
विश्वभरिका किसानका लागि खडेरी एक प्रमुख चुनौतीको रूपमा रहँदै आएको छ, जसले बाली उत्पादनमा निकै गिरावट ल्याउँछ । सिञ्चित कृषिमा पानीको बढ्दो खपत र वाष्पीकरण (evaporation) तथा सतही बहाव (runoff) जस्ता अनुत्पादक क्षतिका कारण पानीको अझ बढी कुशल प्रयोग गर्ने बाली प्रणालीको विकास गर्नु आजको प्रमुख आवश्यकता बनेको छ। यही सन्दर्भमा अस्ट्रियाका वैज्ञानिक गेर्नोट बोड्नर र उनका सहकर्मीले गरेको एक विस्तृत समीक्षात्मक अध्ययनले खडेरी व्यवस्थापनका लागि विश्वव्यापी रूपमा अपनाइएका विधिको विश्लेषण गर्दै भविष्यको बाटो देखाएको छ। अध्ययनले विशेष गरी नेपालको तराई जस्ता मनसुनी वर्षामा निर्भर कृषि प्रणालीका लागि महत्त्वपूर्ण अन्तर्दृष्टि प्रदान गरेको छ।
अध्ययनको मुख्य निष्कर्ष छ- खडेरीसँग जुध्नका लागि कुनै एउटै ‘रामवाण’ उपाय छैन। सबैभन्दा प्रभावकारी उपाय छनोट गर्नका लागि त्यस क्षेत्रको विशिष्ट जल-विज्ञान (hydrology) र खडेरीको प्रकृतिलाई बुझ्नु अनिवार्य हुन्छ।
मूल समस्या : पानीको अनुत्पादक क्षति
किसानले प्रायः आफ्नो खेतमा पर्याप्त पानी नभएको गुनासो गर्छन्, तर यो अध्ययनले समस्या पानीको कमी मात्र होइन, बरु परेको पानीको अनुचित प्रयोग र ठूलो मात्रामा हुने क्षतिलाई इंगित गरेको छ। अर्ध-सुख्खा उपसहारा अफ्रिकामा भएको एक अध्ययनअनुसार हाल भइरहेको सतही बहाव र वाष्पीकरणको क्षतिलाई मात्र घटाउन सकियो भने पनि बाली उत्पादन दोब्बर बनाउन सकिन्छ। अनुत्पादक पानीको क्षतिमा मुख्यतया तीन कुराहरू पर्दछन् :
१. वाष्पीकरण (Evaporation) : खेतको सतहबाट सोझै पानी उडेर जाने प्रक्रिया। यो कृषि-पारिस्थितिक प्रणालीमा हुने कुल पानी क्षतिको ३५ प्रतिशतसम्म हुन सक्छ।
२. सतही बहाव (Runoff) : वर्षाको पानी माटोले सोस्न नपाउँदै बगेर जाने प्रक्रिया।
३. निकास (Drainage) : पानी बिरुवाको जराभन्दा तल गएर भूमिगत पानीमा मिसिने प्रक्रिया।
कम भण्डारण क्षमता भएको माटोमा वर्षाको पानीको ४०-५०प्रतिशत हिस्सा बहाव र निकासबाटै खेर जान सक्छ। अध्ययनले खडेरी र पानी व्यवस्थापनको दृष्टिकोणले विश्वका कृषि प्रणालीलाई मुख्य तीन प्रकारमा बाँडेको छ, जुन बुझ्नु नेपालका लागि सान्दर्भिक छ :
• आपूर्ति-सञ्चालित प्रणाली (Supply-driven systems) : यहाँ बालीको बढ्दो मौसममा नै वर्षा हुन्छ । यस्ता ठाउँमा मुख्य समस्या वर्षायाममा हुने निकास (drainage) हो, विशेष गरी हल्का माटोमा।
• भण्डारण-सञ्चालित प्रणाली (Storage-driven systems) : यहाँ बालीले आफ्नो वृद्धि-विकासका लागि पहिले नै परेर माटोमा भण्डारण भएको पानीमा निर्भर रहनुपर्छ, जस्तै भूमध्यसागरीय क्षेत्र। यहाँ माटोको सतहबाट हुने वाष्पीकरण मुख्य क्षति हो।
• अवशेष-नमी प्रणाली (Residual moisture regimes) : यो उष्णकटिबन्धीय क्षेत्रमा पाइन्छ, जहाँ छोटो तर तीव्र वर्षायामपछि लामो सुख्खा मौसम हुन्छ। यो नेपालको मनसुनपछिको अवस्थासँग मिल्दोजुल्दो छ। यस्तो प्रणालीमा, तीव्र वर्षाको समयमा हुने अत्यधिक सतही बहाव (runoff) र पछि हुने वाष्पीकरण मुख्य समस्या हुन्।
