
थाइल्यान्ड- थाइल्यान्ड र कम्बोडियाली सैनिकबीच सीमा क्षेत्रमा भएको झडपमा कम्तीमा १४ जनाको मृत्यु भएको छ। मारिनेमध्ये अधिकांश सर्वसाधारण छन्। दुवै पक्षले साना हतियार र रकेट प्रहार गरेका छन्। थाइल्यान्डले भने हवाई आक्रमण पनि गरेको छ।
द्वन्द्वका कारण एक लाखभन्दा बढी नागरिक विस्थापित भएका छन्। क्याम्बोडियाको ओडार म्यान्चे प्रान्तमा करिब एक हजार पाँच सय परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ।
थाइल्यान्डको रक्षा मन्त्रालयका प्रवक्ता सुरसन्त कोंगसिरीका अनुसार बिहीबार कम्तीमा ६ स्थानमा लडाइँ भएको थियो। यसअघि सीमा क्षेत्रमा भएको एक बारुदी सुरुङ विस्फोटमा पाँच थाई सैनिक घाइते भएपछि थाइल्यान्डले कम्बोडियाबाट आफ्ना राजदूत फिर्ता बोलाएको थियो भने कम्बोडियाली दूतलाई निष्कासित गरेको थियो।
कम्बोडियाको ओडार म्यान्चे प्रान्तका प्रमुख अधिकारी जेनरल खोव लीले शुक्रबार बिहानै प्राचीन टा मुएन थोम मन्दिर नजिक पुनः झडप भएको बताएका छन्। सीमा नजिकै रहेका एसोसिएटेड प्रेसका पत्रकारहरूले बिहानैदेखि तोपगोलाको आवाज सुनेका थिए।
झडपमा कम्तीमा चारजना सर्वसाधारण घाइते भएको जनाइएको छ। साथै चार हजारभन्दा बढी मानिस सीमा नजिकका गाउँबाट विस्थापित भई सुरक्षास्थलमा पुगेका छन्। कम्बोडियाली पक्षबाट पहिलोपटक हताहतीको औपचारिक विवरण आएको हो।
कम्बोडिया र थाइल्यान्डबीचको तनाव दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) का सदस्य देशहरूबीच दुर्लभ रूपमा देखिने सैनिक संघर्षको उदाहरण हो। यद्यपि थाइल्यान्डले यसअघि पनि कम्बोडियासँग सीमामा विवादमा झडपको सामना गर्दै आएको छ। साथै पश्चिमी छिमेकी म्यानमारसँग पनि बेलाबेलामा सशस्त्र झडप भएको विगत छ।
संयुक्त राष्ट्रसंघका उपप्रवक्ता फरहान हकका अनुसार महासचिव एन्टोनियो गुटेरेसले दुवै पक्षलाई ‘अधिकतम संयम अपनाउन र सबै समस्या संवादमार्फत समाधान गर्न’ आग्रह गरेका छन्।
एकअर्कामाथि दोषारोपण
थाइल्यान्ड र कम्बोडियाले एकअर्कालाई झडपको दोष दिएका छन्। दुवै पक्षले सर्वसाधारणलाई लक्षित गरिएको आरोप लगाएका छन्।
थाई स्वास्थ्य मन्त्रालयले घटनामा एक जना थाई सैनिक र १३ जना सर्वसाधारण मारिएको जनाएको छ। मारिनेमा केही बालबालिका पनि छन्। त्यसैगरी १४ जना सैनिक र ३२ जना अन्य सर्वसाधारण घाइते भएको बताइएको छ।
सार्वजनिक स्वास्थ्यमन्त्री सोमसाक थेपसुथिनले सर्वसाधारण र अस्पतालमाथि आक्रमण भएको दाबी गरेका छन्। उनले यसलाई अन्तर्राष्ट्रिय मानवीय कानुन र जेनेभा सन्धिको उल्लंघन भएको भनेर निन्दा गरेका छन्।
‘हामी कम्बोडियाली सरकारलाई यस्ता युद्ध अपराधजस्तो क्रियाकलाप तत्काल रोक्न र शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्तहरूको सम्मानमा फर्कन आग्रह गर्दछौँ,’ मन्त्री सोमसाकले भने।
थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचयाचाईले झडपले चार प्रान्तलाई असर पारेको बताए। उनले गृह मन्त्रालयलाई सीमा क्षेत्रबाट कम्तीमा ५० किलोमिटर (३० माइल) भित्र रहेका जनतालाई सुरक्षित स्थानमा सार्न आदेश दिएको जानकारी दिए।
कम्बोडियामा सयौँ सर्वसाधारण सीमा नजिकका बस्ती छाडेर ओडार म्यान्चे प्रान्तको झण्डै ३० किलोमिटरभित्रतिर सरेका छन्। उनीहरूले परिवारसहित आफ्ना अधिकांश सामानहरू काठको ट्रयाक्टरमा राखेर यात्रा गरेका थिए। यति बेला विस्थापितहरू अस्थायी टेन्ट बनाएर बसेका छन्।
साम्रोङ सहर नजिकको शिविरकी ४५ वर्षीया चार सन्तानकी आमा तेप सावउएनले सबै घटना बिहान करिब ८ बजे सुरु भएको बताइन्।
