
काठमाडौँ- बाँस र अन्य कच्चा पदार्थ सरकारी कार्यालयमा प्रयोग गर्न माग राख्दै दिक्तेल रुपाकोट मझुवागडी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले माइतीघरमा ‘भोक हड्ताल’ थालेका छन्। उनले स्थानीय स्रोत साधनको प्रयोग बढाउनुपर्ने र विदेशी सामग्री निर्यात बन्द गर्नुपर्ने माग राख्दै भोक हड्ताल थालेका हुन्।
उनले जलवायु परिवर्तनको असरलाई जोगाउन सरकारले ठोस कानून बनाउँदै प्रदूषण धेरै गर्ने अरू देशसँग क्षतिपूर्ति लिने, बाँस र अन्य कच्चा पदार्थ सरकारी कार्यालयमा प्रयोग गर्न विल्डिङ कोड र नम्स तयार गरी कानून निर्माण गरिदिने माग राखेका छन्।
प्लास्टिकजन्य फोहोर उत्पादन गरी प्रदूषण गर्ने उद्योगीसँग स्थानीय तहले अतिरिक्त १० प्रतिशत कर लिन पाउने कानून बनाउनुपर्ने, जथाभाबी प्रकृतिको दोहन गर्ने क्रसर, उद्योग लगायतलाई कडाइकासाथ रोकी कडा कानून बनाई कारबाही गरिनुपर्ने माग छन्।
पहिलो चरणमा वन र उद्योग मन्त्रालय र मातहतका सबै निकायले फर्निचर खरिद गर्दा बोस, काठ, राडी पाठी, वातावरण र पर्यावरण मैत्री फर्निचर र भवन संरचना बनाउने नीतिगत निर्णय गर्नुपर्ने, विशेषतः काठमाडौबाट खोटाङ जाँदा बाटोमा परेका पुल, सडक र संरचना अलपत्र पार्नेलाई कडा कानुनी कारबाही गरि तत्काल निर्माणको काम सुरु गरिनुपर्ने, पहाडी भूभागमा बाँदर तथा वन्यजन्तुको आतंकबाट बसाइँसराइको दर बढेको हुँदा तत्काल नीतिगत निर्णय निर्णय गरी क्षतिपूर्ति तथा बाँदर व्यवस्थापन गर्नुपर्ने माग छन्। उनलाई सहयोगीका रूपमा खोटाङकै समाजसेवी शम्भु घिमिरेले जानकारी दिए।