खडेरीविरुद्ध बिरुवाको प्रतिरक्षा रणनीति
अध्ययनले बिरुवाले खडेरीसामना गर्न मुख्य तीन रणनीतिहरू अपनाउने कुरालाई स्पष्ट पारेको छ :
१. खडेरीबाट उम्कने (Drought Escape) : आफ्नो जीवनचक्र खडेरीको सबैभन्दा कठोर अवधि सुरु हुनुभन्दा पहिले नै पूरा गर्ने। छिटो पाक्ने जातका बालीहरू यसका उदाहरण हुन्। यो रणनीति विशेषगरी भण्डारण-सञ्चालित र अवशेष-नमी प्रणालीमा प्रभावकारी हुन्छ।
२. सुख्खापनबाट जोगिने (Drought Avoidance) : यो दुई तरिकाले हुन्छ :
-पानी बचत गर्ने (Water Savers) : पातमा भएका स-साना छिद्र (stomata) बन्द गरेर वा पात बटारेर पानीको खपत घटाउने।
– पानी खर्च गर्ने (Water Spenders) : माटोमा गहिरो जरा फैलाएर बढीभन्दा बढी पानी सोस्ने प्रयास गर्ने। यसले बिरुवालाई सुख्खा समयमा पनि वृद्धि कायम राख्न मद्दत गर्दछ।
३. सुख्खापन सहने (Drought Tolerance) : आफ्नो तन्तुहरूमा पानीको मात्रा कम हुँदा पनि शारीरिक क्रियाहरूलाई निरन्तरता दिने क्षमता। यो गुण कृषि बालीहरूभन्दा जंगली वनस्पतिका लागि बढी सान्दर्भिक छ, किनभने यसले उच्च उत्पादनसँग मेल नखान सक्छ।
खडेरी व्यवस्थापनका लागि प्रभावकारी उपाय
अध्ययनले खडेरी व्यवस्थापनका उपायहरूलाई अल्पकालीन र दीर्घकालीन गरी दुई भागमा बाँडेको छ।
अल्पकालीन उपाय
• छापो व्यवस्थापन (Mulching) : खेतको सतहलाई बालीको अवशेष वा अन्य वस्तुले ढाक्नुलाई छापो भनिन्छ। यसले वाष्पीकरण र सतही बहाव दुवैलाई रोक्न अत्यन्त प्रभावकारी भूमिका खेल्छ। प्रभावकारी हुनका लागि कम्तीमा ५० प्रतिशतदेखि ८०प्रतिशत सतह ढाकिएको हुनुपर्छ। उष्णकटिबन्धीय सुख्खा क्षेत्रमा छापोले वाष्पीकरण २८ प्रतिशतसम्म घटाउन सक्छ।
• छर्ने समयको समायोजन (Early Sowing) : बाली छर्ने समयलाई मिलाएर खडेरीको सबैभन्दा खराब चरणबाट बच्न सकिन्छ। विशेषगरी, ढिलो खडेरी (terminal drought) को समस्या भएका क्षेत्ररूमा चाँडै बाली छर्दा उत्पादनमा उल्लेख्य वृद्धि हुन सक्छ। यसले फूल फुल्ने र दाना लाग्ने जस्ता संवेदनशील चरणहरूलाई पर्याप्त पानी उपलब्ध भएको समयमा पार्न मद्दत गर्छ।
• बिरुवाको घनत्व समायोजन (Reduced Stand Density) : खेतमा बिरुवाको संख्या घटाउँदा प्रतिबिरुवा पानीको उपलब्धता बढ्छ। यो रणनीति विशेषगरी मध्यम खालको अन्तिम खडेरी (intermediate terminal stress) को अवस्थामा बढी प्रभावकारी देखिन्छ। यद्यपि, धेरै पातलो बालीले वाष्पीकरण बढाउने र सूर्यको प्रकाशको पूर्ण उपयोग गर्न नसक्ने जोखिम पनि हुन्छ।
दीर्घकालीन उपायहरू
• जोताइ प्रणालीमा सुधार (Tillage Systems) : परम्परागत जोताईको सट्टा संरक्षणमुखी जोताइ (conservation tillage) वा शून्य जोताइ (no-tillage) प्रणाली अपनाउँदा माटोको संरचनामा सुधार हुन्छ। यस्ता प्रणालीले माटोमा पानी भण्डारण गर्ने स-साना छिद्रहरूको मात्रा बढाउँछ र माटोको सतहलाई छापोले ढाकेर पानीको क्षति कम गर्छ।