‘अचानक ठूलो आवाज आयो,’ उनले एपीसँग भनिन्, ‘मेरो छोराले मेघ गर्जन हुन सक्छ भनेपछि म सोच्न थालेँ– के यो मेघगर्जन हो त? कि बन्दुकको आवाजजस्तै ठूलो? त्यसबेला म धेरै डराएकी थिएँ।’
थाई परराष्ट्र मन्त्रालयका प्रवक्ता निकोर्नदेझ बलन्कुराले भने, ‘कम्बोडियाले आफ्नो सशस्त्र आक्रामण र थाइल्यान्डको सार्वभौमिकतामाथि उल्लंघन जारी राखेमा हामी आत्मरक्षाका उपायहरू अझ कडा पार्न तयार छौँ।’
कम्बोडियाको रक्षा मन्त्रालयका प्रवक्ता लेफ्टिनेन्ट जनरल माली सोचेताले भने, ‘थाई धम्कीहरू विरुद्ध आफ्नो भूमि जोगाउन हामीसँग सशस्त्र बल प्रयोगबाहेक अरू विकल्प थिएन।’ उनले कम्बोडियाली आक्रमण सैन्य स्थानहरूमा मात्रै लक्षित रहेको दाबी गरे।
कम्बोडियाली प्रधानमन्त्री हुन मानेटले थाई आक्रमण रोक्न संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्लाई तत्काल बैठक राख्न अनुरोध गर्दै पत्र लेखेका छन्। परिषद्ले शुक्रबार न्युयोर्कको समयअनुसार दिउँसो ३ बजे आपतकालीन बैठकको समय निर्धारण गरेको छ।
थाइल्यान्डले सबै स्थल सीमाबाट हुने आवागमन बन्द गरेको छ। आफ्ना नागरिकलाई कम्बोडिया छोड्न आग्रह गरेको छ। अधिकारीहरूले जनाएअनुसार थाइल्यान्काड सातवटै वायुसेवा कम्पनीहरूले कम्बोडियाबाट फर्किन चाहने थाई नागरिकलाई फर्काउन सहयोग गर्न इच्छा व्यक्त गरेका छन्।
पुरानै सीमा समस्या
यी दुई दक्षिणपूर्वी एसियाली छिमेकीहरूबीच धेरै अघिदेखि सीमा विवाद चल्दै आएको छ। विवाद आठ सय किलोमिटर लामो सीमाक्षेत्रभरि चर्किने गर्छ। यस्ता विवाद प्रायः छोटो अवधिका झडपमा सीमित हुने गर्छन्। हतियार भने कहिलेकाहीँ मात्र प्रयोग हुँदै आएका छन्। पछिल्लोपटक सन् २०११ मा भएको युद्धमा २० जनाको ज्यान गएको थियो।
गत मे महिनामा भएको एक झडपमा एक कम्बोडियाली सैनिकको मृत्यु भएपछि सम्बन्ध फेरि चिसिएको हो। बिहीबारको झडप अस्वाभाविक रूपमा तीव्र र व्यापक थिए।
बिहीबार बिहानको पहिलो झडप थाइल्या्डको सुरिन प्रान्त र कम्बोडियाको ओडार म्यान्चे प्रान्तको सीमा नजिकको टा मुएन थोम मन्दिर क्षेत्रमा भएको थियो। झडपपछि गाउँलेहरू भागाभाग गर्दै बंकरहरूमा शरण लिन पुगेका थिए।
थाई सेना र कम्बोडियाली रक्षा मन्त्रालयले एकअर्कालाई ड्रोन प्रयोग गरी आक्रमण सुरु गरेको आरोप लगाएका छन्। त्यसपछि दुवै पक्षले हतियार प्रयोग गरेका थिए। जसले क्षति बढाएको थियो। थाइल्यान्डले कम्बोडियाले ट्रकबाट प्रक्षेपण गरिएका रकेटको जवाफमा हवाई आक्रमण गरेको दाबी गरेको छ।
थाइल्यान्डको हवाई सेनाले कम्बोडियामाथि दुईवटा आक्रमणमा एफ-१६ फाइटर जेट परिचालन गरेको जनाएको छ। थाइल्यान्डका प्रवक्ता निकोर्नदेझले यसलाई ‘आत्मरक्षाको कार्य’ भनेर वर्णन गरेका छन्।
कम्बोडियाको रक्षा मन्त्रालयले थाई जेटहरूले प्राचीन प्रेया विहियर मन्दिर नजिकको सडकमा बम आक्रमण गरेको जनाएको छ। जुन ठाउँ दुई देशबीच विगतमा संघर्षको स्थल रहँदै आएको छ।
कम्बोडियाली अधिकारीहरूले त्यहाँ भएको क्षतिको प्रमाण देखाउने तस्बिरहरू सार्वजनिक गरेका छन्। सांस्कृतिक मन्त्रालयले उक्त मन्दिर युनेस्कोले विश्व सम्पदा सूचीमा रहरेकाले अन्तर्राष्ट्रिय कानुनअन्तर्गत न्यायका लागि पहल गर्ने जनाएको छ।
झडप सुरु हुनुअघि नै दुवै देशका सम्बन्धमा तिक्तता बढेको थियो। फलस्वरूप बुधबार थाइल्यान्डले कम्बोडियामा रहेको आफ्नो राजदूत फिर्ता बोलाएर कम्बोडियाली राजदूतलाई निष्कासित गरेको थियो। एपीको सहयोगमा
एउटा मन्दिरका कारण थाइल्यान्ड र कम्बोडियाबीच कसरी सुरू भयो सैन्य संघर्ष?