ष जनस्तरमा त्यति सकारात्मक प्रभाव छैन। मन्त्रीहरू विवादित भए। जनतामा चरम निराशा छ। यस्तो बेलामा सत्ताका मुख्य दलहरूप्रति वितृष्णा बढेको स्वयं नेताहरूले महसुस गरेका छन्। तर पनि २०७९ को जनमतका आधारमा बलिया शक्ति कांग्रेस एमाले नै हुन्। यही आधारमा निर्वाचनको तयारीमा यी दलहरू जुटेका छन्।

२०७९ को निर्वाचनमा नेपाली कांग्रेसका प्रभावशाली नेता तथा तत्कालीन समयका बहालवाला गृहमन्त्री बालकृष्ण खाण राप्रपाका वरिष्ठ नेता दीपक बोहोरासँग पराजित भएका थिए। बोहोराको गत चैतमा मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो। यसर्थ निर्वाचनमा पराजय भोगेका कांग्रेस नेता बालकृष्ण खाणलाई कमब्याक गराउन कांग्रेसमा तिव्र लबिङ भइरहेको स्रोतको दाबी छ।

बोहोरालाई उतिबेला नेकपा एमालेले साथ दिएको थियो। यो पटक कांग्रेस एमाले गठबन्धन भएकाले खाणलाई २०७९ को गुन तिर्ने गरी उनलाई उठाउनेबारे शीर्ष नेताहरूबीच छलफल भइरहेको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणमाथि मुद्दा चलेकाले यो विषयमा नेताहरू ढुक्क हुन सकेका छैनन्। अदालतले धरौटीमा रिहा गरेकाले कानुनी रूपमा अड्चन नभए पनि खाण आफैँ नैतिक हिसाबले के गर्ने भन्ने अन्योलमा छन्। खाणको विगत ६ महिनायताको दौडधुप अनि पछिल्ला क्रियाकलाप भने निर्वाचन लड्ने संकेतका रूपमा बुझ्न सकिन्छ।

कांग्रेस पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्र मानिएका खाण एकाएक विराटनगरस्थित कोइराला निवासमा पुगेको समाचार बाहिरिएपछि कांग्रेस वृत्तमा खाणले गुट परिवर्तन गरेको चर्चा पनि छ। खाण गत साता (असार ३२) विराटनगरस्थित शेखर कोइराला निवास पुगेका थिए।

कोइराला निवासमा पत्रकारहरूले रूपन्देही ३ बाट उम्मेदवार हुने हो ? भन्दा उनले मुस्कुराउँदै ‘म अहिले मोरङमा छु’ भनेका थिए। यसमा उनले उम्मेदवार नहुने बताएनन्।

खाण कोइराला निवास पुगेको एक साता बित्दानबित्दै नेपाली कांग्रेसका पूर्वउपसभापतिहरूले सभापति शेरबहादुर देउवासँग रूपन्देही ३ को उपनिर्वाचनमा बालकृष्ण खाणलाई उम्मेदवार बनाउन सुझाव दिएका थिए। त्यति मात्रै होइन शुक्रबार मात्रै देउवा निवास बूढानीलकण्ठमा उपनिर्वाचनबारे छलफल भएको छ।

कांग्रेस रूपन्देही जिल्ला सभापति रामकृष्ण खाण, लुम्बिनी प्रदेश सभापति अम्मरसिंह पुन, केन्द्रीय सदस्य बालकृष्ण खाणले रूपन्देही ३ को अहिलेको वस्तुगत स्थितिबारे ब्रिफिङ गरेका थिए। नेता पुनले उपनिर्वाचनबारे पार्टी सभापतिसँग छलफल भएको बताए। ‘निर्वाचन क्षेत्रको वस्तुस्थिति, संगठनको अवस्था र निर्वाचनअघि नै पार्टी परिचालनबारे छलफल भयो’, सभापति पुनले भने। उनले पात्रका बारेमा भन्दा पनि अहिलेको अवस्था र चुनौतीबारे मात्रै छलफल भएको बताए।

जिल्लाका नेताहरू खाण उम्मेदवार हुने कि नहुने भन्ने अन्योलमा छन्। तर रूपन्देही ३ मा खाणले चाहेमा उनै उम्मेदवार हुनेमा दुईमत नरहेको कार्यकर्ताहरूको दाबी छ। ‘बालकृष्ण दाइले चाहनुभएमा उहाँ नै उम्मेदवार  हो’, कांग्रेस रूपन्देहीका एक पदाधिकारीले भने।

त्यसो त सत्ता साझेदार नेकपा एमालेभित्र भने पछिल्लो समय उम्मेदवार कसलाई बनाउने भन्नेबारेमा छलफल हुनै पाएको छैन। विधान अधिवेशन र पार्टीभित्र विद्या भण्डारीको राजनीतिक प्रवेशको घोषणापछि उत्पन्न राजनीतिक चर्चाका कारण उपनिर्वाचनबारे खास छलफल भएको छैन। यसअघि आफैँले उम्मेदवार घोषणा गरेका पोलिटब्युरो सदस्य खिमलाल भट्टराई पछिल्लो समय मौन बसेका छन्।

एमालेभित्र व्यवसायीसमेत रहेका शशि पौडेलको सक्रियता बढेको छ। मतदाताबाट सकारात्मक प्रतिक्रिया नपाएपछि भट्टराई पछि हटेको उनी निकट नेताहरू बताउँछन्। यद्यपि उनी उम्मेदवार हुने गरी लागि परेको बताइन्छ।

एमालेका अन्य आकांक्षीको लर्को नै छ। एमाले रूपन्देहीका अध्यक्ष यज्ञ गैरेले उम्मेदवार टुंग्याउन हतार नरहेको बताए। उनका अनुसार निर्वाचन क्षेत्रको वस्तुगत अवस्थाबारे अध्ययन गर्ने, भेटघाटका कार्यक्रम भइरहेका छन्। ‘आन्तरिक रूपमा तयारी भइरहेको छ। जनताले अपेक्षा गरेको उम्मेदवार पार्टीले उठाउँछ’, अध्यक्ष गैरेले भने।

नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल पनि उपनिर्वाचन लड्ने चर्चा छ। २०७४ सालमा स्व. दीपक बोहोरालाई यहि निर्वाचन क्षेत्रबाट पराजित गरेका भुसाल विपक्षीहरूको वाम साझा मोर्चाबाट उम्मेदवार बन्नका लागि दबाब परेको छ। यद्यपि उनी निकटहरूले भने भुसाल चुनाव लड्ने मुडमा नरहेको बताउँछन्।

भुसाल पनि अहिले गृहजिल्ला रूपन्देहीमा निर्वाचनको मुड बुझ्न आएका छन्। उनी रूपन्देहीमा पार्टी बैठक, आन्तरिक छलफलका लागि आएको नेकपा एकिकृत समाजवादी रूपन्देही इन्चार्ज नन्द बन्जाडेले बताए।

नेकपा एकीकृत समाजवादीबाट लुम्बिनी प्रदेश उपाध्यक्ष कमल भण्डारी आकांक्षी छन्। नेकपा माओवादी केन्द्रले साझा उम्मेद्वारको खोजी गरिरहेको छ।

बालेन समूहका गिरी छलफल र भेटघाटमा व्यस्त

दलहरू उम्मेदवार छनोटका लागि आन्तरिक तयारीमा व्यस्त छन्। स्वतन्त्र उम्मेदवारको तयारीमा रहेका बालेन टिमका सन्तोष गिरी भने निर्वाचन क्षेत्रका गाउँ घुम्न थालेका छन्। गिरीले यहाँका जनताको मनोभावनासँगै जनताको अपेक्षाबारे विभिन्न व्यक्तिहरूसँग जानकारी लिने काम गरेका छन्। तिलोत्तमा नगरपालिका-६ पश्चिम पहुनीका स्थायी बासिन्दा ३३ वर्षीय गिरी केही दिनदेखि निर्वाचन क्षेत्र लक्षित गरी बुद्धिजीवी, राजनीतिज्ञ, किसान एवं सर्वसाधारणलाई भेटघाट गरिरहेका छन्।

काठमाडौँ महानगरका मेयर बालेन शाह (बालेन्द्र) को सल्लाहकार टिममा रहेका गिरी स्वतन्त्र उम्मेदवार हुने तयारीका साथ उपनिर्वाचन केन्द्रित गरी भेटघाटमा व्यस्त भएका हुन्। उनी आफ्नो जन्मस्थान पनि रूपन्देही क्षेत्र नं. ३ मै पर्ने भएकाले स्थानीयको भावना र आवश्यकतालाई अझ नजिकबाट बुझ्न भेटघाटमा व्यस्त भएको बताउँछन्।