• जैविक पदार्थको प्रयोग (Organic Matter Input) : माटोमा जैविक पदार्थ (गोबर मल, हरियो मल, बाली अवशेष) को मात्रा बढाउँदा यसको पानी सोस्ने र भण्डारण गर्ने क्षमतामा वृद्धि हुन्छ। यसले माटोको संरचनालाई स्थिर बनाउँछ र खडेरी सहन सक्ने क्षमता बढाउँछ। विशेषगरी कोसेबाली (legumes) हरूलाई बालीचक्रमा समावेश गर्दा माटोको स्वास्थ्य र जल धारण क्षमतामा उल्लेख्य सुधार आएको पाइएको छ।
• नयाँ जातको विकास (Breeding for Resistance) :
-विगतका उपलब्धिहरू : विगतमा बाली प्रजनन कार्यक्रमहरूले होचो बोट (semi-dwarfism), बढी उत्पादन सूचकांक (harvest index) र छिटो पाक्ने (early maturity) जस्ता गुणहरूमा ध्यान केन्द्रित गरे, जसले उत्पादन बढाउन मद्दत गर्यो।
भविष्यको दिशा – जरा प्रणालीमा ध्यान
अध्ययनले सबैभन्दा जोड दिएको क्षेत्र भनेको बिरुवाको जरा प्रणाली हो। बाली प्रजननमा जराका गुणमाथि अझै पनि पर्याप्त ध्यान दिइएको छैन, जुन खडेरी प्रतिरोधका लागि अत्यन्तै महत्त्वपूर्ण छ। गहिरो र बाक्लो जरा प्रणाली भएका जातले सुख्खा मौसममा माटोको तल्लो तहबाट पानी तानेर उत्पादन बढाउन सक्छन्। ‘बायोड्रिलिङ’ (Biodrilling) अर्थात् विशेष प्रकारका बिरुवाहरू (primer plants) लगाएर माटोको कडा तहलाई छेडेर पछिल्लो बालीका लागि बाटो बनाउने अवधारणा पनि एक नवीन उपायको रूपमा अगाडि आएको छ।
नेपालको तराईका लागि निष्कर्ष
यो अन्तर्राष्ट्रिय अध्ययनले नेपालको तराई क्षेत्रका लागि महत्तत्वपूर्ण पाठ प्रदान गर्दछ। तराईको कृषि प्रणालीमा ‘आपूर्ति-सञ्चालित’ (मनसुनको समय) र ‘अवशेष-नमी’ (मनसुनपछिको समय) दुवैका विशेषताहरू पाइन्छन्। तसर्थ, यहाँ मिश्रित रणनीति आवश्यक छ :
मनसुन अवधिमा : मुख्य लक्ष्य भनेको वर्षाको पानीलाई सकेसम्म धेरै माटोमा सोसाउने र भण्डारण गर्ने हुनुपर्छ। यसका लागि, सतही बहाव (runoff) लाई रोक्न शून्य जोताई र छापो (mulching) जस्ता उपायहरू अत्यन्त प्रभावकारी हुन्छन्। यसले मनसुनको पानीलाई भूमिगत जल पुनर्भरण गर्न र पछिल्लो बालीका लागि भण्डारण गर्न मद्दत गर्दछ।
मनसुनपछि : यो समयमा बालीहरू पूर्ण रूपमा माटोमा भण्डारित पानीमा निर्भर हुन्छन्। त्यसैले, पानी बचत गर्ने (water-saving) बालीहरू (जस्तै कोदो, जुनेलो) र गहिरो जरा प्रणाली भएका (deep-rooting) बालीका जातहरू छनोट गर्नु बुद्धिमानी हुन्छ, जसले माटोको तल्लो तहमा रहेको पानी उपयोग गर्न सक्छन्।
अन्तमा, यो अध्ययनले स्पष्ट पार्छ कि खडेरीको समस्यालाई परम्परागत सोचबाट मात्र समाधान गर्न सकिँदैन। यसका लागि वैज्ञानिक प्रमाणमा आधारित, स्थान-विशेष र एकीकृत दृष्टिकोण अपनाउनु आवश्यक छ। पानीको प्रत्येक थोपाको महत्व बुझ्दै, माटोको स्वास्थ्य सुधार गर्ने र विशेषगरी बिरुवाको “लुकेको आधा भाग” अर्थात् जरा प्रणालीको क्षमतालाई उपयोग गर्नेतर्फ हाम्रा नीति, अनुसन्धान र कृषि अभ्यासहरू केन्द्रित हुनुपर्दछ। यसो गर्न सके मात्र हामी जलवायु परिवर्तनको बढ्दो चुनौतीबीच दिगो कृषि र खाद्य सुरक्षा सुनिश्चित गर्न सफल हुनेछौँ।
[कृषिविज्ञानमा स्नातकोत्तर खनाल कृषिसँग सम्बन्धित विभिन्न परियोजनामा कार्यरत छन्।]