
वीरगञ्ज – प्रधानमन्त्री केपी शर्मा ओलीले देश चौतर्फी रूपमा विकासको गतिमा अगाडि बढिरहेको बताएका छन्।
बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले विगत १० वर्षमा मुलुकमा धेरै खालका विकास र पूर्वाधार निर्माणको काम भएको बताए।
‘आज देश चौतर्फी रूपमा अगाडि बढिरहेको छ। पछिल्लो समय भवन, सडक, पुल लगायतका संरचना निर्माण द्रूत गतिमा भइरहेका छन्,’ उनले भने, ‘पछिल्लो समय मुलुक विद्युतीकरण, सञ्चार, कृषि पूर्वाधारका निम्ति तयार पारिएका सिँचाइ आयोजनाका पनि धेरै खालका पूर्वाधार तयार भइसकेका छन्। खानेपानीको आयोजनाको सन्दर्भमा मुलुकभरका जनताको घरदैलोमा धारा निर्माणका काम भइरहेका छन्। यसका अलवा र शिक्षा, स्वास्थ्य र अन्य विविध क्षेत्रसहित अनेक–अनेक क्षेत्रमा अभूतपूर्व गतिमा विकास निर्माणको काम भइरहेको छ।’
प्रधानमन्त्री ओलीले पछिल्लो एक वर्षमा मुलुकमा सडक, पुल र भवन निर्माण चौतर्फी गतिमा भइरहेको दाबी गरे। उनले भने, ‘केही दिनअघि मात्रै म हुम्ला गएर बेलिब्रिज राखेर हुमलबको सदरमुकाम जोड्ने सडकको उद्घाटन गरेर आएँ। अब मुलुकको ७७ वटै सदरमुकाम सडक सञ्जालले जोडिसकेको छ।’
सरकारले विकास निर्माणसँग सम्बन्धित नीतिकै कारणले पछिल्लो समय विकास निर्माणमा धेरै फड्को मार्न सफल भएको उनले दाबी गरे।
‘म पहिलो पटक प्रधानमन्त्री हुने वित्तिकै हुलाकी राजमार्गलाई तराई–मधेशको दक्षिण हुँदै मेची महाकाली पुग्न योजना अघि सारेको थिएँ। तर,अहिले हुलाकीराजमार्ग लगभग निर्माण सम्पन्न भइसकेको छ,’ उनले भने, ‘हुलाकी राजमार्गअन्तर्गत एक सयभन्दा धेरै राम्रा पुल बनेका छन्। बाटो पनि तयार पारेर यहाँका जनतालाई यातायातको सहज पहुँचको व्यवस्था भइसकेको छ।’
प्रधानमन्त्री ओलीले हुलाकी राजमार्गअन्तर्गत केही माटो परीक्षण र डिजाइनको त्रुटीको कारणले जनताले सास्ती भोग्नुपरेको गुनासो गरे। उनले भने, ‘हुलाकी राजमार्गका केहीकेही पुल माटो परीक्षणको कारणले होस्, वा डिजाइनको त्रुटीको कारणले होस् केही–केही ठाउँमा पुलमा समस्या देखिएको छ। जनकपुर र सिरहाको बीचमा पर्ने बनिसकेको पुल पनि भासिएको छ। यस्ता दुखद कुराहरू केही ठाउँमा आएका छन्। माटोको परीक्षण गर्ने बेला उपयुक्त ढंगले गर्नुपर्ने हुन्थ्यो। सो नहुँदा त्यहाँको पुल भासिन गयो।’