मतदातामाझ बालेन समूहका सन्तोष गिरी (दायाँबाट दोस्रा)।

निर्वाचन चुनावदेखि चुनावसम्मका लागि मात्रै हुन नहुने बताउँदै उनले आमनागरिकको अपेक्षा र आवश्यकताअनुसार काम गर्नुपर्नेमा जोड दिए। यही कुरालाई दृष्टिगत गरी गिरी ‘ग्राउन्ड रियालिटी’ बुझ्न भन्दै मतदाताका घरदैलौमा पुगेका छन्। गिरीले बुटवल, भैरहवा क्षेत्रका विभिन्न राजनीतिक, सामाजिक व्यक्तित्व, उद्योगी व्यवसायीसँग भेट गरेका हुन्।

निर्वाचन क्षेत्रअन्तर्गत मायादेवी, शुद्धोधन र सियारीका गाउँहरू पुगेर किसान, स्थानीय नागरिक एवं सामाजिक अगुवाहरूसँग भेटघाट गरेको गिरीले बताए। उनले वडातहसम्मै पुगेर भेटघाट र जनअपेक्षा बुझेका छन्। विद्यार्थी जीवनमा नेकपा एमाले निकटको अखिल राजनीतिबाट उदाएका गिरीले रूपन्देहीका जनताले परिवर्तन रोज्ने विश्वास गरेका छन्। कांग्रेस, एमाले लगायतका दलका नेताहरूले नै साथ दिने प्रतिबद्धता जनाउँदा गिरी उत्साही देखिएका छन्।

रास्वपाले माग्यो आवेदन

रूपन्देही ३ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अनलाइनमार्फत आवेदन लिइरहेको छ। कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि रास्वपाले साउन ७ गतेदेखि आवेदन खुलाएको हो। साउन ७ देखि २१ गतेसम्म उम्मेदवार हुन इच्छुक व्यक्तिले तोकेको मापदण्डअनुसार आवेदन दिन काम भइरहेको रास्वपा नेता मधु अर्यालले बताए।

आवेदन २१ गते बेलुका ५ बजेसम्म दिन सकिनेछ। रास्वपाले साउन २२ गते निवेदन दिएकाको नामावली प्रकाशन गर्ने, साउन २३ र २४ गते उम्मेदवारी उपर दाबी विरोध गर्ने, साउन २५ गते उम्मेदवारसँग छलफल गर्ने, साउन २६ गते प्रारम्भिक उम्मेदवारको नामावली प्रकाशन गर्ने, साउन २७ देखि भदौ ११ गतेसम्म लिडरसिप एकेडेमी, पोलिटिकल प्रोक्समिटर समावेशिताको मापन गर्ने, भदौ १२ र १३ गते प्रारम्भिक निर्वाचन गर्ने र भदौ १५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची बनाएको छ।

‘आवेदनपछि मात्रै उम्मेद्वारको टुंगो लाग्छ’, अर्यालले भने। उनले अहिले जिल्लाभर नै पार्टी सभापतीमाथि गरिएको राजनीतिक प्रतिशोधको हस्ताक्षर अभियान चलाइएको बताए। रूपन्देही क्षेत्र न. ३ मा मात्रै १४ हजार हस्ताक्षर भइसकेको उनको भनाइ छ।

रास्वपा सभापति रवि लामिछाने अहिले भैरहवा कारागारमा रहेको र यो क्षेत्रमै उपनिर्वाचन हुने भएकाले नेताहरूको चहलपहल बढेको छ। त्यसो त रास्वपा प्रदेश उपाध्यक्ष शालिकराम घिमिरे, प्रदेश सदस्य प्रकाश ज्ञवाली, क्षेत्रीय सभापति मधु अर्याल, अधिकारकर्मी ज्ञानु पौड्याल र बुटवलका चिकित्सक डा.योगेन्द्र अग्रहरी पनि उम्मेदवारका आकांक्षी हुन्।

राप्रपाबाट ६ जनाको नाम सिफारिस

राप्रपाका वरिष्ठ नेता दीपक बोहोराको निधन भएपछि रूपन्देही-३ मा उपनिर्वाचन हुन लागेको हो। २०७९ को निर्वाचनमा बोहोराले नेपाली कांग्रेसका नेता तथा तत्कालीन बहालवाला गृहमन्त्री खाणलाई पराजित गरेका थिए। निर्वाचनकै बेला बिरामी भएका बोहोराको २०८१ चैत १९ गते निधन भएको हो।

