महिलामैत्री छैन सिरहाको कारागार, अधुरो संरचना र भीडले समस्या

हिमाल प्रेस ९ साउन २०८२ ११:४४
8
SHARES
महिलामैत्री छैन सिरहाको कारागार, अधुरो संरचना र भीडले समस्या

सिरहा- महिला कैदीबन्दीको संवेदनशीलता र सुरक्षालाई ध्यानमा राखी ‘महिलामैत्री’ कारागारको आवश्यकता बारम्बार उठ्दै आएको छ। तर, सिरहास्थित कारागारमा हालसम्म यस्तो कुनै सुविधा उपलब्ध छैन।

कारागार प्रशासक सुवोधकुमार महतोका अनुसार महिला कैदीबन्दीलाई राख्न छुट्टै संरचना छैन। केही हप्ता अघिदेखि महिला कैदीहरूलाई अन्यत्र स्थानान्तरण गरिएको छ। भीडभाड, अपुरो भवन र आवश्यक भौतिक संरचनाको अभावले समस्या थपिएको उनको भनाइ छ।

महिला आवासीय भवन, सुरक्षित शौचालय तथा स्नानगृह, शिशुसहितका महिलाका लागि बाल संरक्षण कक्ष, सुरक्षित भेटघाट कक्ष र गोपनीयता सुनिश्चित गर्ने अन्य सुविधा आवश्यक मानिन्छ। तर सिरहाको कारागारमा यस्ता आधारभूत पूर्वाधारसमेत उपलब्ध छैनन्।

मधेश प्रदेश सरकारको २०८१/८२ को बजेटअन्तर्गत करिब ६० लाख रुपैयाँको लागतमा महिला कैदीका लागि छुट्टै भवन निर्माण थालिएको भए पनि हालसम्म अधुरो छ। कम्पाउन्ड वाल, शौचालय, खानेपानी, सेन्ट्री पोस्ट, भेटघाट कक्ष लगायतका संरचना नहुँदासम्म सो भवन प्रयोग गर्न नसकिने कारागार प्रशासक महतोले बताए।

उक्त भवनमा प्रयोग गरिएको झ्याल सुरक्षाको दृष्टिले अत्यन्त जोखिमपूर्ण रहेको भन्दै उनले चिन्ता व्यक्त गरे। ‘सिसा फुटाएर अवाञ्छित क्रियाकलाप हुन सक्ने सम्भावना छ,’ महतोले भने, ‘म डेढ महिनाअघि मात्र यहाँ प्रमुख भएर आएकोले यसको पूर्वविवरण थाहा छैन।’

सिरहाको मुख्य कारागार २०२८ सालमा निर्माण भएको हो तर आजसम्म स्तरोन्नति भएको छैन। १५० जनाको क्षमता भए पनि हाल यहाँ ४४२ जना कैदीबन्दी राखिएका छन्।

साउन ४ गते कारागारभित्र आन्तरिक प्रशासनको नेतृत्व चयन गर्ने विषयमा कैदीहरूबीच झडप हुँदा १३ जना घाइते भएका थिए। उनीहरूको हाल काठमाडौँमा उपचार भइरहेको छ।

प्रकाशित: ९ साउन २०८२ ११:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast