
काठमाडौँ- सत्तारुढ नेकपा एमालेले संघीय निजामती सेवा विधेयकमा आफ्ना सांसदहरूले राखेका संशोधनहरू पार्टीको आधिकारिक निर्णय नभई व्यक्तिगत स्वतन्त्रताको अभ्यास भएको बताएको छ।
निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’ हटाउने संशोधन प्रस्ताव एमाले सांसदहरूले संसद सचिवालयमा दर्ता गराएका छन्। अहिले संसद्मा यसबारे छलफल चलिरहेको छ।
साझेदार दल नेपाली कांग्रेसले यसबारे जिज्ञासा राखेपछि एमालेले स्पष्ट पारेको कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए।
शुक्रबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै घिमिरेले एमाले सांसदहरूले व्यक्तिगत स्वतन्त्रताअनुसार संशोधन दर्ता गरेको बताएका हुन्।
‘एमालेले हामीलाई भनेको छ- सांसदहरू स्वतन्त्र छन्, उनीहरूले आफैँको विचारअनुसार संशोधन प्रस्ताव दर्ता गरेका हुन्,’ घिमिरेले भने, ‘सरकारकै भूमि ऐनमा पनि कांग्रेसका १०-१२ जना सांसदहरूले संशोधन दिएका थिए, त्यसैले यो सामान्य प्रक्रिया हो।’ उनले थपे, ‘सांसदहरू विधेयकमाथि स्वतन्त्र रूपमा संशोधन प्रस्ताव राख्न सक्छन्। यो नयाँ कुरा होइन। छलफल गरेर सहमतिमा पुगिने विषय हो।’
प्रमुख सचेतक घिमिरेका अनुसार विवादित बनेको ‘कुलिङ पिरियड’ सम्बन्धी विषयमा थप छलफल गरेर टुंगो लगाइनेछ।