बोहोराले चुनाव जिते पनि एकपटक पनि स्वास्थ्य अवस्थाका कारण संसद्मा आफ्नो निर्वाचन क्षेत्रका विषयमा बोल्न पाएनन्। यो पटक राप्रपालाई आफ्नो विरासत जोगाउन ठूलो चुनौती छ। २०७९ मा बोहोरालाई नेकपा एमालेले साथ दिएको थियो। राप्रपा जिल्लाबाट ६ जनाको उम्मेदवारको नाम सिफारिस गरेको छ।

स्वतन्त्र र जनमोर्चाले टुंग्यायो उम्मेदवार, मधेशवादी छलफलमा

राजनीतिक दलहरूमा उम्मेदवारको टुंगो राष्ट्रिय जनमोर्चाले गरेको छ। जनमोर्चाका केन्द्रीय सल्लाहकार परिषद् सदस्य वामपन्थी नेता बद्रे आलमलाई उम्मेदवार बनाउने गरी तयारीमा जुटेको हो। नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले आलमलाई जिताउन अपिल गर्दै समर्थन समेत गरेका छन्। भैरहवा निवासी आलम इमानदार कम्युनिस्ट नेताका रूपमा परिचित छन्।

मधेशवादी दलहरू आन्तरिक छलफलमा छन्। विगतको निर्वाचनमा यस क्षेत्रमा जनमत पार्टी, नाउपा, लोसपा, जसपालगायतका दलहरूको मत राम्रै आएको थियो। नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट उम्मेदवार बन्न ६ जना आकांक्षी छन्।

उपचुनावका लागि धनीराम चौधरी, डा. सरोज सिंह चौधरी, नन्दा थापा चौधरी, विजयसिंह चौधरी र तुलसी चौधरी उम्मेदवारका प्रमुख दाबेदार हुन्। स्वयं रेशम चौधरीले पनि आफ्नै लागि विचार गरिरहेको नेताहरूको दाबी छ।

स्वतन्त्र उम्मेदवारी घोषणा गरेका किरण विक, लेखनाथ गैरे र अजयकुमार गुप्ता।

स्वतन्त्र तीनजनाले घोषणा गरे उम्मेदवारी

रूपन्देही ३ को उपनिर्वाचनका लागि स्वतन्त्र उम्मेदवारको पनि घोषणा हुने क्रम जारी छ। काठमाडौँमा पत्रकार सम्मेलन गरी बुटवलका किरण विकले निर्दलीय उम्मेद्वारी घोषणा गरेका छन्। यस्तै भैरहवाका अजयकुमार गुप्ता र बुटवल मोतीपुरका लेखनाथ गैरे उम्मेदवारी घोषणा गरेर चुनावी अभियानमा सामेल भएका छन्। विक र गैरे एमाले पृष्ठभूमिका युवा हुन् भने गुप्ता राप्रपाका स्थानीय नेता हुन्।

मतदाता कति छन्?

दक्षिणदेखि उत्तरसम्म फैलिएको रूपन्देही-३ मा १ लाख ३९ हजार ७६४ मतदाता छन्। २०७९ सालको चुनावमा रूपन्देही- ३ मा कांग्रेसको समानुपातिक मत धेरै छ। कांग्रेसले २० हजार २७८ मत ल्याउँदा एमालेले १६ हजार ९८६ मत ल्याएको थियो। यहाँबाट रास्वपाको १४ हजार १५४ मत आएको थियो। राप्रपाले भने नौ हजार १८३ मत पाएको थियो।

समानुपातिकतर्फ नागरिक उन्मुक्ति पार्टीले ६ हजार र जनता समाजवादी पार्टी (जसपा) ले पाँच हजार मत ल्याएका थिए। लोसपाले पाँच हजार, जनमत पार्टीले तीन हजार ७००, माओवादी केन्द्रले दुई हजार ६०० सय, जनमुक्ति पार्टीले उक हजार ९००, हाम्रो नेपाली पार्टी (लौरो) ले एक हजार ३४७ र नेकपा एकीकृत समाजवादीले ७८१ मत पाएका थिए।

रूपन्देही-३  :  खाणको कमब्याकदेखि रास्वपा-राप्रपाबाट नयाँ अनुहारको चर्चा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast